सर्लाहीका नेकपा अध्यक्ष पन्तलाई कोरोना संक्रमण
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले बुधबार एक विज्ञप्ती जी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन् । उनले विज्ञप्तीमा भनेका छन्,‘३/४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो, शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोभिड पोजेटिभ देखियो ।’ हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको उल्लेख गरेका छन् ।
सुन व्यवसायी भन्छन्ः मूल्य बढ्दै गयो, कारोवार शून्य भयो
काठाडाैं । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक हजार ६०० ले बढेर रु एक लाख एक हजार चारमा पुगेको छ । तीज, गौरा दशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोवारको मौसम भए पनि यस पटक भने यहाँ कारोवार शून्य रहेको कञ्चनपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष उमेश सुनुवारले बताए । “यस्तै अवस्थामा मूल्य बढ्दै जाने हो भने सुनचाँदी व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आउने सम्भावना छ ।” कञ्चनपुरमा १६० जना सुनचाँदी व्यवसायी रहेको बताउँदै उनले यहाँ सुन खरिदभन्दा पनि बिक्रीका लागि स्थानीय आइरहेको बताए । “लकडाउन शुरु भएसँगै मूल्य बढ्दै जाँदा कारोवार घटेर गएको हो ।” उनले भने, “काठमाडौँभन्दा यहाँ सुनको मूल्य रु एक हजार २०० ले बढी हुन्छ ।” यहाँ लामो समयदेखि मौलिक गहना नेपाली कारीगढले बनाउँदै आएका छन् भने आधुनिक गरगहना भारतीय कारीगढले बनाउँदै आएका छन् ।
३० हजार चलचित्रकर्मी बेरोजगार, २०० भन्दा बढी फिल्म हल पूर्णरूपमा बन्द
काठमाडाैं । कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले देशभरका ३० हजार चलचित्रकर्मी बेरोजगार भएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले झण्डै पाँच महिना लामो बन्दाबन्दी गरेसँगै चलचित्र निर्माण, प्रदर्शन र वितरण नहुँदा ठूलो सङ्ख्यामा चलचित्रकर्मी बेरोजगार बन्न पुगेका हुन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण थला परेको चलचित्र उद्योग भर्खरै उठ्न खोजेको अवस्थामा कोरोना सङ्क्रमणका कारण बन्द भएपछि अहिले सबै ‘फिल्म हल’ बन्द हुँदा हजारौँ कामदार बेरोजगार भएका छन् । नेपालभर हाल २०० भन्दा बढी ‘फिल्म हल’ सञ्चालनमा रहेका छन् । कोरोनाको जोखिम बढिरहेको अवस्थामा सरकारले बढी भीडभाड हुने क्षेत्र तत्काल नखोल्ने निर्णय गरेर चलचित्र उद्योगलाई अति प्रभावित उद्योगका रुपमा राखे पनि कहिलेदेखि चलचित्र शुरु गर्ने भन्ने अन्योल रहेको छ । चलचित्र क्षेत्रसँगै सरकारले पर्यटन, यातायात, हवाई तथा पर्यटकीय यातायात, वैदेशिक रोजगार सेवा प्रदायकलाई अति प्रभावित क्षेत्रका रुपमा घोषणा गरेको छ । चैतदेखि जेठसम्मको तीन महिनामा झण्डै २५ फिल्म निर्माण पूरा गरी सञ्चालन गर्ने तयारी भए पनि लकडाउनका कारण उक्त फिल्म सञ्चालन हुन पाएनन् । नेपालमा विसं २०७५ मा ९५ र विसं २०७६ मा ५५ फिल्म सञ्चालनमा आएका थिए । नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी रु एक अर्बभन्दा बढी लगानी भएको फिल्म उद्योग कोरोनाका कारण प्रभावित भएको बताउछन् । “फिल्म निर्माताले बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकम ऋण लिएर फिल्म निर्माण गरे पनि फिल्म सञ्चालन नहुँदा समस्या परेको छ”, उनले भने । कोरोनाका कारण प्रभावित बनेको चलचित्र उद्योगलाई पूर्ववत् अवस्थामा फर्काउन नेपाल चलचित्र निर्माता सङ्घले फिल्म उत्पादनमा लाग्ने खर्चको २० प्रतिशत लगानी सरकारलाई गर्न आग्रह गरेको छ । “करोडौँ रकम खर्च गरेर बनाएको फिल्म नचले पनि सरकारले २० प्रतिशत लगानी ग्यारेन्टी गरिदिएको खण्डमा चलचित्र निर्मातालाई केही भए पनि राहत पुग्नेछ”, अध्यक्ष अधिकारी भने। नेपालमा अहिले एउटा फिल्म निर्माण गर्न रु ८० लाखदेखि रु दुई करोड ५० लाखसम्म खर्च हुने सङ्घले जनाएको छ । सङ्घका अनुसार हाल २५ फिल्म निर्माण सम्पन्न भएर सञ्चालनका क्रममा रहेको, १२ फिल्म निर्माणको अन्तिम चरणमा रहेको र २० फिल्म छायाङ्कनको शुरुको अवस्थामा छन् । चलचित्र निर्माता सङ्घले बन्दाबन्दीपछि चलचित्र उद्योगलाई चलायमान बनाउन राजनीतिक दलका शीर्ष नेतासहित सरोकारवाला निकायसँग भेटघाट तथा परामर्शसमेत गरेको छ । नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले चलचित्र उद्योगको ५० प्रतिशत माग पूरा गरेको अध्यक्ष अधिकारीको भनाइ छ । मौद्रिक नीतिले पुर्नकर्जाको सीमालाई फराकिलो बनाउँदा साना, मझौला र ठूला उद्योग लाभान्वित हुनुका साथै कर्जा लिँदा लाग्ने सेवा शुल्क घटाउनु सकारात्मक कुरा रहेको उनको भनाइ छ । कोरोना सङ्क्रमण विस्तार घट्दै गएमा सरकारले विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको स्वास्थ्य निर्देशिकालाई आत्मसात् गरेर सामाजिक दूरी कायम राख्दै सुरक्षित तरिकाले फिल्म सञ्चालनको वातावरण बनाउनुपर्ने सङ्घको भनाइ छ ।