मकवानपुरमा ज्वाइँले गरे सासूको हत्या

हेटाैंडा । मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार नेपालीसमेत बस्दै आएका थिए । उनै नेपालीले धारिलो हतियार प्रहार गरेर सासूको हत्या गरेको र उनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीयवासी कमला भोम्जनले जानकारी दिए । बिहान ४ बजे धारिलो हतियारले आक्रमण गरी हत्या गरेको र होहल्ला भएपछि स्थानीयवासीले थाहा पाई  नियन्त्रणमा लिएको मकवानपुरगढी गाउँपालिका वडा नं १ का अध्यक्ष आइतसिंह लामाले जानकारी दिए । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानासहितको प्रहरी टोली पुगेको छ । प्रहरीले अभियुक्त नेपालीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको नायब उपरीक्षक रानाले जानकारी दिनुभयो । रानाका अनुसार पक्राउ परेका नेपालीले आफूले सासूको हत्या गरेको स्वीकार गरेका छन् । रासस

माडी नगरपालिका पाँच दिनसम्मका लागि सिल

चितवन । चितवनको माडी नगरपालिकालाई ५ दिनसम्मका लागि सिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी ५ दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो । यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै माडी नगरपालिकामा नै सङ्क्रमित देखापरेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख ढकालले बताए । समितिको निर्णयअनुसार माडीभित्र पनि सबै मोटरसाइकल, अटो, टेम्पोलगायत सवारी साधन चलाउन पूर्णरूपमा रोक लगाइएको हुँदा कुनै पनि बहानामा सवारी साधन चलाउन पाइनेछैन । यस्तै अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्था तथा पसलबाहेक अन्य सङ्घसंस्था तथा पसल पूर्णरूपमा बन्द गराउने, अति आवश्यक कामले घर बाहिर निस्कनुपरेमा सुरक्षाकर्मीलाई जानकारी गराउनुका साथै सामाजिक दूरी कायम गरी मास्कको प्रयोग अनिवार्यरूपमा गर्ने, सङ्घसंस्था तथा पसलमा हात धुने व्यवस्था र सामाजिक दूरी कायम गर्ने/गराउने निर्णय भएको छ । यस्तै स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था वा बघौडा अस्पतालमा सम्पर्क गर्ने निर्णय गरिएको नगरप्रमुख ढकालले बताए । माडीमा पहिलोपटक सोमबार ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु भारतबाट आएर सोमेश्वर माविको क्वारेन्टिनमा रहेका थिए । उनीहरु हाल भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत छन् ।  रासस

गायक अधिकारीको नयाँ गीत सार्वजनिक

काठमाडाैं । गायक  पुष्पबिक्रम अधिकारीकाे नयाँ गीत सार्वजनिक भएकाे छ । उनकाे जवदेखि मैले होस पाएँ बाेलकाे गीत सार्वजनिक भएकाे हाे । म त सूदुरपश्चिमेली ठीटो बाेलकाे गीतबाट चर्चामा आएकाे उनकाे याे गीतले पनि दर्शक स्राेताकाे मन जित्न सक्ने उनले विश्वास लिएका छन् ।  सुदूरपूर्वको भाषा र संस्कृति बोकेको परिवारमा जन्मेका पुष्पबिक्रम अधिकारी सुदूरपश्चिमकाे समाजमा हुर्किए सँगै सुदूरकै पहिचान दिने खालमा रचना गरिरहेका छन् । नेपाली लोकपप शैलीको मेलोडी गीत “जव देखि मैले हाेस पाएँ” गायक अधिकारीले आफै रचना गरेका हुन भने संगीत समेत आफै तयार गरेका हुन । गीतमा अधिकारीको गायकी, सङ्गीत संयोजन र रचना सशक्त र परिपक्व छ । गीतको म्युजिक भिडियो पनि आजै अधिकारीको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा कलाकार विशाल रावत, पुजा चन्द र बाबा सिंहको उत्कृष्ट अभिनय रहेको छ भने गायक अधिकारीकै जीवनसङ्गिनी विजया आचार्य अधिकारीको कन्सेप्ट र कोरियोग्राफी रहेको छ । भिडियाे हेर्नुस्: