भरतपुरका किसन मगरले दाजुबाट पाए दोस्रोपटक नयाँ जीवन
चितवन । चितवनका एक युवकको हकमा दाजु पनि आमाको रुपमा उदाएका छन् । पहिलोपटक आमाबाट जीवन पाएका किसन मगरले दोस्रोपटक दाजुबाट नयाँ जीवन पाए । दुवै मिर्गौला फेल भएर भौंतारिइरहेका क्षेत्रपुरका किसनलाई उनका दाजु चन्द्रबहादुर रिंजालीले मिर्गौला दिएका हुन् । चार वर्षअघि किसनको मिर्गौलामा समस्या पत्ता लागेको थियो । बिग्रेको मिर्गौला जोगाउन गरिएका प्रयासहरु असफल भएपछि उनी जीवन र मरणको दोसाँधमा पुगिसकेका थिए । यही बेला दाजु चन्द्रबहादुर भाइलाई मृत्युको मुखबाट फिर्ता ल्याउन अग्रसर भए । भाग्यले पनि साथ दिएकै मान्नुपर्छ- चन्द्रबहादुरको मिर्गौला किसनलाई ‘फिट’ भयो । प्रचलित कानुन अनुसार नातागोता बाहेकका मान्छेले चाहेर पनि मिर्गौला दान गर्न नपाउने अवस्थामा दाजुको मिर्गौला ‘फिट’ भएपछि किसनमा बाँच्ने आस पलायो । तर राजधानीको अस्पतालमा तोकिएको मितिमा प्रत्यारोपण हुन नसकेपछि उनी फेरि निराश भए । ‘त्यसपछि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएँ । त्यहाँ पनि तीन महिना त्यत्तिकै बित्यो,’ किसन भन्छन्, ‘स्वदेशमा केही सीप नलाग्ने देखेपछि भारतको एम्स अस्पतालमा प्रत्यारोपण गर्ने तयारी सुरु भयो ।’ भारत जानुअघि डायलासिस गर्ने सिलसिलामा चितवनको पुरानो मेडिकल कलेज पुगेका किसनले त्यहीँ मिर्गौला प्रत्यारोपण हुने कुरा थाहा पाएको उनले सुनाए । पुरानो मेडिकल कलेजका चिकित्सक र विशेषज्ञसँगको परामर्शपछि त्यहीँ नै प्रत्यारोपण गराएको उनको भनाइ छ । ‘सबैभन्दा पहिला पुरानो मेडिकल कलेजका डा. प्रविण जोशीलाई भेटेँ । उहाँको सल्लाहमा प्रत्यारोपण विशेषज्ञ डा. राकेश बर्माको बायोग्राफी हेरेपछि उहाँबाटै प्रत्यारोपण गराउने निष्कर्षमा पुग्यौं,’ किसनले सुनाए । दाजुको मिर्गौला सफल प्रत्यारोपणपछि किसनलाई अंगदान गर्ने मान्छे परिवारमा भए मिर्गौला प्रत्यारोपण ठूलो होइन रहेछ भन्ने लागेको छ । ‘पहिले त बाँच्ने आसै मारिसकेको थिएँ, अहिले भने दिने मान्छे घरमा छ भने मिर्गौला प्रत्यारोपण ठूलो समस्या होइन रहेछ भन्ने लाग्यो,’ उनले भने । उक्त मेडिकल कलेजका प्राध्यापक डा. राकेश बर्माको नेतृत्वमा १० जनाको टोलीले किसनको मिर्गौला प्रत्यारोपण गरेको थियो । प्रत्यारोपणपछि त्यहाँका डाक्टर र नर्सको राम्रो हेरचाहका कारण आफू चाँडै ठीक भएको किसनले सुनाए । ‘करिब १५ दिन अस्पताल बस्दा डाक्टर र नर्सले निकै राम्रोसँग उपचार गर्नुभयो, छिनछिनमा सोध्ने गर्नुभयो,’ उनले भने । भाइलाई मिर्गौला दान गरेका चन्द्रबहादुर अहिले आफू र भाइ दुवैजना तन्दुरुस्त रहेको बताउँछन् । ‘अहिले म पनि राम्रो छु, र भाइ पनि राम्रो छ, चन्द्रबहादुरले भने । कलेजका प्राध्यापक डा बर्मा मिर्गौला प्रत्यारोपणमा ठूलो टिम सहभागी हुने बताउँछन् । किसनको प्रत्यारोपणमा पनि १० जना भन्दा बढीको टिम सहभागी थियो । उक्त अस्पतालले हालसम्म चारवटा सफल मिर्गौला प्रत्यारोपण गरेको प्रा.डा. बर्माले जानकारी दिए । अंग प्रत्यारोपणमा ४० वर्षका अनुभवती प्रा.डा. बर्माले राजधानीको वीर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरी ६५० भन्दा बढी प्रत्यारोपण गरेका गरिसकेका छन् । प्रविधि र मानवीय स्रोतका हिसाबले मिर्गौला प्रत्यारोपणमा नेपाल विदेशभन्दा कम नभएको प्रा.डा. बर्माको दाबी छ । सेवाग्राहीले विश्वास गरे पुग्छ,’ हामी सक्षम छौं । वरिष्ठ अगं प्रत्यारोपण विशेषज्ञ प्रा.डा. राकेश वर्मा, प्रत्यारोपण फिजिशियन डा. माधव घिमिरे, प्रत्यारोपण एनेस्थेसियोलोजिष्ट डा. किरण अधिकारी, वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. राजेश कुमार यादव, वरिष्ठ युरोलोजिष्ट डा. सुदिप राज के.सी.,डा. प्रबिण जोशी, प्रत्यारोपण फिजिशियन डा. सन्तोष गुरुङ्ग, डा. सृजु वैद्य, डा. अनुराग सिंह लगायत चिकित्सकहरुको प्रत्यारोपणमा संलग्नता रहेको थियो । नेपालमा मृगौला कसरी बचाउन सकिन्छ भन्ने सचेतना न्युन रहेको र दिनदिनै मृगौला रोगीको संख्या बढिरहेको अवस्थामा यसको भरपर्दो उपचार प्रत्यारोपण नै हो, डाइलासिस होइन । तर नेपालमा वर्षेनी डायलाइसिस गराउनेको संख्या बढ्दो छ । काठमाडौं बाहिर यस अस्पतालमा सफल मृगौला प्रत्यारोपण भएको छ र यो चौथो पटक हो । त्यसैले, अब धेरै खर्च गरेर विदेश तथा काठमाडौं जानुपर्ने बाध्यता छैन मात्र सेवाग्राहीहरुले बुझ्नु र विश्वास गर्नु जरुरी छ, वरिष्ठ प्रत्यारोपण फिजिशियन डा. माधव घिमिरेले बताए ।
नेबिको बिष्कुटद्वारा अपाङ्ग सेवा संघमा आश्रित बालबालिकालाई सहयाेग
काठमाडाैं । नेबिको बिस्कुटले ललितपुरको बुङमतीस्थित अपाङ्ग सेवा संघका आश्रित बालबालिकाका लागि बिस्कुटहरु सहयोग स्वरुप प्रदान गरेको छ । कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले सोमबार अपाङ्ग सेवा संघका अध्यक्ष दयाराम महर्जनको उपस्थितिमा अपाङ्ग बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । नेबिकोले यसअघि पनि अपाङ्ग सेवा संघलगायत अन्य सामाजिक संस्थाहरुलाई बिस्कुट सहयोग गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग गर्दै आएको ब्राण्ड म्यानेजर पौडेलले बताए । आगामी दिनमा यस्तो सहयोग गर्दे जाने बताए । संस्थाले अपाङ्ग बालबालिकालाई पढाउने तथा अन्य रचनात्मक क्रियाकलापमा लगाउँदै आएको छ ।
सिप्यान क्रिकेट अवार्ड स्थगित
काठमाडाैं । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले यही चैतमा प्रदान गरिने भनिएको ‘सिप्यान क्रिकेट अवार्ड’ तत्कालको लागि स्थगन गरिएको छ । कोरोना भाइरसका कारण तत्कालको लागि अवार्ड कार्यक्रम स्थगन गरिएको सिप्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली क्रिकेट खेलाडीको प्रदर्शन र खेल कौशललाई मूल्याङ्कन गरी पुरस्कृत गर्दै लैजाने लक्ष्य लिएको उक्त अवार्ड यही चैत २१ गते वितरण गर्ने तय भएको थियो । विभिन्न पाँच विधामा प्रदान गरिने अवार्डमा वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान, उत्कृष्ट क्षण र लाइफटाइम्स अचिभमेन्ट अवार्ड प्रदान गर्ने तयारी थियो । वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले जनही रु एक लाख ३२ हजार प्राप्त गर्नेछन् भने अन्य विधाको खेलाडीले रु ६६ हजार प्रदान गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले जानकारी दिए । उनले अनुकूल परिस्थिति सिर्जना हुने वित्तिकै अवार्डको नयाँ मिति सार्वजनिक गर्ने बताएका छन् । रासस