क्वारेन्टाइनमै भान्सा, टिभी र इन्टरनेट
काठमाडाैं । क्वारेन्टाइन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला यहाँका केही वडाले भने स्तरीय क्वारेन्टाइनको प्रबन्ध गरेका छन् । क्वारेन्टाइनस्थलमा बस्ने समूहका अलग भान्सा छन् । टिभी, इन्टरनेटलगायत अतिरिक्त सुविधा दिइएको छ । व्यवस्थापनमा स्थानीयवासी खटिएका छन् । गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालयमा निर्मित क्वारेन्टिनको निगरानीका लागि ‘सिसी क्यामेरा’समेत जडान गरिएको छ । सो क्वारेन्टिनमा अहिले भारतबाट आएका चार जना छ । सोही वडाको जनहित माध्यमिक विद्यालयको क्वारेन्टिनमा आठ, दीपज्योति आधारभूत विद्यालयमा चार र म्याले सामुदायिक भवनमा एक जना छन् । विदेशसहित बाहिरी ठाउँबाट आएका वडावासीको क्वारेन्टिन बसाइलाई सहज तुल्याउन यथाशक्य प्रयास गरिएको प्रगति आवि क्वारेन्टिन निर्माण तथा व्यवस्थापन समितिका संयोजक थम्मन थापाले बताए । “खाद्यान्न, विस्तारा र व्यक्तिगत सरसफाइका सामग्री नगरपालिकाले उपलब्ध गराएको छ”, संयोजक थापाले भने,“बाँकी स्थानीय रुपमा व्यवस्थापन गरेका छौं ।” व्यवस्थापन समितिले नै भान्साका लागि ग्यास चूल्हो, भाँडाकुँडा आदि उपलब्ध गराएको छ । जनहित माविको क्वारेन्टिनमा रहनुभएका राजु चोखालले इन्टरनेट हेरेर समय बित्ने गरेको बताए । “हामी तीन जनाको समूह बनाएर बसेका छौं, भान्सा पनि छुट्टाछुट्टै छ”, उनले भने, “खाना, बसाइमा कुनै कमी र असुविधा छैन ।” बरु, क्वारेन्टाइनको बसाइ लम्बिएकामा उनकाे गुनासो छ । उनी क्वारेन्टाइन बसेको २१ दिन भयो । आठ दिनअघि कोरोना जाँचका लागि स्वाब लिइए पनि अझै रिपोर्ट आएको छैन । प्रगति आविको क्वारेन्टाइनमा बस्नेले पनि टिभी र इन्टरनेट हेरेर दिन काट्छन् । समय बिताउने माध्यम भएपछि एक्लोपनाको महसुस गर्न पाएका छैनन् । सुविधायुक्त क्वारेन्टाइनस्थलले केही सन्तोष दिएको छ । व्यवस्थापन समितिले क्वारेन्टिनस्थलको सुरक्षा निगरानी र रेखदेख गर्दै आएको छ । क्वारेन्टाइनको अनुशासनलाई कडापूर्वक पालना गराउन नियमित अनुगमनसमेत हुने गरेको छ । नगरपालिकाका पदाधिकारीसमेतले बेलाबेला निरीक्षण गर्छन् । सो क्रममा नगरकै उत्कृष्टमध्येमा ७ नं वडाका क्वारेन्टिन ठहरिएको वडाध्यक्ष टीकाबहादुर थापाले बताए । क्वारेन्टिनमा बस्नेको सङ्ख्या कम भएकाले पनि स्तरीयता कायम गर्न सहज बनेको उनको भनाइ छ । क्वारेन्टाइनस्थलको चुस्त व्यवस्थापनमा स्थानीयवासीकोसमेत उत्तिकै सहयोग छ । कसैले खाट त कसैले टिभी दिएका थिए । नगरपालिकाबाट आउने रकमबाहेकको खर्च वडा र व्यवस्थापन समितिले ब्यहोर्ने भएका छन् । उक्त वडाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या करिब ५० मात्रै छ । कोरोना कहर लम्बिँदै गएमा तेस्रो मुलुकबाट आउनेको सङ्ख्या बढ्ने देखिन्छ । सो अवस्थामा क्वारेन्टिनको क्षमता अझै बढाउनुपर्ने अवस्था छ । भारतबाट आउने क्रम शुरु भएपछि नगरपालिकाले गत महिना सबै वडामा कम्तीमा दश शय्याको क्वारेन्टिन बनाउन निर्देशन दिएको थियो । तत्कालै वडा नं ३ ले पनि १५ श्ययाको क्वारेन्टिन निर्माण गरेको थियो । गलकोट उद्योग वाणिज्य सङ्घ र गलकोट बहुमुखी क्याम्पसले क्वारेन्टिन निर्माणमा सघाएको वडा वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । क्याम्पसको कोठालाई क्वारेन्टाइनस्थलका रुपमा प्रयोग गरिएको छ । “क्वारेन्टाइन व्यवस्थित छ, व्यक्तिगत प्रयोगका सामग्रीदेखि स्यानेटाइजरसम्म उपलब्ध गराएका छौं”, अध्यक्ष भण्डारीले भने । शौचालय पनि छुट्टाछुट्टै प्रबन्ध गरिएको छ । नगरपालिकाले कोरोना आशङ्कित व्यक्तिलाई २१ दिनसम्म क्वारेन्टिनमा राख्दै आएको छ । क्वारेन्टाइनमा रहेका बेला स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य जाँच गर्ने गरेका छन् । क्वारेन्टाइनको बसाइ पूरा गरेपछि र आवश्यकता परेको खण्डमा कोरोना जाँच गरेर मात्र घर पठाइने नगरपालिकाले जनाएको छ । जिल्लाका कतिपय स्थानीय तहलाई भने क्वारेन्टाइन विस्तार र गुणस्तर कायम गर्नु चुनौतीपूर्ण बनेको छ । बाहिरबाट आउनेको ठूलो सङ्ख्या र छिटो कोरोना जाँच नहुँदा लामो समयसम्म क्वारेन्टिनमा राख्दा खर्चको भार पनि थपिँदै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा अहिले १ हजार ७ सय ३६ जना छन् । तीमध्ये झण्डै ८ सय जनाको कोरोना जाँचका लागि स्वाब लिइए पनि रिपोर्ट भने आउन बाँकी छ । जिल्लामा हालसम्म ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ८ जना निको भएका छन् । रासस
एकै पालिकामा २ सय ७३ संक्रमित
जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका गए राति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका २ सय ७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्मको लागि सो गाउँपालिका सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो गाउँपालिकामा ७२ घण्टासम्म अत्ति आवश्यक र आकस्मिकबाहेकका सबै थोक निषेध गरिएको जनाएको छ । यसैबीच महोत्तरीमा अहिलेसम्म कूल ५ सय ८ जना कोरोना पोजेटिभ भएको जनाइएको छ । रासस
कैलालीमा खैरो हिरोइनसहित दुई पक्राउ
कैलाली । कञ्चनपुरको बेलौरी क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनालाई खैरो हिरोइनसहित बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० बस्ने २५ वर्षीय रामु खाँण ठकुरी र बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय आशिष उपाध्यायलाई ०।६१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले बताए । उनका अनुसार दुवै जनालाई म २ प ९६१८ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला बेलौरी नगरपालिका–८ स्थित नेपाल भारत सीमास्तम्भ नम्बर ३८ नजिकबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनालाई बरामद गरिएको हिरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखेर सोधपुछ र अनुसन्धानको कार्य भइरहेको इप्रकाका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए । रासस