पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा छ जना उच्च कमाण्डरसहित २२ आतंककारी मारिएको दाबी
श्रीनगर । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । यस अवधिमा यहाँका आतंककारीका विरुद्धमा भारतीय सेनाले व्यापक मात्रामा कारबाही गरिरहेको बताएको छ । साथै भारतीय सेनाले यस दुई हप्ताको समयमा उक्त क्षेत्रमा विभिन्न आतंककारी संगठनका गरी कम्तीमा पनि छ जना उच्च कमाण्डर पनि मारिएको बताएको छ । यसअघि सोमबार मात्र पनि भारतीय सेनाले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको र त्यस क्रममा कम्तीमा पनि ९३ जना आतंककारीहरु मारिएको बताएको थियो । भारत प्रशासित जम्मु र काश्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले भारतीय सेना र प्रहरीले गरेको यस संयक्त कारबाहीका क्रममा ती आतंककारी मारिएका जानकारी दिए । साथै उनले त्यसमा आतंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको जनाएकाे छ । भारतीय सैनिक स्रोतले दिएको जानकारी अनुसार सो क्षेत्रमा अहिले पनि आतंककारी विरुद्धको कारबाही जारी रहेको छ । त्यसैगरी गएको शनिबार यता मात्र यहाँ भारतीय सुरक्षा निकायले गरेको कारबाहीमा नौजना आतंककारी मारिएको पनि बताइएको छ । यस कारबाहीमा जैस ए मोहमद, लस्कर ए तोएबालगायतका आतंककारी संगठनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ । ती आतंककारी भारतीय तथा विदेशी समेत रहेको पनि सो समाचारमा जनाइएको छ । यस कारबाहीका क्रममा भारतीय सुरक्षा निकायका सदस्यहरुलाई भने कुनै क्षति नपुगेको अधिकारीहरुले जनाएका छन् । रासस/एएनआई
करणी उद्योगको उजुरी नलिने प्रहरीविरुद्ध आयोगमा उजुरी दर्ता
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बाँस्तोलाविरुद्ध स्थानीय ३२ वर्षीया महिलाले दिएको जाहेरी प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले लिन अस्वीकार गरेपछि सोमबार पीडित पक्षले प्रहरीविरुद्ध नै मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालय दिक्तेलमा उजुरी दर्ता गराएको छ । पीडित भनिएकी महिलाले दिएको उजुरी सोमबार नै दर्ता गरेर अनुसन्धान शुरु गरिएको आयोगका निमित्त प्रमुख सुमित्रा राईले बताए । “उजुरी आएलगत्तै पीडित महिलासँग सोधपुछ गरेर छानबिन शुरु गरिएको छ”, उनले भने, “घटनाका विषयमा थप अनुसन्धान गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ ।” पीडक बाँस्तोलाले यही जेठ ३ गते राति आफ्नै घरमा आएर बलात्कार प्रयास गर्नुका साथै हातपातसमेत गरेकाले उनीविरुद्ध कारवाहीको माग गर्दै जाहेरी लिएर प्रहरीमा जाँदा पटकपटक फर्काइदिएपछि मानवअधिकार आयोगमा उजुरी दिइएको पीडित महिलाले बताए । “म अन्यायमा परेकी छु”, उनले भने, “प्रहरीमा न्याय माग्न जाँदा उल्टै हप्काएर पठाएपछि मानवअधिकार आयोग गुहारेकी हुँ ।” मादक पदार्थ सेवन गरेर आएका पीडक बाँस्तोलाले गाउँका जोसुकैकी श्रीमती, छोरी र बुहारी पनि समाउन सक्छु भन्दै आफूलाई बलात्कार गर्न हातपात गरेको पीडित महिलाले बताए । “बेलुकाको करिब ९ बजेको समयमा हाम्रो घर आएका बाँस्तोलाले मेरो श्रीमान्सँग विभिन्न बहानामा निहुँ खोजिरहेका थिए”, उनले भने, “खाना खाइसकेर श्रीमान् चर्पी गएको मौका छोपेर मलाई कम्मरमा समाएर लडाउनुका साथै मेरो संवेदनशीन अङ्गमा समेत पक्रेर बलात्कार प्रयास गरे ।” घटनास्थलमा पीडक भनिएका बाँस्तोला र महिलाबीच दोहोरो हात हालाहालसमेत भएको स्थानीय बासिन्दाले बताएका छन् । घटनामा महिलाले बाँस्तोलालाई दाउरा प्रहार गर्दा बाँस्तोलाको टाउकोमा चोटसमेत लागेको छ । बलात्कारको प्रयास असफल भएपछि घटनास्थलबाट भागेका बाँस्तोलाले प्रहरी टोली ल्याएर आफूहरुलाई नै उल्टै पक्राउ गराएको पीडित पक्षको आरोप छ । घटनालगत्तै पक्राउ परेका पीडित भनिएकी महिला र उनका श्रीमान्विरुद्ध प्रहरीले अभद्र व्यवहार अभियोगको मुद्दा दर्ता गरेर कारवाही गरेको थियो । ११ दिन हिरासतमा बसेर तारिखमा छुटेका उनीहरुले जिल्ला प्रशासन कार्यालय खोटाङमा धरौटी बुझाएका छन् । धरौटीमा छुटेपछि पीडक बाँस्तोलाविरुद्ध मुद्दा दर्ता गर्न जाँदा प्रहरीले पटकपटक फर्काउने गरेको उनीहरुको आरोप छ । उता प्रनाउ चिमोरियाले भने महिलामाथि भएको घटना करणी उद्योग नभई यौन दुव्र्यवहार भएकाले उनले प्रहरीमा दिएको उजुरी फर्काइएको बताए । “यौन दुव्र्यवहारसम्बन्धी मुद्दा अदालतले हेर्छ”, उनले भने, “पीडित भनिएकी महिलाले करणी उद्योगको मुद्दा ल्याएकाले प्रहरीकै परामर्शमा यौन दुव्र्यवहारअन्तर्गतको मुद्दा लिएर अदालत जान सुझाव दिइएको छ ।” पीडक भनिएका बाँस्तोलाले भने आफूमाथि योजनाबद्ध तरिकाले हातपात गर्नुका साथै चरित्रहत्या गर्न झुटो आरोप लगाएको बताएका छन् । यसअघि भएको घरायसी विवादमा उनीहरुले योजनाबद्ध तरिकाले कुटेर फालेको बाँस्तोलाको आरोप छ । पीडित भनिएकी महिलाबाट कुटाइ खाएका बाँस्तोलालाई एम्बुलेन्समार्फत काठमाडौँ लगेर उपचार गरिएको आफन्तले बताएका छन् । उनको टाउको, हात र आँखामा गहिरो चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । रासस
जोर्ज फ्लोइडको हत्याका आरोपित प्रहरीसँग १२.५ लाख डलर धरौटी माग
काठमाडौं । अश्वेत पुरुष जोर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी पहिलो पटक अदालतमा उपस्थित भएका छन् । अदालतले हाल निलम्बनमा परेका डेरेक शोभिनसँग १२.५ लाख डलर धरौटी मागेको छ । आरोपहरूको गम्भीरता र जनआक्रोशलाई ध्यानमा राख्दै १० लाखभन्दा बढी धरौटी माग गरिएको अभियोजनकर्ताहरूले बताएका छन् । डेरेक शोभिनमाथि नियतविना हत्या गरेको लगायत तीनवटा आरोप लगाइएको छ भने अन्य तीन प्रहरी अधिकारीमाथि हत्यामा सघाएको आरोप लगाइएको छ । निलम्बन मे महिनामा भएको फ्लोइडको मृत्युको घटनाले विश्वव्यापी प्रदर्शनहरू निम्त्याएको छ भने प्रहरीमा पुनर्संरचनाको माग भइरहेको छ । श्वेत व्यक्ति शोभिनले मिनिअपलिसमा मे २५ तारिखमा फ्लोइडको गर्दनमाथि करिब ९ मिनेटसम्म टेकेका थिए । त्यसपछि उनी र बाँकी तीन प्रहरी अधिकारी निलम्बनमा परेका छन् । टेलिकन्फरेन्समार्फत् सोमवार अदालतमा उपस्थित भएका शोभिनले कुनै प्रकारको आग्रह गरेनन् । १५ मिनेट लामो सुनुवाइका क्रममा उनले केही भनेनन् । हातमा हतकडी लगाइएको अवस्थामा उनी सानो टेबुलमा बसिरहेका थिए । न्यायाधीशले निःशर्त १२.५ लाख डलर धरौटी अथवा १० लाख धरौटी र फ्लोइडका परिवारलाई भेट्न नमिल्ने तथा हातहतियार बुझाउनुपर्ने र मुद्दाको सुनुवाइ हुन्जेल सुरक्षा निकायमा काम गर्न नपाइने शर्त राखेका थिए । शोभिनका वकिलले धरौटी बापत माग गरिएको रकमलाई लिएर कुनै आपत्ति जनाएनन् । कैयौं पटक स्थानान्तरण गरिएपछि ४४ वर्षीय शोभिन हाल ओआक पार्क हाइट्सस्थित एक कारागारमा राखिएका छन् । अर्को पटक जुन २९ तारिखमा उनलाई अदालतमा उपस्थित गराइनेछ । यसैबीच, फ्लोइड पहिला बस्ने गरेको टेक्ससको ह्युस्टनस्थित एक गिर्जाघरमा अन्तिम दर्शनका लागि ६ घण्टा उनको शव राखिएको छ । मङ्गलवार ह्युस्टनमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ । मिनिअपलिस र फ्लोइड जन्मेको नर्थ क्यारोलाइना राज्यमा स्मृति कार्यक्रम भइसकेका छन् । राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले फ्लोइडका आफन्तलाई सोमवार भेटेका छन् । बाइडनले पीडित परिवारको पीडा र चिन्तालाई सुनेको फ्लोइडको पारिवारिक प्रवक्ता बेन्जमिन क्रम्पले बताएका छन् । मास्क र पन्जा लगाएर सामाजिक दूरी कायम राख्दै मानिसहरूले श्रद्धाञ्जलि दिइरहेका छन् । गिर्जाघरमा एक पटकमा १५ जनालाई मात्रै जान दिइएको छ । फ्लोइडको मृत्युपछि अमेरिकामा जातीयताविरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गर्दैछ । वाशिङ्गटन डीसी, न्यूयोर्क, शिकागो, लस एन्जलस र सान फ्रान्सिस्को लगायतका थुप्रै शहरमा ठूल्ठूला र्यालीहरूको आयोजना गरिएको छ । (बीबीसीबाट)