पर्यटकीय शहर पोखरा ‘स्पोर्टस हब’ बन्दै

कास्की । गत मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)का आठ खेल पोखरामा सञ्चालन भए । बिच भलिबल र भारत्तोलन बाहेकका अन्य सबै खेल यहाँको रङ्गशालामा खेलाइयो । पहिलोपटक अन्तरराष्ट्रिय प्रतियोगिताको आतिथ्यताको अवसर पाएको थियो । साग भव्य रुपमा सफल भयो । साग सकिएको चार दिनपछि रङ्गशाला भित्रको क्रिकेट मैदानमा पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट शुरु भयो । दुई हप्तासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीले आफ्नो रोमाञ्चक खेल कौशल प्रस्तुत गरे । पीपीएलपछि गत माघ ६ देखि ९ गतेसम्म नेपाल र मलेसियाबीच यहाँ एक दिवसीय तीनवटा मैत्रीपूर्ण क्रिकेट खेल सञ्चालन भए । सोही महिनाको ११ र १२ गते मार्सल आर्टस् हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनार रङ्गशालामै सम्पन्न भयो । स्वदेश तथा विदेशबाट गरी ६०० जना खेलाडी सेमिनारमा सहभागी बने । माघ २७ गतेदेखि नै रङ्गशालामा अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आईटीएफ) को जुनियर यू–१८ टेनिसमा विभिन्न ११ देशका खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरे ।यही फागुन ३ गते रङ्गशालाबाट शुरु भएको अन्तर्राष्ट्रिय म्याराथन पुनः रङ्गशालामा नै आएर समापन गरियो । माथि उल्लिखित प्रतियोगिता तीन महिनाको अवधिमा रङ्गशालामा सञ्चालन भएका अन्तरराष्ट्रियस्तरका खेल गतिविधि हुन् । यी बाहेक रङ्गशाला बाहिरसमेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि निरन्तर सञ्चालन हुने गर्दछन् । पोखरासँगैका अन्य पालिकाहरुमा समेत विगत एक/दुई वर्ष यता आएर खेल क्रियाकलाप बढेका छन् । रङ्गशालाभित्र महत्वपूर्ण खेलका पूर्वाधार निर्माणसँगै खेल गतिविधिले समेत तीव्रता पाएको हो । यही फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ वल्र्ड कप छनोट खेलसमेत यहाँ नै आयोजना भयो । विभिन्न २० राष्ट्रका ९० जना खेलाडीले वल्र्ड कप छनोटमा प्रतिस्पर्धा गरे । बिहीबारदेखि मोफसलको प्रतिष्ठित राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तर क्लब आहा रारा गोल्डकप शुरु भएको छ । वर्षभरि नै रङ्गशालामा एउटा न एउटा खेल गतिविधि प्रायः सञ्चालन हुने गर्दछ । विभिन्न खेल सङ्घ, क्लब तथा शैक्षिक सङ्घसंस्थाका खेलकूद क्रियाकलापले यहाँ ‘स्पोर्टस हब’ बन्दै गएको खेलकर्मीहरु बताउँछन् । फुटबल, कराते, हक्की, टेनिस तथा भबिलका प्रदेश तथा जिल्लास्तरीय प्रतियोगिता तथा विभिन्न उमेर समूहका प्रतियोगिता वर्षभरि नै जसो सञ्चालन हुँदा खेलकुदको माहोल ह्वात्तै बढेको छ । गतमाघ ७ देखि यहाँकै भण्डारढीकमा प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल भएबाट प्रदेश सरकारले समेत खेल प्रतियोगिताका लागि लगानी गर्न शुरु गरेको छ । बढ्दो खेल गतिविधिले पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस हब’का रुपमा परिचित गराएको छ भने यहाँ सञ्चालन हुने प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीहरु यहाँको सुन्दरतामा खेल्न पाउँदा असाध्यै खुशी हुने गरेका छन् । यहाँको प्राकृतिक सुन्दरताले समेत खेल पर्यटनलाई वृद्धि गरेको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिले पोखरालाई विश्व खेलकुदको रङ्गमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको छ । रङ्गशालाभित्र नै अधिकांश खेलको पूर्वाधार छन् भने केही निर्माणको प्रक्रियामा छन् । फुटबलको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको अन्तिम चरणमा छ । रु चार करोड लगानीमा ब्याडमिन्टन हल निर्माण गरिएको छ । बहुउद्देस्यीय कभर्ड हल, बास्केटबल, भलिबल तथा टेनिस कोर्ट, ह्याडबल एकेडेमी तथा आर्चरीका पूर्वाधार एकै थलोभित्र रहेकाले समेत रङ्गशालामा प्रत्येक दिन जसो खेल गतिविधि सञ्चालन हुने गर्दछ । आवश्यक पूर्वाधार भएका कारणले खेल गतिविधिसमेत बढेको र खेलाडीले राम्रोसँग अभ्यास गर्ने मौका पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङ बताउँछन् । सरकारी तथा निजी क्षेत्रको समेत ध्यान खेलकुद विकासमा केन्द्रित भएकाले पूर्वाधारसँगसँगै प्रतियोगिता बढेकाले पोखरालाई खेलकुद शहरका रुपमा चिनाउने काम गरेको उनले बताए । निर्माणाधीन फुटबल रङ्गशाला यहाँको गौरव रहेकाले यसबाट आगामी दिनमा धेरै प्रतियोगिताको ढोका खुल्ने उनको भनाइ छ । सदस्य गुरुङले निर्माणाधीन पूर्वाधारको संरक्षणमा पोखरेलीले विशेष ध्यान दिनुपर्ने बताउँछन् । उनले भने, “यहाँ रङ्गशालामा जस्तो एकै थलोमा अधिकांश खेल पूर्वाधार अन्यत्र कहीँ पनि छैनन्, यो हाम्रो लागि ठूलो सौभाग्य हो । यसको दीर्घकालीन संरक्षण गर्नु पोखरेलीको दायित्व हो ।” पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले मुख्य खेल पूर्वाधार रङ्गशालाभित्र निर्माण भएको बताउँदै यसै वर्षभित्र पौडीपोखरी र सुटिङको पूर्वाधार निर्माण थालनी हुने जानकारी दिए । खेलकुद विकासका लागि पहिलो प्राथमिकता पूर्वाधार रहेकाले आवश्यक पूर्वाधार बनेपछि खेल क्षेत्रले विकासको फड्को मार्ने उनको भनाइ छ । रङ्गशालाभित्र क्रिकेट मैदान पूर्वाधार निर्माणका लागि चालू वर्षमा सङ्घ सरकारले रु तीन करोड तथा प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरे पनि हालसम्म काम अघि बढ्न नसकेकामा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषिराम गौतमले चिन्ता व्यक्त गरे । क्रिकेटका अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना हुन थाले पनि अहिलेसम्म आधारभूत पूर्वाधारसमेत नबन्नु दुःखद् भएकाले सरोकार भएकाहरुले ढिलाइ गर्न नहुने उनी बताउँछन् । आवश्यक पूर्वाधार निर्माण भएको खण्डमा हाल पछाडि परेको क्रिकेट खेलले समेत यस क्षेत्रमा विकासको गति लिनेमा पोखरेलीले विश्वास लिएका छन् । रासस

भोजपुरको विद्यालयलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले भोजपुर जिल्लाको श्री बिद्योदय माध्यमिक विद्यालयलाई भौतिक सामग्रीहरु सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई उक्त सहयोग गरेको हो । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग हस्तान्तरण गरियो । विद्यार्थी दिवा खाजाको तयारीका लागि आवश्यक पर्ने भाँडाकुडा तथा अन्य सामग्रीहरु उपलब्ध गराएको छ । विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेको छ । विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयले आफूलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन विभिन्न कामहरु गर्दै आएको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

गाैशाला बनाउन गरिएकाे महायज्ञमा डेढ करोडको दान सङ्कलन

रामपुर । यहाँ सञ्चालन भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा करिब रु डेढ करोड बराबरको दान सङ्कलन भएको छ । गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ सञ्चालन भएको महायज्ञमा नगद तथा भूमिदान गरी रु एक करोड ४७ लाख ४७ हजार ८२९ बराबर दान सङ्कलन भएको मूल आयोजक समितिले जनाएको छ । यही फागुन १२ देखि २० गतेसम्म सञ्चालन भएको महायज्ञको अन्तिम दिन मात्रै रु ३१ लाख ९१ हजार ८२७ दान सङ्कलन भएको श्रीमद्भागवत महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताए । उनले यज्ञ सफल बनाउनका लागि निरन्तर खट्ने व्यक्तित्वलाई धन्यवाद दिएका छन् । गाई संरक्षण तथा धर्मशाला निर्माण सहयोगार्थका सम्पन्न सो महायज्ञ यहाँ हुने अन्य महायज्ञभन्दा फरक शैलीमा भएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिए । यज्ञमा धार्मिक अध्येता युवा पण्डित नारायणप्रसाद न्यौपाने कथावाचन गरेका थिए । गौशाला निर्माण गरी गाईको व्यवस्थापन गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । वडा नं ६ को कार्यालय परिसरमा गत साउनबाट यता अस्थायी टहरा बनाएर व्यवस्थापन गरिएको थियो । गौशालाको संरचना तयार भएपछि फागुनको पहिलो हप्तादेखि गौशाला परिसरमा गाईहरू बाँध्न थालिएको छ ।