वायुसेवा निगम पर्यटन विकासमा महत्वपूर्ण आधार

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ६२ वर्षमा प्रवेश गरेको छ । विसं २०१५ असार १७ ९सन् १९५८ जुलाई १० अर्थात् आजैका दिन शाही नेपाल वायुसेवा निगमको नामबाट निगमको स्थापना भएको थियो । उक्त दिनको सम्झनामा निगमले हरेक वर्ष जुलाई १ तारिखका दिन निगमको स्थापना दिवस मनाउँदै आएको छ । नेपाल वायुसेवा ऐन, २०१९ द्वारा स्थापित निगम वायुसेवा मात्र नभई नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण आधार पनि हो । आफ्नो स्थापनादेखि अविछिन्नरूपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यमा व्यावसायिक दायित्व निर्वाहको गर्विलो इतिहास कायम गरेको निगम नेपालको पर्यटन प्रवद्र्धनको आधिकारिक संवाहक हो । निगमको योगदान विदेशी मुद्रा आर्जन गर्ने मात्र नभई रोजजारी सिर्जना गर्दै मुलुकलाई सर्वाङ्गीण विकासमा सकारात्मक भूमिका निर्वाह गरिरहेको निगमले उल्लेख गरेको छ । सरकारी स्वामित्वमा सञ्चालित निगमले सामाजिक न्यायमा आधारित भएर सरकारको अनौपचारिक कूटनीतिक दूतका रूपमा समेत अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई सघन बनाउने कार्यमा लागिपरेको छ । हाल कोभिड–१९ महामारीबाट सिर्जित विश्वव्यापी सङ्कटको अवस्थामा विभिन्न मुलुकबाट अलपत्र नेपाली स्वदेश फर्काउने कार्यमा निगमले उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ । बन्दाबन्दीमा नेपाली एयरलाइन्सका तर्फबाट सर्वाधिक चार्टर्ड उडान गरेको निगमले यो अवधिमा ५८ भन्दा बढी उडान गरेको छ । चीनका विभिन्न शहरबाट नौ कार्गो उडान गरेको छ । कोभिडको महामारी पहिलोपटक देखिएको चीनको वुहानमा रहेका नेपालीको उद्धार गरी स्वदेश फर्काउनेदेखि सरकारसँगको समन्वयमा स्वास्थ्य सामग्री ढुवानी गर्न कार्गो चार्टर्ड उडान गरेको छ । निगमले अष्ट्रेलियामा रहेका नेपालीको उद्धारका निम्ति आफ्नो उडान इतिहासकै अधिकतम लामो दूरीको ऐतिहासिक १२ देखि १३ घण्टा लामो उडान गरेको थियो । यसै अवधिमा निगमले आफ्नो उपस्थिति नभएका थप १४ गन्तव्यमा चार्टर्ड उडान गरेको छ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका ब्राजिल, अष्ट्रेलिया, माल्दिभ्स, हङकङ र जापानलगायतका नागरिकलाई सम्बन्धित दूतावासको समन्वयमा उद्धार गरी २८ भन्दा बढी उडानमार्फत सम्बन्धित मुलुक फर्काइएको निगमले जनाएको छ । अहिले निगमले विभिन्न २५ मुलुकमा रहेका नेपालीको उद्धार गर्न सहुलियतपूर्ण रूपमा चार्टर्ड उडान सञ्चालन गरिरहेको छ । निगमले हाल भारतका तीनसहित नौ गन्तव्यमा उडान भर्दै आएको छ । सन् १९६० मा अमेरिकी सहायताअन्तर्गत तीनवटा डिसी–३ डकोटा विमानबाट सेवा प्रारम्भ गरेको निगमले आफ्नो ६२ वर्षे उडान इतिहासमा पछिल्लोपटक सन् २०१८ मा दुई वाइडबडी ए–३३० जहाजमार्फत सेवा दिइरहेको छ । निगमले सन् २०१५ मा दुई न्यारोबडी ए–३२० जहाज भित्र्याएको थियो । चीनका विभिन्न शहरसहित अन्य लामा गन्तव्यमा व्यावसायिक उडान भर्ने प्रयोजनका निम्ति निगमले आवश्यक तयारी गरिरहेको छ ।  रासस

जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

तनहुँ । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो । १३ र १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद्दामा १८ वर्ष कैद, ५० हजार जरिवाना तथा अर्को मुद्दामा १२ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको हो । यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका दुई कसुर गरेकाले एकीकृत फैसलाअनुसार निजलाई २४ वर्ष कैद र ७५ हजार जरिवानाको फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार विदुर उपाध्यायले जानकारी दिए । पोखरा घर भएका दुई युवतीलाई अभियुक्तले तनहुँमा ल्याई जबर्जस्ती करणी गरेको अभियोगमा परिवारले कास्की प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । घटनास्थल तनहुँ भएकाले निजविरुद्ध तनहुँ जिल्ला अदालतबाट मुद्दा चलाइएको प्रहरीले जनाएको छ । यसैगरी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी बालविवाह गरेको अभियोगमा जिल्ला अदालत तनहुँले अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले मुख्य अभियुक्त बन्दीपुर गाउँपालिका–१ का नवीन अर्जेललाई दुई वर्ष छ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला गरेको हो । साथै मुख्य अभियुक्त अर्जेलबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति दिलाइने आदेश भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार उपाध्यायले जानकारी दिए । सोही अभियोगमा बन्दीपुर गाउँपालिका–१ बस्ने सुकुमाया अर्जेललाई तीन महिना कैद र रु तीन हजार जरिवाना, व्यास नगरपालिका–१२ बस्ने सन्तोष सुनारलाई तीन महिना कैद र ३ हजार रूपैयाँ जरिवाना र सोही ठाउँ बस्ने सविना सुनारलाई ३ महिना कैद र ३ हजार रूपैयाँ जरिवानाको फैसला भएको छ । चार जनाविरुद्ध विसं २०७६ जेठ ६ गते जबर्जस्ती करणी र बालविवाह मुद्दामा अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सात पटक पेशी सरेको थियो ।  रासस

शिशुलाई जङ्गलमा फाल्ने युवायुवती पक्राउ

गलकाेट । यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए । युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि पक्राउ गरिएको भण्डारीले बताए । उनीहरुको पहिलेदेखिनै अवैध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए । बच्चाको अवस्था समान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।  रासस