लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनालाई सशस्त्रले पुर्यायो क्वारेन्टाइनमा

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राख्ने अभियानलाई जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रमा पर्ने सीमानाकामा यस्तो अभियानलाई कडाइका साथ निरन्तरता दिइएको हो । भारतसँग जोडिएका सीमानाकाबाट अनुमतिबिना नेपाल प्रवेश गरेकालाई सशस्त्र प्रहरीले स्थानीय निकायसँगको समन्वयमा क्वारेन्टाइनमा राख्दै आएको गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रम्हचार्यले बताए । उनका अनुसार अभियानकै क्रममा भारतबाट ठोरीनाका हुँदै आएका दुई जनालाई बाँदरझुलाबाट पक्राउ गरी क्वारेन्टिनमा राखिएको छ । उनीहरु आफ्नो बच्चासहित माडी छिर्न लागेका थिए । लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि सीमामा थप कडाइ गरी यस्तो अभियान थालेको उनको भनाइ छ । सशस्त्र प्रहरी बलको माडी नगरपालिका–९ स्थित बाँदरझुलाको अस्थायी जाँचचौकीमा खटिएका सशस्त्र प्रहरी हवल्दार नारायण थारूको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । माडी–२ निवासी रहेका ती दुवैलाई यही असार ७ गते नियन्त्रणमा लिई क्वारेन्टिन पठाइएको थियो । यस्तै बाँदरझुला चौतारा चेकप्वाइन्टमा ड्युटी खटिएका सशस्त्र प्रहरी हवल्दार मानबहादुर भट्टराईको कमाण्डमा रहेको सात जनाको टोलीले भारतबाट ठोरीनाका हुँदै आएकी माडी–९ बस्ने २८ वर्षीया एक महिलालाई नियन्त्रणमा लिई बाँदरझुलाको स्वाथ्यचौकीमा राखिएको थियो । मङ्गलबारसम्म सशस्त्र प्रहरी चितवनले सीमानाका हुँदै प्रवेश गर्ने ३३ जनालाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राखिसकेको छ ।  रासस

रोशीमा ‘डम्फु जीवन्त सङ्ग्रहालय’ १० करोड लागतमा निर्माण हुँदै

काठमाडाैं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ कालढुङ्गामा डम्फु जीवन्त सङ्ग्रहालय निर्माण हुने भएको छ । तामाङ जातिको रीतिरिवाज र पहिचान झल्किने गरी निर्माण हुने सङ्ग्रहालयमा सांस्कृतिक बाजा डम्फुलाई पहिचानका रूपमा स्थापित गर्दै जीवन्त बनाइने बताइएको छ । रोशी सरकारको पहलमा वडा नं ११ कालढुङ्गामा बनाउनका लागि ६० रोपनी जग्गाको व्यवस्था गरी गुरुयोजनासमेत तयार गरिसकेको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । राष्ट्रिय योजना आयोगबाट बजेट स्वीकृत भएसँगै डम्फु जीवन्त सङ्ग्राहलय निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको उनले बताए । “त्यसका लागि डेढ करोड बजेट परेको छ”, उनले भने, “त्यससँगै गाउँपालिकाले पनि बजेटमा सम्बोधन गर्छ ।” सबै प्रक्रिया अगाडि बढिसकेकाले अब साउनभित्रमा बोलपत्र प्रक्रिया अगाडि बढ्ने उनले बताए । साठ्ठी रोपनी सार्वजनिक जग्गालाई व्यवस्थापन गरी निर्माण गरिने उक्त सङ्ग्रहालय नेपालकै नमूना सङ्ग्राहलय बन्ने अध्यक्ष लामाको भनाइ छ । सङ्ग्रहालय बनाउनका लागि गाउँपालिकाले जग्गा सम्याउने, माटो परीक्षण गर्ने र गुरुयोजना तयार गर्ने काम सम्पन्न गरिसकेकाले अब उक्त स्थानमा संरचना निर्माणको काम अघि बढ्नेछ । सङ्ग्रहालयसँगै डम्फु पार्क निर्माण हुने र वरिपरि बुद्धचित्त मालाको बिरुवा, टटलाको फूल रोपेर सङ्ग्रहालयका लागि आवश्यक पर्ने अन्य विविध संरचना निर्माण गर्ने पालिकाको योजना छ । तामाङ समुदायको बाहुल्य रहेको रोशी गाउँपालिकामा सो समुदायको कला, वेशभूषा, संस्कृति र पहिचानको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । डम्फु तामाङ जातिको विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत जन्मदेखि मृत्युसम्मको कार्यमा प्रयोग हुने सांस्कृतिक बाजा भएकाले सङ्ग्रहालयको नामकरण नै डुम्फु जीवन्त सङ्ग्रहालय राखिएको अध्यक्ष लामाले बताए । करिब  १० करोड लागतमा आर्थिक वर्ष २०७७/७८ भित्र सम्पन्न गर्ने गरी भइरहेको सङ्ग्रहालय निर्माणले पर्यटन प्रवद्र्धनसमेत हुने गाउँपालिका अध्यक्ष लामाले बताए ।  रासस

मर्मतको माग गर्दै युवाद्वारा सडकमै धान रोपेर विरोध

राजविराज । भारदह–राजविराज सडक खण्डअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै युवाले मङ्गलबार सडकमै धान रोपेर विरोध जनाएका छन् । तोपा गाउँस्थित सडकखण्डमा उनीहरुले सडकमै धान रोपेर विरोध जनाएका हुन् । सोही वडाका युवा कौशल यादवले जीर्ण सडकका कारण वर्षामा हिलो र सुक्खा याममा धूलोले सास्ती हुने गरेको बताए । “सडक मर्मत सम्भारमा स्थानीय र सङ्घीय सरकारले लामो समयदेखि कुनै चासो नदिएपछि बाध्य भएर आफूहरुले सडकमै धान रोपाइँ गर्नुपरेको हो”, उनले भने । डेढ वर्षदेखि लथालिङ्ग सडकको अवस्थाप्रति सरकारको ध्यान नपुग्दा यो सडकमा कैयौँ पटक दुर्घटनासमेत हुने गरेको छ । आफूहरुलाई सडकमा रोपाइँ गर्नु रहर नभई बाध्यता नै बनेको कौशलले बताए ।  रासस