मेयरमाथि खुर्सानीको धुलो प्रहार

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनको क्रममा मेयर हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार भएको छ । मेयरलाई फालेको खुर्सानीको धुलो सुरक्षाकर्मी र कर्मचारीलाई परेको थियो । मेयरलाई खुर्सानीको धुलो प्रहार गर्ने असन्तुष्ट जनप्रतिनिधिले नगरसभामा नाराबाजी गर्दै करिब ५० वटा कुर्सी पनि फुटाएको छायानाथ रारा नगरपालिका सूचना तथा संचार प्रविधि अधिकृत तिर्थराज शाही बताए । बुधबार गमगढीमा आयोजना गरिएको कार्यक्रममा नगरकार्यपालिकाका असन्तुष्ट सदस्यले नाराबाजी गर्दै मञ्चतर्फ खुर्सानीको धुलो फालेका थिए । खुर्सानी प्रहार गर्ने कार्यपालिका सदस्यलाई जिल्ला प्रहरी मुगुुले नियन्त्रणमा लिइएको छ ।

चट्याङ लागेर ४ जनाको मृत्यु

सप्तरी । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले सप्तकोशी नदीमा आज बिहान नुहाउन जाँदा कोशी पुल नजिक चट्याङ लागेर महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव मृत्यु भएको जानकारी दिए । यसैगरी खेतमा धान रोप्न गएको बेला चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका बेल्ही चपेनका ४५ वर्षीय केसी साहको आज नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । राजगढ गाउँपालिका बेल्ही चपेनामा आफनो आँगंनमा काम गरिरहेको अवस्थामा १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छिन् । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस

यात्रु ओसारपसार नगर्न यातायात व्यवसायी महासंघकाे आग्रह

काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेको आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । “सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासङ्घले घोर भत्र्सना गर्दछ,” जारी विज्ञप्तीमा भनिएको छ । महासङ्घले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोभिड–१९ को जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ । विज्ञप्तिमा सार्वजनिक सवारी साधनले मनोमानी ढङ्गले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको संभावित जोखिमको जिम्मेवारी महासङ्घले नलिने समेत जनाइएको छ ।   रासस