हवाई उडानमा नयाँ मापदण्डः ज्वरो र खोकी लागेकालाई रोक

काठमाडौं । सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ । मापदण्डमा हवाई सेवा प्रयोग गर्दा यात्रुले अवलम्बन गर्नुपर्ने नियम तथा वायु सेवा सञ्चालक, विमानस्थल सञ्चालक र भूमिस्थ सेवा संलग्न कर्मचारीले पालन गर्नुपर्ने नियम तथा सुरक्षाका उपाय समेटिएको छ । मापदण्डअनुसार खोकी, ज्वरो, सास फेर्न समस्या भएको तथा स्वाद र गन्ध थाहा नपाउने अवस्थाका व्यक्तिलाई उडानमा पूर्ण रूपमा निषेध गरेको छ । यात्रुले वायु सेवा सञ्चालकले उपलब्ध गराउने फाराम भरेर आफू पूर्ण रूपमा स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने छ । (गोरखापत्र दैनिकबाट)

रिसोर्टमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा ।  झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय चित्रबहादुर ओली रहेका छन् । शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्ने क्रममा बा१क ८०९६ नंको जेसिबीले बिजुलीको तार छोइ करेन्ट लाग्दा उनी घाइते भएका थिए । घाइते ओलीलाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी जेसिबीका सहचालक हुन् । उनको शव आम्दा अस्पताल दमकमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तले जानकारी दिए ।    रासस

वाग्मती प्रदेशले स्वास्थ्यलाई प्राथमिकता दिने

हेटाैंडा । वागमती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कोरोनाले महामारीको रूप लिएपछि वाग्मती सरकारले बजेटमा समावेश गर्न यस्तो नीति तथा कार्यक्रम ल्याएको हो । वाग्मती प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र सुदृढ बनाउन स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण तथा औषधिको उपलब्धता सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश मातहतका सबै जिल्ला आयुर्वेद केन्द्रलाई वैकल्पिक चिकित्सा सेवा, पञ्चकर्म तथा योग सेवासहित सुदृढीकरण गरिने र प्राकृतिक एवं वैकल्पिक चिकित्सा सञ्चालनका लागि प्रोत्साहन गरिने भनिएको छ । हेटौंडा अस्पताललाई स्तरोन्नति गरी ३ सय श्ययाको बनाउने नीति तथा कार्यक्रममा छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न संस्थागत तथा संरचनागत व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ । भक्तपुर, सिन्धुली र त्रिशूली अस्पताललाई १ सय श्यया क्षमताको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ । धादिङ र चौतारालाई ५० श्यया तथा रामेछाप र रसुवा अस्पताललाई २५ श्यया क्षमतामा स्तरोन्नति गरी सुदृढीकरण गरिनेछ । प्रदेशको अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतिमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी प्रदेश अस्पताल बनाइनेछ । वाग्मती सरकारले कोभिड–१९ को सङ्क्रमणबाट रोजगारी र उत्पादनमा परेको नकारात्मक प्रभावलाई न्यून गरी दिगो उत्पादकत्व, भरपर्दो वितरण सञ्जाल र उद्यमशीलताको विकास गर्न प्रदेश सरकारबाट दिइँदै आएको अनुदानलाई प्रभावकारी बनाउन बैंकिङ पद्धतिमार्फत न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिने भनिएको छ । यसका लागि ऋण उपलब्ध गराउने वा ब्याज अनुदान दिने विषय कार्यविधि तर्जुमा गरी व्यवस्थित गरिने जनाइएको छ । रासस