चार महिनापछि पक्राउ परे सुन पसल चोरी गर्ने तीन जना

नवलपरासी । नवलपरासी(बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करिब चार महिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत फागुन १८ गते भएको चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल ललितपुुर महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने २४ वर्षीय अनुज लामा, सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका-३ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय तीर्थबहादुर रुम्बा र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-१२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ४० वर्षीय जीतबहादुर तामाङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व), इलाका प्रहरी कार्यालय गैँडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनास्थलमा अनुसन्धानका क्रममा देखिएका शंकास्पद मोबाइल नम्बर तथा जनशक्तिका माध्यमबाट चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । आरोपितले आफूहरुका भागमा १० देखि १२ तोलासम्म सुन परेको स्वीकार गरेको जनाइएको छ । सुन चोरीको मुद्दामा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि सबै कुरा खुल्ने रेग्मीले जानकारी दिए । पक्राउ परेकाविरुद्ध यही असार १४ गतेदेखि लागू हुने गरी डाँका चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । अभियुक्तका साथबाट सुनका विभिन्न गरगहना १२ तोला पाँच लाल, चोरीमा प्रयोग भएका विभिन्न कम्पनीका ६ थान मोबाइल, फोरिएको अवस्थामा सेफ लकर, प्रदेश ३-०२-०१४ नम्बरको नयाँ स्कुटर-ठेला रिक्सा एक थान र खैरो रङको कपडाको पाइन्ट एकएक थान बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै सेफ फोर्नका लागि गल, घन, टेष्टर, सलाई रेञ्ची, सानो नीलो बाल्टी र ग्यास रेगुलेटरसहितको अक्सिजन सिलिण्डर एकएक थान, छिनो २ र सुन राख्न प्रयोग गरिने ट्रे ६ थान बरामद भएको बताइएको छ । घटनाको मुख्य योजनाकारदेखि अन्य केही व्यक्ति पक्राउ गर्न बाँकी नै रहेको र उनीहरुको खोजी जारी रहेको जनाइएको छ । घटनाको अनुसन्धानमा केही समय लागे पनि अब नजिक पुगेको र अन्य पनि चाँडै पक्राउ हुने उनको भनाइ छ । पूर्वपश्चिम राजमार्ग नजीकै रहेको सुनचाँदी पसल फोरेर सो दिन राति तयारी सुनका गरगहना ६९ तोला पाँच लालसहित सुन र चाँदीका तयारी गरगहना गरी एक किलो तथा रु सात लाख राखिएको सेफ लकरसहित चोरी भएको थियो । रासस

प्रख्यात भारतिय कोरियोग्राफर सरोज खानको निधन

काठमाडौं । प्रख्यात भारतिय कोरियोग्राफर सरोज खानको शुक्रबार निधन भएको छ। दुई साता अघि अस्पताल भर्ना भएकी उनको शुक्रबार बिहान करिब २ बजे मुम्बईको गुरु नानक हस्पिटलमा मृत्यु भएको बताईएकाे छ । ७१ वर्षीया खान मुटुको समस्याबाट पीडित थिइन्। यसका साथै उनी मधुमेहकाे बिरामी पनि थिईन् ।

एमसीसीको विरुद्धमा उत्रिए अपाङ्गता भएका युवा

काठमाडाैं । अपाङ्गता भएका युवाहरू एमसीसीकाे विरुद्दमा उत्रिएका छन् । उनीहरुले एमसीसीकाे विराेध गर्नकाे लागि एक समूह निर्माण गरी यसकाे विराेधमा उत्रिएका हुन् । एमसीसी नेपालकाे हितमा नभएकाे भन्दै उनीहरुले एक विज्ञप्ती पनि जारी गरेका छन् । एमसीसी नेपालको हितमा नभएको भन्दै यसलाई यथास्थितिमा पारित गर्न नहुने पक्षमा आवाज उठाएका छन् । युवाहरुले विभिन्न ‌‍‍औपचारित तथा अनाैपचारिक कार्यक्रम गरेर एमसीसीकाे विराेध पनि गरिरहेका छन् । उक्त अभियानका संयोजक तथा सामाजिक अभियन्ता अर्जुन रावलले एमसीसी नेपालको हितमा नभएको भन्दै भेलामा यसका केही राष्ट्रघाती बुँदाहरू संशोधन नभएसम्म पारित गर्न नहुने बताएका छन् । उनीहरुले एमसीसीमा उल्लेख भएका केही बुँदाहरु अस्पष्ट भएकोले त्यसको स्पष्टता र संशोधन नहुँदासम्म एमसीसी पास गर्नु नेपालको लागि उचित नहुने जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।