८३ वन क्षेत्र डढेलाेकाे उच्च जोखिममाः शुरु भयाे शून्य डढेलो अभियान
लमही । डिभिजन वन कार्यालय दाङले डढेलोलाई शून्यमा झार्न ‘शून्य वन डढेलो अभियान’ शुरुआत गरेको छ । गर्मीयाम शुरुभएसँगै प्रमुख समस्याका रुपमा देखिने डढेलोलाई न्युन गर्न कार्यालयले सो अभियान सञ्चालन गरेको जनाएको छ । अभियानको शुरुआती चरणमा कार्यालयअन्तर्गतका कमिरेचौर, सुनपुर, घोराही, नाराणपुर, बिजौरी, तुलसीपुर, बिजौरी, दङ्गीशरण, पुरन्धारा र हापुर पुरन्धारामा वन डढेलो जोखिम पहिचान तथा नक्साङ्कन कार्यक्रम सम्पन्न भएका छन् । ती कार्यक्रममा वन कर्मचारी, सामुदायिक वन समूह र सञ्जालका प्रमुख र लामो समयदेखि वन संरक्षणमा काम गर्दै वन हेरालुको सहभागिता रहेको थियो । ८३ वन समूह डढेलोको उच्च जोखिममा रहेका जनाइएको छ । जोखिमलाई उच्च, मध्यम र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । उच्च जोखिममा ८३ , मध्यम ४६ र ४४ वटा सामान्य रहेका डिभिजन वन कार्यालयका कार्यालय प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । उनका अनुसार ती वन समूहमध्ये ९२ वन समूह वन डढेलो नियन्त्रणका लागि सक्रिय रहेका छन् । ८१ वन समूह निष्कृय देखिएको अध्ययनले देखाएको छ । बबई गाउँपालिका र घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका अधिकांश सामुदायिक वन र केही राष्ट्रिय वनको क्षेत्र बन डढेलोको उच्च जोखिममा रहेको कार्यालयले जनाएको छ । बङ्गलाचुली र दङ्गीशरणका गाउँपालिकाअन्तर्गतका वन क्षेत्र मध्यम जोखिम, तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको नारायणपुर र हापुर क्षेत्र वन डढेलोको न्यून जोखिममा रहेका छन । लुकिछिपी धूमपान गरी फाल्नु यहाँ डढेलोको प्रमुख कारक रहेको जनाइएको छ । गलत सोचले समेत डढेलो लगाउने गरेको अध्ययनले देखाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । अभियानलाई सफल बनाउन दीर्घकालीन र अल्पकालीन रणनीति तयार गरेको कार्यालयले जनाएको छ । रासस
प्रिमियर लिगमा कोरोनाको प्रभावः आर्सनल-सिटीबीचको खेल स्थगित
लन्डन । इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल कोरोनाभाइरसका कारण स्थगित भएको छ । आर्सनलका खेलाडीहरु पूर्व सावधानीका लागि स्वेच्छाले ‘आइसोलेसन’ मा बसेकाले खेल स्थगित गरिएको हो । कोरोनाभाइरसकै कारण इङ्ल्यान्डको यस प्रतिष्ठित लिगको खेल स्थगित गरिएको यो पहिलो घटना हो । इटालीको सिरि ए फुटबल प्रतियोगिता रंगशालामा बिनादर्शक खेलाइए पनि इङ्लिस प्रिमियर लिगमा यस्तो प्रतिबन्ध लगाइएको छैन । तर खेलाडीहरु आफूखुशी आइसोलेसनमा बसेको यो पहिलो घटना हो । आर्सनलका खेलाडीहरु विपक्षी टिम ओलम्पियाकोसका प्रमुख इभान्जेलोस मारिनाकिससँगको भेटपछि संशकित बनेका हुन् । इभान्जेलोसले आर्सनलका खेलाडीसँगको भेटपछि आफूलाई कोरोनाभाइरस संक्रमण भएको घोषणा गरेका थिए । गत फेब्रुअरी २७ मा आर्सनलसँगको युरोपा लिग खेलमा ओलम्पियाकोस विजयी भएपछि इभान्जेलोसले आर्सनलका खेलाडीसँग भेटेका थिए । आर्सनल व्यवस्थापनव्दारा जारी विज्ञप्तिमा कोरोना संक्रमित व्यक्तिसँग भेघघाट भएका कुनै पनि व्यक्तिले कम्तीमा १४ दिन आफूलाई अरु व्यक्तिसँगको सम्पर्कबाट अलग्याउनु (आइसोलेसन) मा राख्नु पर्दछ भन्ने सरकारको निर्देशिकालाई पालना गर्नु पर्ने उल्लेख छ । ‘त्यसर्थ म्यान्चेस्टरसँगको बुधबार रातिको खेलमा हाम्रा खेलाडी उपलब्ध हुने छैनन् । प्रिमियर लिगले पनि खेल स्थगित गर्ने निर्णय गरेको छ । खेलाडीहरु पूरै १४ दिन घरमै रहने छन् । खेल अवधिमा मैदानमा मारिनाकिससँग सँगै रहेका आर्सनलका चार जना कर्मचारी पनि घरमै रहने छन् ।’ आर्सनलले कति जना खेलाडी प्रभावित छन् भन्ने बताएको छैन तर आगामी शनिबारको खेलमा सहभागी हुने सम्भावना रहेको संकेत गरेको छ । आर्सनलको विज्ञप्तिमा भनिएको छ, ‘हामी अर्को शुक्रबारसम्म पर्खिनेछौं, र त्यसपछि ब्राइटनसँगको खेलको तयारी गर्नेछौं । त्यतिञ्जेल १४ दिनको अवधि पूरा भइसकेको हुनेछ ।’ प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा लिगका कुनै पनि अरु खेल स्थगित गर्ने हालसम्म सोचाई नरहेको उल्लेख छ । ओलम्पियाकोससँगको खेलपछि आर्सनलले पोट्र्समाउथसँग एफए कप र प्रिमियर लिगमा वेस्ट ह्यामसँग खेल खेलेको छ । अर्को प्रिमियर लिगको क्लब उल्भरह्याम्प्टनले बिहीबार राति एथेन्समा खाली रंगशालामा युरोपा लिग अन्तर्गत ओलम्पियाकोससँग खेल्दैछ । उल्भरले युरोपा लिगका खेल रद्द गर्न अनुरोध गरेको छ, तर युरोपेली फुटबल संघले उल्भरको मागलाई अस्वीकार गरेको छ । रासस/एपी
स्पर्स लघुवित्तले ३५ जना किसानलाई दियो कृषि तथा पशुपालन सम्बन्धी तालिम
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय भुताहा नवलपरासीले ग्राहक सदस्यहरुका लागी कृषि तथा पशुपालन सम्बन्धी तालिम दिएको छ । संस्थाले फागुन २८ गते नवलपरासीको भुताहामा उक्त तालिम दिएको हो । तालिमको उद्घाटन प्रमुख अथिति केन्द्रीय कार्यालय अनुगमन विभागका अनुगमन अधिकृत अरबिन्द मल्लले गरेका हुन् । व्यावसायीक रुपमा कृषि तथा पशुपालन गरीरहेका किसान र कृषि तथा पशुपालन गरी व्यावसाय विस्तार गर्न उत्सुक ३५ जना किसान महिला सदस्यहरुका लागी तालिम दिइएको थियो । तालिमको स्रोत व्यक्ति पशुविज्ञ हेमन्त कुमार चौधरीले पशुपालन सम्बन्धी र कृषिविज्ञ सुरेन्द्र कुमार सिंहले कृषि सम्बन्धी तालिम दिएका थिए । स्रोत व्यक्तिहरुले कृषि तथा पशुपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु समस्या आएमा त्यसलाई समाधान कसरी गर्ने उपायहरुको बारेमा जानकारी गराइएको थियो । माया कुमारी चौधरीले व्यावसायीक तरकारी खेती गरी सफलता तथा आत्मनिभर भएको जानकारी गराएकी छन् । कार्यक्रममा प्रमुख अथिती मल्लले संस्थाले ग्राहक सदस्यलाई यस्ता किसिमको तालीम नियमित रुपमा दिँदै गएको र भविष्यमा पनि यस्ता सीपमूलक तालिमहरु नियमित रुपमा दिँदै जाने बताए । साथै, तालिममा सहभागीहरुलाई प्रमाणप्रत्र पनि वितरण गरिएको थियो ।