स्वास्थ्य सामग्री किन्न नर्वेमा रहेका नेपालीले गरे आर्थिक सहयोग

डाेटी । नर्वेमा बसोबास गर्दै आएका नेपालीले जिल्लाका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गरेका छन् । जिल्लामा रहेका नागरिकलाई क्वारेन्टाइनदेखि अन्य स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा सहयोग पुर्याउन उनीहरुले २ लाख ३० हजार रूपैयाँ रकम सङ्कलन गरी उपलब्ध गराएका हुन् । जिल्लाको केआइसिंह गाउँपालिका–५ केदारगाउँका स्थानीयवासी तथा नेपाली काँग्रेस जनसम्पर्क समिति नर्वेका सभापति जीतेन्द्र शाहीको पहलमा उक्त रकम सङ्कलन गरी जिल्लामा पठाइएको हो । ‘स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग’ अभियानमा नर्वेमा बसोबास गर्दै आएका नागरिकले स्वःस्फूर्तरूपमा प्रदान गरेको रकम डोटी जिल्लामा पठाइएको शाहीले बताए । उनले भने, “जिल्लामा स्वास्थ्य सामग्री किन्न समस्या भएको खबर हामीले पायौं, सबै साथीको सहयोगमा रकम सङ्कलन गरी पठाएका छौं, आशा छ हाम्रो सहयोगले केही सहज हुने छ ।” नर्वेबाट प्राप्त उक्त सहयोगले जिल्लामा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा समस्या भएका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । केआइसिंह गाउँपालिका, शिखर नगरपालिकाको वडा नं १ र २ तथा सायल गाउँपालिका–२ को क्वारेन्टिनमा बसेका व्यक्तिलाई स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । भारतबाट दैनिक हजारौंको सङ्ख्यामा नपाली स्वदेश फर्किन थालेपछि स्थानीय सरकारलाई स्वास्थ्यदेखि क्वारेन्टाइन व्यवस्थापन गर्न निकै कठिन भएको अवस्थामा प्राप्त सहयोगले निकै सहज भएको सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले बताए । नर्वेबाट आएको आर्थिक सहयोगले यहाँका क्वारेन्टानमा बसेका व्यक्तिलाई सर्जिकल मास्क, नुहाउने र लुगा धुने साबुनलगायतका सामग्री खरिद गरी हस्तान्तरण गर्न लागिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए ।   रासस

सुनको मूल्य फेरि बढ्यो

काठमाडौँ । सुनचाँदीको मूल्य फेरि बढेको छ । सुन प्रतितोला ७ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ७ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय ६० रुपियाँ र चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपियाँ निर्धारण गरिएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ४० रुपियाँमा किनबेच भएको थियो ।

सुदूरपश्चिममा कोभिड-१९ का कारण ६ जनाको मृत्यु

धनगढी । कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । कोभिड—१९ को सङ्क्रमणका कारण यसअघि बाजुराका दुई र कैलालीका तीन जनाको मृत्यु भएको थियो । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा १ सय १६, वीर अस्पतालमा गरिएको परीक्षणमा छ जना, शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६२ जना र सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा ३० गरी जम्मा २ सय १४ मा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । नयाँ थपिएका प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या २ हजार ७६ पुगेको छ । जसमा ४ सय २४ महिला र बाँकी पुरुष रहेका छन् । शनिबार मात्रै कैलालीमा २६ कञ्चनपुरमा तीन, अछाममा १९, बाजुरामा ६३, बैतडीमा २७, डडेलधुराम सात, डोटीमा ६१ बझाङमा आठ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो । जिल्लागत रुपमा हालसम्म कैलालीमा ५ सय ७७ जना, अछाममा १ सय ३३, बैतडीमा २ सय ३१, बझाङमा ७२, बाजुरामा १ सय ९१, डडेलधुरामा २ सय २६, दार्चुलामा १६, डोटीमा ३ सय २३, र कञ्चनपुरमा ३ सय ७ जना कोभिड–१९ का सङ्क्रमित पुगेका छन् । जाँचकोे अवस्थाः प्रदेशमा आरडिटी र पीसीआर पद्धतिबाट गरेर जम्मा १ लाख २५ हजार २ सय ९३ को नमूना जाँच गरिसकिएको छ । आरडीटी जाँचको तुलनामा प्रभावकारी मानिएको पीसीआर जाँच १६ हजार ९ सय ३५ जनामा गरिएकोमा २ हजार ७६ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको हो । चार हजार १ सय ७४ जनाको नतिजा आउन बाँकी छ । यस्तै आरडीटी पद्धतिबाट १ लाख ८ हजार ३५८ को स्वास्थ्य जाँच गरिएको छ । प्रदेशको एक मात्र प्रयोगशाला सेती प्रादेशिक अस्पताल धनगढीमा आवश्यक स्वास्थ्य सामग्रीका साथै जनशक्तिको अप्रयाप्तता र मेसिनको क्षमता कमजोर भएका कारण शङ्कास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबको नमूना समयमै जाँच गर्न नसकी थन्किने गरेका छन् । सङ्कलन भएको स्वाबको नमूना जाँचका लागि अन्य प्रयोगशालामा पनि पठाउने गरिएको छ । सङ्क्रमितहरुको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेशन उपचार भइरहेको छ । अस्पतालको आइसोलेशनमा रहेकाहरु १ सय ३५ जना रहेकोमा अधिकांश सङ्क्रमित स्थानीय तहको आइसोलेशनमा छन् । यस बाहेक कोरोनाका शङ्कास्पद थप १६ जनालाई अस्पतालको आइसोलेशनमा राखिएको छ । प्रदेशमा हाल सम्म ५ सय ९४ सामान्य उपचारपछि घर फर्किएको जनाइएको छ । स्वाब नमूना जाँचको दायरा बढाउन प्रदेशको डोटी र बैतडीमा एकरएक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम पीसीआर मेसिन खरिद प्रक्रिया सकिएर सम्झौता हुने चरणमा पुगेको जनाइएको छ । स्वाथ्य महाशाखा प्रमुख कार्कीले पछिल्लो पटक क्वारेन्टिनमा बसेकाको आरडीटी किटमार्फत मेलेरिया रोगको जाँच गर्ने काम पनि भइरहेको छ । पछिल्ला महिनामा प्रदेशमा मलेरिया, कालाजार र डेंगू जस्ता सङ्क्रमक रोग देखिन थालेको जनाइएको छ ।  रासस