चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ
रूकुम । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो । केसीसहित थप दुई युवासमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेको प्रहरीले जनाएको छ । मङ्गलबार राति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी चौकीमा तोडफोड गरी क्षति पुर्याएको थियो । त्यसपछि वडाध्यक्ष केसीसहित दुवै युवा फरार थिए । प्रहरीले फरार वडाध्यक्ष र दुई युवालाई मुसिकोट १३ को टोड्के भन्ने ठाउँबाट पक्राउ गरेको जनाएको छ । पक्राउ तीनै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा १० दिनको म्याद थप गरिएको प्रनाउ केसीको भनाइ छ । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले बताए । सवारी जाँचका लागि सडकमा राखिएको डाँट खोल्न ढिला गरेको भन्दै वडाध्यक्ष केसीले प्रहरीसँग झगडा शुरु गरेको र त्यसपछि स्थानीय २०र२५ जनाको समूहले प्रहरी चौकीमा तोडफोड गरेको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले बताए । नागरिकको सुरक्षाका लागि स्थापना गरिएको प्रहरी चौकीमा वडाध्यक्षकै नेतृत्वमा रहेको टोलीले तोडफोड गरी सवारी जाँचका लागि राखिएका सम्पूर्ण सामग्री, प्रहरी चौकी अगाडि लगाइएको काठको बार र कुर्सीलगायत सामग्रीमा क्षति पुर्याएको इन्चार्ज साउदले बताउनुभयो । यस घटनाले शान्ति सुरक्षामा खटिएको प्रहरीको मनोबल घटाउने काम गरेको र आफूहरुले असुरक्षित महसुस गरिरहेको उनको भनाइ छ ।
प्रतिभा प्रस्तुत गर्ने माध्यम ‘द ट्यालेन्ट’ शाे संचालनमा
काठमाडौं । आफ्नो प्रतिभा प्रस्तुत गर्न सकिने रियालिटी शो कार्यक्रम ‘द ट्यालेन्ट’को शुरुवात भएको छ । “म भित्रको म” स्लेगन रहेको यस कार्यक्रममा हरेक व्यक्तिभित्र रहेका हरेक प्रतिभाहरु प्रस्तुत गर्न सकिने छ । कार्यक्रम यहि जेठ १७ गतेबाट सञ्चालनमा आएको हो कस्मिक मिडिया प्रा.लिद्धारा सञ्चालित कस्मिक टिभि मा प्रसारण हुनेछ । अनलाईन प्रसारित कस्मिक टिभि साथै कस्मिक मिडियाको युट्युब च्यानलबाट कार्यक्रम हेर्न सकिने मिडियाका सञ्चालक रमेश पोखरेलले बताए । विश्व माहामारीको रुपमा रहेको कोभिड १९ को यस समयमा सबै व्यक्तिहरु घरमा नै बन्दा बन्दीमा रहेको हुँदा, यस्तो अवस्थामा घरमा बसिरहदाको समयलाई सदुपयोग गर्न पनि यो कार्यक्रमले सहयोग गर्ने पोखरेलको भनाई छ । यो कार्यक्रममा आफ्नो प्रतिभा आफैले रेकर्ड गरेर पठाउनु पर्ने हुनाले पनि सहभागिता जनाउन सजिलो भएको उनको भनाई छ । सहभागीले आफुले रेकर्ड गरेको आफ्नो कला प्रतिभा [email protected] र कस्मिक मिडियाको फेसबुक म्यासेन्जरमा पठाउन सकिने व्यवस्था छ । कार्यक्रमले बन्दाबन्दीको समयको सदुपयोग, प्रतिभा प्रस्तु्त साथै मानसिक तनाव समेत कम हुने कार्यक्रम संचालक पोखरेलको भनाई छ । मानिसभित्र रहेको प्रतिभाहरु गित, नाच, कविता, गजल, भाषण, कमेडि लगायत विभिन्न कलालाई यस कार्यक्रममा प्रस्तुत गर्न सकिनेछ । यस ‘द ट्यालेन्ट’ कार्यक्रमले देश विदेशको हरेक ठाउँमा रहेका व्यक्तिहरुको कलालाई समेट्ने प्रयास गरेको छ । कार्यक्रममा ५ वर्षभन्दा माथिका सबैले सहभागीता जनाउन सक्ने सञ्चालकको भनाई छ । सहभागीले जेठ १७ गते बाट १ महिना सम्ममा भिडियो पठाई सक्नु पर्नेछ । एक जनाले जम्मा ३ देखी ५ वटासम्म भिडियो पठाउन पाउनेछन् , एकै जनाको गित, कविता, नाच ,भाषण, जोक्स फरक फरक पठाउन पनि पाइनेछ । साथै कोभिड १९ लार्ई मध्यनजर गरी कार्यक्रममा सहभागी हुने समय थप पनि गर्न सकिने सञ्चालकको भनाई छ । कार्यक्रममा सहभागीे भिडियोकोे कमेन्ट, भ्यूजको अधारमा ६० प्रतिशत र सञ्चालक टिमको तर्फबाट ४० प्रतिशत गरेर जम्मा १०० प्रतिशत गरी मुल्यंकनबाट बिजेता छानिनेछ । बिजेता को नाम अनलाईन , फेसबुक र समाचारहरुबाट सर्वजनिक गरिनेछ र बिजेतालाई बन्दा बन्दीको अवश्था सामान्य भएपछि मिडियाको कार्यालय बागबजारमा उपस्थित गराई एक कार्यक्रमका बीच पुरस्कृत गरीने सञ्चालक पोखरेलले जानकारी दिए । बिजेतालाई नगद पु्रस्कार सहित प्रमाणपत्र साथै आगामी दिनमा मिडिया क्षेत्रमा प्रवेश गर्ने अवसर समेत प्रदान गरीने उनको भनाई छ । कस्मिक मिडियाले यस अघि पनि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । हाल मिडियाले रियालिटि शो द लिडर स्पिच स्टार कार्यक्रम सञ्चालन गराईरहेको उनले जानकारी दिए । द लिडर स्पिच स्टार कार्यक्रमले समाजमा रहेका आवाज खोज्ने र समाज विकास गराउदै देश विकासमा टेवा पुयाउने गर्दछ भने द ट्यालेन्ट कार्यक्रमले हरेक कलाको विकास गराउने पोखरेलको दाबी छ ।
दुई सहायक वन अधिकृत घुस अभियोगमा पक्राउ
ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रूपैयाँ घुस लिएको अभियोमगा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ २ लाख रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरिएको हो । उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना आयोगमा पुगेको थियो । सोहीअनुसार आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट १/१ लाख रू घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए । नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ । आयोगका अनुसार सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको थियो । रासस