एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिबारे पुन विचार हुँदै
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ड नेपाल (एमसीए नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा रहेकाे छ । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) को महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुन विचार आवश्यक देखिएको छ । २०७७ असार १६ मा कम्प्याक्टको कार्यान्वयन थालनी हुन नसक्ने हाम्रासामु देखापरेको अवस्था छ । एमसिए नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मिति प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडी बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पक्षसँग क्रियाशील रहेको छ । नेपाल कम्प्याक्टका सन्दर्भमा आमसञ्चार माध्यमले राख्दै आएको अभिरुचिप्रति सर्मपित भई यसको कार्यान्वयनप्रति पूर्ण प्रतिवद्धता व्यक्त गरेका छन् ।
विपद् व्यवस्थापन गर्न स्थानीय स्रोतको परिचालन गर्नुपर्ने माग
लम्की । विपद् व्यवस्थापन र जैविक विविधता संरक्षणमा टीकापुर नगरपालिकाले स्थानीय स्रोतको परिचालन गर्नुपर्ने सरोकारवालाको सुझाव छ । सरोकारवालाले विपद्को जोखिमबाट बच्न व्यवस्थित, दीर्घकालीन योजना बनाएर विकाससँगै पर्यटन र समृद्धिको लागि काम गर्नुपर्ने माग गरेका छन् । जनतासँग मेयर–उपमेयर कार्यक्रममा स्थानीयले विपद्को सामना गर्न स्थानीयस्तरमा रहेका स्रोतको परिचालन गर्न नगरपालिकाले नीति बनाएर अघि बढ्नुपर्ने माग गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरका सभापति जगदीश्वर पण्डितले विपद्का बेला आइपर्ने समस्याको सामना गर्न नगरपालिकाको विपद् व्यवस्थापन कोषको रकम सदुपयोग गर्नुपर्ने बताए । “नगरपालिकामा रहेको विपद् व्यवस्थापन कोषको रकम स्थानीय स्रोत प्रयोगमा खर्चिनुपर्छ”, पण्डितले भने, “स्थानीयस्तरमा नागरिकलाई विपद्को पूर्वतयारीमा रहनका लागि तालिम दिने, सुरक्षित रहने उपाय र उद्धारका लागि सिकाउन आवश्यक छ ।” विपद्को बेला दैनिक उपभोग्य सामानको अभाव हुने, महँगोमा किन्नुपर्र्ने र अभाव हुने समस्या झेल्नुपरेकाले नगरपालिकालाई आवश्यक सामग्री खरिद गरी भण्डारण गर्न पण्डितले सुझाव दिए । कैलालीको टीकापुर क्षेत्र हरेक वर्ष बाढीका कारण डुबान र कटानमा पर्छ । बर्सात शुरु भएपछि यहाँका नागरिकमा बाढीको त्रास शुरु भइसकेको छ । कैलालीको टीकापुर र भजनी नगरपालिकामा बर्सेनि सयौँ बिघा जमीन बाढीले कटान गर्दछ भने सयौं परिवारको बाढी आएमा सडकमा बास हुने गर्दछ । यस वर्ष टीकापुर–८ श्रीलङ्कामा कर्णाली नदीले चैतदेखि नै कटान शुरु गरेको छ । नदीले ३ सय मिटर बढी बस्ती कटान गरिसकेको छ । “नदीले जमीन कटान बढाएको छ । नदी कटान यस्तै रहे यस वर्ष बस्ती डुबान हुने डर छ”, स्थानीय झपट बुढाले भने, “स्थानीय पालिकाले दीर्घकालीनसँगै स्थानीय बासिन्दालाई स्थानीयस्तरमै पाइने स्रोत प्रयोग गरी बाढीबाट बच्न तयार गर्नुपर्छ ।” उहाँका अनुसार बाढी आइहाले उद्धार तथा राहतका लागि सोही ठाउँका नागरिकलाई सक्षम बनाउन आवश्यक छ । सामुदायिक वन उपभोक्ता महासङ्घका नगर अध्यक्ष श्याम खत्रीले सामुदायिक वनलाई विपद्को बेला मानवीयहितमा सदुपयोग गर्न आग्रह गरे । डल्फिन संरक्षण केन्द्र बैदीका अध्यक्ष भोजराज ढुङ्गानाले विपद्को सामाना र विकासका लागि पर्यापर्यटनको विकासमा जोड दिनुपर्ने बताए । “वातावरण संरक्षण नहुँदा पनि विपद्को सामना गर्नुपरेको छ”, ढुङ्गानाले भने, “वातावरण संरक्षणका लागि टीकापुर नगरपालिकाले जलचर, थलचर प्राणीको संरक्षणमा जोड दिनुपर्छ । नगरकै योजनामा पर्यटकीय क्षेत्र विकासका लागि सीपलाई उपयोगितामा बदल्नतर्फ ध्यान दिनुपर्छ ।” विपद् व्यवस्थापन समितिका संयोजक तथा टीकापुर–६ का वडाध्यक्ष बलिराम चौधरीले विपद् व्यवस्थापन कोषको रकम अहिले कोरोना नियन्त्रणमा केन्द्रित भएको बताए । उनले विपद्को प्रकृतिअनुसार पीडितलाई राहत उपलब्ध गराउने कार्य, जोखिमको आँकलन, जोखिम भएका ठाउँमा उद्धारका सामग्री व्यवस्थापनजस्ता कार्य भइरहेका बताए । नगरपालिकाका उपप्रमुख केशरी विष्ट रावलले विपद्को सामना गर्न वडा तथा नगरस्तरीय विपद् समिति निर्माण गरिएको बताए । “ती समितिलाई प्रशिक्षण, पूर्वतयारीका बारेमा जानकारीलगायत आपत्कालीन अवस्थामा सहयोग गरिरहेका छौँ”, विष्टले भने, “आगामी दिनमा नगरपालिका कार्यविधि बनाएर अघि बढ्नेछ ।” नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले विपद् व्यवस्थापनमा सामुदायिक वनलाई प्रयोग गर्ने बताए । “नगरपालिकाले वन वातावरण तथा जैविक विविधता संरक्षण गर्नका लागि ऐन बनाइरहेको छ”, नगरप्रमुख रावलले भने, “टीकापुर विपद्को जोखिममा रहेकाले वृक्षरोपण, सुरक्षित उच्च घर निर्माण, विकास र पर्यटनका लागि नगरको ध्यानाकर्षण भएको छ । गुरुयोजना बनाएर अघि बढ्ने तयारीमा छौं ।” रासस
संसद् सेवा दिवस : सभामुख र अध्यक्षबाट शुभकामना
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा आज सम्पूर्ण नेपालीमा बधाई र शुभकामना व्यक्त गरे । उक्त दिवसका अवसरमा लोकतान्त्रिक परिपाटीको स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धा अर्पण गर्दै सङ्घर्षका क्रममा घाइते तथा अङ्गभङ्ग भएका योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन् । नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै २०१६ असार १६ गते संसद्को पहिलो बैठक प्रारम्भ भएको थियो । उक्त दिनको स्मरणस्वरूप हरेक वर्ष असार १६ गते संसद् दिवस मनाइँदै आएको छ । जनताका प्रतिनिधिमार्फत शासन सञ्चालन गरिने सर्वोच्चतम शासन व्यवस्थाका रूपमाा संसदीय शासन प्रणालीलाई लिने गरिन्छ । उनले भने, “राज्य पुनःसंरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाई जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी छ ।” कोभिड–१९ महामारीले सिर्जना गरेको विषम परिस्थितिमा पनि सङ्घीय संसद्का बैठकहरु सञ्चालन भइरहेको बताउँदै उनले महामारीकै कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरिएको स्पष्ट गरे । आवधिक निर्वाचनबाट स्थापित हुने संसद् र संसदीय शासन प्रणालीमा अभ्यस्त राजनीतिले वास्तविकरूपमा जनाकांक्षाअनुरूप कार्य गर्न सक्छ भन्ने मान्यता रहिआएको छ । संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए । विगतको सशस्त्र र शान्तिपूर्ण आन्दोलन तथा विभिन्न समयमा भएका परिवर्तन र सुधारका परिणामस्वरुप जनताले चुनेका प्रतिनिधिले संविधानसभामार्फत संविधान निर्माण भई कार्यान्वयनमा आएको घटनाको उनले स्मरण गराए । उनले सम्पूर्ण सङ्घीय सदस्य, संविधानसभा सदस्य, पूर्वसदस्य र राष्ट्रसेवक कर्मचारीलगायत सम्पूर्ण नागरिकमा संसद् सेवा दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गराएका हुन् । रासस