देशैभर लामो दूरीका सवारीसाधन बन्द, काठमाडौंका सडक हुन थाले खाली

काठमाडौं । लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएसगैँ काठमाडौंका सडक खाली हुन थालेका छन् । सरकारले सोबारदेखि देशैभर लामो दूरीको सवारीसाधान सञ्चालनमा रोक लगाए पछि काठमाडौंका सडक खाली हुन थालेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट बच्न सरकारले आजदेखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । कोरोना भाइरसको त्रास बढेसँगै सरकारले सावधानी अपनाउन सवारीसाधन बन्द गर्ने निर्णय लिएको थियो । कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले चैत १० देखि २१ गते सम्मकालागि लामो रूटका सार्वजनिक सवारीसाधन संचालन बन्द गर्ने घोषणा गरेको थियो । ७ चैत (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै आजदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनमा रोक लगाएको घोषणा गरेका थिए । केहिदिनयता गाडी नचल्ने भएपछि उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चैत ७ गते काठमाडौं उपत्याकाको विभिन्न नाका हुँदै १ लाख ३० हजार ८ सय २२ जना र चैत ८ गते २ लाख ६ हजार ३ सय ३९ जना यात्रु बाहिरिएका छन् । ९ चैतदेखि संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू देशैभर २१ चैतसम्मका लागि बन्द गरिसकिएको थियो । शिक्षण संस्थाहरू यसअघि नै बन्द भइसकेका छन् भने परीक्षा पनि स्थगित गरिसकिएको छ । सरकारी प्रावधान अनुसार लामो दूरी भन्नाले २५० किलोमिटरभन्दा टाढालाई मानिन्छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अहिलेको अवस्थामा रोगबाट जोगिन सबैले स्वास्थ्य सतर्कता अपनाउनका लागि लामो दूरीका सवारीसाधन बन्द गरिएको बताए ।

बाहुबली सिमेण्टले वितरण गर्याे स्यानीटाइजर र मास्क

काठमाडौं। बाहुबली सिमेण्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि. ले कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुनबाट जोगिन स्यानीटाइजर र मास्क वितरण गरेकाे छ । विश्वभर नाक मुख मास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेस्ट प्यारेन्टरल्स् प्रा.ली.को सहकार्यमा उक्त अभियान शुरू गरेकाे हाे । कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयुक्त भएको अध्ययनहरुले देखाएका छन् । हाल नेपालमा पनि यो भाइरसको रोकथामको प्रयास भैरहेका छन्, जसको लागि नेपाल सरकार तथा नागरिकहरु एवं जिम्मेवार निकायहरुले भरमग्दूर प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिनआम नागरिकहरुलाई हातधुन स्यानीटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यका भित्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् । ‘हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँका नागरिकहरुलाई सीमित संख्यामै भएपनिमास्क र स्यानीटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षित बनाउन सकौं । वास्तवमा भन्ने हो भनें देशको एक उद्या्ेग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो, देशलाई परेको बेलामा साथदिनहामीकहिल्यै पछि पर्ने छैनौ ।’ बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि.का प्रवन्ध निर्देशक गौरव गाडियाले भने । हाल काठमाडौं उपत्यकामा वितरण गरिए पनि यदि आवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्य कम्पनीले लिएको छ ।

‘आफू नि बचौं अरुलाई नि बचाउँ’ अभियानमा युरेस नेपाल कमर्श क्याम्पसका स्वयंसेवक

काठमाडाैं । युथ रेडक्रस सर्कल(युरेस) नेपाल कमर्श क्याम्पसका स्वयंसेवकले स्थानीय स्तरमा कोरोना भाइरस (काेभिड १९) को बारेमा सचेतना कार्यक्रम संचालन गरिरहेका छन् । भाइरसकाे राेकथाम र प्रतिकार्यकाे लागि युरेस नेपाल कमर्श क्याम्पसले ‘आफू नि बचौं अरुलाइ नि बचाउँ’ भन्ने नाराका साथ विभिन्न स्थानमा उक्त कार्यक्रमहरू संचालन गरिरहेकाे छ। साथै, नेपाल रेडक्रस सोसाईटी(नेरेसाे) काठमाडौं जिल्ला शाखाबाट स्यानिटाइजर बनाउने तालिम प्राप्त स्वयंसेवकहरु भोलिदेखि काठमाडौ जिल्ला शाखा अन्तर्गत रहेका उप-शाखाहरुमा गई स्यानिटाइजर बनाउन सिकाउन तयारी अवस्थामा छन् । नेरेसाे काठमाडौ जिल्ला शाखा जुनियर तथा युवा विभागका सदस्य कुशल बस्नेत भन्छन् -‘यो बिपतको घडीमा हामी आफू पनि सुरक्षित रही अरुलाइ पनि यो भाइरसबाट कसरी टाढा राख्ने र कसरी सक्रमन बाट बच्ने भन्ने जनचेतना कार्यक्रम साथै स्यानिटाइजर बनाउने तरिका सिकाउँदै आइरहेका छौं, हाम्रो युबा टिम तयारी अवस्थामा छ ।’ ‘नेरेसो काठमाडौ जिल्ला शाखाको अधीनमा छौ जहाँ जुन बेला जे गर्ने पनि तयार छाैं’ बस्नेतले बताए । साथै, उनले विश्वभर काेराेना भाइरसकाे संक्रमण बढ्दै गएकाे र त्यसकाे प्रभाव नेपालमा पनि पर्न सक्ने हुनाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन आम नागरिकलाई आग्रह गरेका छन् ।