धुमधामका साथ भइरहेको बालविवाह रोक
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भूपालसिं राईले जानकारी दिए । वडाध्यक्ष राईका अनुसार लोखिमका एक १९ वर्षीय युवक र १६ वर्षीया युवतीबीच दुवैको मञ्जुरीमा नै विवाह भइरहेको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइबुझाई विवाह रद्द गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाहलाई कानून विपरीत मानिएको छ । उमेर नपुगी भएको विवाह स्वतः रद्द हुनेसमेत उल्लेख गरिएको छ । साथै उपदफा २ मा विवाह गर्ने गराउने व्यक्तिलाई समेत तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ । रासस
लागु औषधसहित तीन पक्राउ
धनगढी । कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ बस्ने २३ वर्षीय राजेन्द्र भाट, वडा नं १० बस्ने १८ वर्षीय बल राना र सोही वडा बस्ने २४ वर्षीय गौरव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत थापाले बताए । सुपप्रप०१–००८प ५४८७ नंको मोटरसाइकलमा सवार उनीहरुलाई धनगढी उपमहानगरपालिका–१० स्थित जुगेडाबाट ११ दशमलव ७ सय ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको र तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ । रासस
फौजी किराले मकैबालीलाई क्षति पुर्यायो
काठमाडाैं । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेलमा फौजी किराले मकैबालीमा क्षति पुर्याएको छ । सो किरा यस अगाडि यहाँको वडा नं २ माल्टा, ४ प्युटार र ६ आश्राङमा पनि देखापरेको थियो । किराले पहिलोपटक प्युटारका मकैबालीमा क्षति पुर्याएको थियो । यसपछि माल्टा र आश्राङ हुँदै घुसेल पुगको गाउँपालिका कृषि विकास शाखा प्रमुख सुवास खनालले बताए । उनले भने, “प्युटारको लगभग ९ सय रोपनी तथा माल्टा र आश्राङका ५/५ सय रोपनी जमिनका मकैबालीमा किराले क्षति पुर्याएको पाएपछि हामीले हरेक वडामा अनुगमन गर्दा यहाँ पनि पायौं । गाउँपालिकाको बजेटमार्फत लगभग २ लाखको विषादी र स्प्रे खरिद गरी किसानलाई निःशुल्क वितरण गरिसकेका छौं ।” अब थप अन्य किसानलाई आवश्यक पर्ने विषादी गाउँपालिकाले निःशुल्क वितरण गर्न नसक्ने हुँदा इमोमेक्टिन बेन्जोएट नामक विषादी मागाइदिएर सहयोग गरिरहेको उनले जानकारी दिए । विषादी किरा नियन्त्रण गर्न निकै प्रभावकारी मानिन्छ । यसले मकैको गुभो भिज्ने गरी स्प्रे गरेपछि किरा मर्छ । वाग्मतीको मकैबालीमा अमेरिकन फल वार्म नामक फौजी किरा देखिएको हो । किराले माल्टा, प्युटार र आश्राङका हरेक किसानको मकैबारीमा १० देखि १५ प्रतिशत क्षति पुर्याएको छ । गत जेठ १३ गते वाग्मतीको वडा नं ७ गिम्दीमा आएको ठूलो हावाहुरीले यहाँको ७० देखि ८० प्रतिशत मकैबाली नष्ट गरेको थियो । कूल सात वडामध्ये घुसेल, माल्टा, प्युटार र आश्राङमा व्यापक फौजी किरा लाग्नु र गिम्दीको मकैबाली हावाहुरीले सखाप पार्नाले यो वर्ष वडा नं ३ भट्टेडाँडा र वडा नं ५ इकुडोलको मकैबाली मात्र आजसम्म राम्ररी उत्पादन भइरहेको छ । सो किराले मकैको गुभो, धानचमरा खाइदिने र एकपल्टमा १ सयदेखि २ सय अण्डा पार्ने हुँदा मकैबालीको समय सकिएपछि अन्य अन्न बालीमा समेत यसले असर गर्न छाड्दैन । “यो किराको टाउकोमा वाइ आकारको सेतो धर्सा र जिउँको पछाडि भागमा खैरो रङको छ धब्बा देखिने गर्छ”, उनले भने, “विगतमा खोटाङ, उदयपुर हुँदै फैलिएको यो किरा हाल मुलुकका धेरै जिल्लामा देखिएको छ ।” ललितपुरमा रहेका छ पालिका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकामध्ये कोञ्ज्योसोम महाँकाल र वाग्मती गाउँपालिका भौगोलिक दृष्टिकोणले निकै टाढा रहेका स्थान हुन् । सो तीन गाउँपालिकाको औषत पारिवारिक आम्दानी कृृषि र पशुपालन व्यवसायले सबैभन्दा ठूलो हिस्सा ओगट्ने छ । रासस