‘लकडाउन कडा बढाउनुपर्यो’
काठमाडाैं । कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि लकडाउनलाई पुनः कडाइ बनाउन जनस्तरबाट सरकारलाई आग्रह गरिएको छ । लकडाउनले जनजीवन अस्तव्यस्त भएको भन्दै केही समयअघिसम्म खोल्न दबाब दिइरहेकाहरू अहिले यसलाई कडा बनाउन माग गर्न थालेका छन् । अत्तरिया उद्योग वाणिज्य सङ्घ र गोदावरी नगरपालिकाको आग्रहमा शनिबारदेखि सो नगरपालिकाको मुख्य बजार अत्तरिया अनिश्चितकालका लागि बन्द गरिएको छ । नगरपालिकामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको एक ४६ वर्षीय पुरुषको मृत्यु समेत भइसकेको अवस्थालाई मध्यनजर गर्दै थप सङ्क्रमण फैलिन नदिनका लागि ती दुई निकायको आग्रहमा अनिश्चितकाका लागि बजार बन्द गरिएको नगरप्रमुख हरिसिंह साउदले बताए । बजार खोल्दा सङ्क्रमण बढी फैलन सक्ने हुँदा अनिश्चितकालीन रूपमा बजार बन्द गरिएको सङ्घका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । कैलालीकै घोडाघोडी नगरपालिकामा ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जनस्तरबाट लकडाउनलाई कडा बनाउनुपर्ने माग उठ्न थालेको छ । टोलटोलमा कोरोना सङ्क्रमित भेटिँदा पनि लकडाउन नहुनु दुःखद् भएको घोडाघोडी नगरपालिका–१ का व्यवसायी अनन्त जोशी बताए । घोडाघोडी–१० का सन्तोष बराल पनि अहिलेको परिस्थितिमा लकडाउन बढाउनुको विकल्प नभएको जनाए । सङ्क्रमण देखिएकाहरूलाई स्थानीय सरकारले जाँचै नगरी लक्षण नदेखिएको भन्दै घर पठाएको छ उनीहरू गाउँघरमा घुमिरहेका छन् यसले जोखिम बढाएको छ, त्यस कारण पनि लकडाउन बढाउनुपर्ने उनको भनाइ छ । नगरप्रमुख ममताप्रसाद चौधरी पनि लकडाउनलाई थप कडाइका साथ लागू गर्नुपर्ने पक्षमा छ । उनले भने, “सङ्क्रमणको जोखिम बढ्दो छ यसको रोकथामका लागि सरकार मात्र सजग भएर हुँदैन । हरेक नागरिक सचेत रहनुपर्छ । सर्वपक्षीय छलफलपश्चात के कसरी अघि बढ्ने भन्ने विषयमा कार्यपालिकाले निर्णण गर्छ ।” बर्दगोरिया गाउँपालिका–१ का भरत ताम्राकार गाउँपालिकामा २५ कोरोना सङ्क्रमित देखिएको र सबै गाउँघरमा रहेको हुनाले जोखिम बढ्ने चिन्ता व्यक्त गरे । लम्किचुहा नगरपालिकाले सर्वपक्षीय छलफल गरेर आवश्यक कदम चाल्ने नगर प्रमुख महादेव बजगाईँले बताए । रासस
सोनाक्षी सिन्हाले ट्विटरलाई गरिन् बिदाइ, मेटाईन अकाउन्ट
काठमाडौं । बलिउड कलाकार सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट डिलिट गरेकी छिन् । उनले नकारात्मकताबाट टाढै बस्न र मानसिक स्वास्थ्यलाई बचाइराख्नका लागि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेको जानकारीसमेत दिइन । यो जानकारी सोनाक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सार्वजनिक गरेकी हुन् । उनले आफ्नो ट्वीटर पोस्टको स्क्रिनसट राखेकी छिन् जसमा लेखिएको छ, ‘आफ्नो मानसिक स्वास्थ्यलाई बचाउन र नकारात्मकताबाट टाढा राख्नका लागि आफ्नो पहिलो कदम उठाइरहेकी छु । म आफ्नो ट्वीटर अकाउन्ट डिएक्टिभेट गरिरहेकी छु ।’ त्यस्तै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छिन् । साथै उनले लेखेकी छिन्, ‘आगो लाग्यो बस्तीमा, म भने आफ्नो मस्तीमा । अलविदा ट्वीटर ।’ यस्तै यस अघि फिल्म निर्माता शशांक खेतानले पनि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेका थिए । उनका अनुसार यसले घृणा र नकारात्मकता फैलाउने जमिनजस्तो काम गर्छ । हालै, बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि सोसल मिडियामा फिल्म निर्माता करण जोहरलाई अत्यधिक आरोप लगाइएको थियो । थुप्रै मानिसहरुले करणले चर्चित अभिनेताका सन्तानलाई मात्रै काम गर्ने मौका दिन्छन् भन्ने आरोप लगाएका थिए । तत्पश्चात् करण जोहरले फिल्मी क्षेत्रसँग जोडिएका थुप्रलाई ट्वीटरमा अनफलो गरेका थिए । वास्तवमा सुशान्तको मृत्युपछि बलिउडमा नातावाद, परिवारवादमाथिको बहस व्यापक चलिरहेको छ । स्रोतः बीबीसी
करेन्ट लागेर महिलाको मृत्यु
काठमाडाैं । जिल्लाको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो । सोही वडाका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीट्याङ्कीमा करेन्ट प्रवाह गरेका कारण निज महिला थापा बागलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । पानीट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । उनले भने, “ट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ, बाँकी उनको वयानपछि सबै कुरो खुल्ने छ ।” गाउँको सार्वजनिक धारामा भारतबाट रोजगारी गरी घर फर्किएका कोरोनाको सङ्क्रमित भएका व्यक्तिले पनि पानी भर्न आउने गरेका कारण आफूले धारामा करेन्ट प्रवाह गरेको पक्राउ परेका किमाडीले प्रहरीसमक्ष बयान दिएको इलाका प्रहरी कार्यालय आदर्शले जनाएको छ । करेन्ट लागेर मृत्यु भएकी निज महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटी ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक महिला आफ्नै गाउँको विद्यालयमा बाल विकास सहयोगी हुन् । रासस