कोरोना रोकथाममा डोटीका स्थानीय तहद्धारा ११ करोड खर्च, छानबिन गर्न स्थानियकाे माग

डोटी । जिल्लाका नौवटा स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारमा रु ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ । उक्त रकम राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको यहाँका स्थानीय तहले जनाएका छन् । जिल्लामा सबैभन्दा बढी कोरोना सङ्क्रमितको सङ्ख्या शिखर नगरपालिकामा रहेका छन् । जिल्लाका नौवटै स्थानीय तहमध्ये सबैभन्दा बढी शिखर नगरपालिकाले रु एक करोड ८६ लाख ४६४ खर्च गरेको पाइएको छ । त्यसैगरी कोरोना सङ्क्रमण रोकथाम तथा उपचारमा सबैभन्दा कम जोरायल गाउँपालिकाले खर्च गरेको पाइएको छ । उक्त गाउँपालिकाले रु ७० लाख खर्च गरेको पाइएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकाले रु एक करोड ७७ लाख, दिपायल सिलगढी नगरपालिकाले रु एक करोड ५१ लाख ३० हजार १६३, बोगटान फुड्सिल गाउँपालिकाले रु एक करोड २५ लाख र पूर्वीचौकी गाउँपालिकाले रु एक करोड २७ लाख खर्च गरेको पाइएको छ । सायल गाउँपालिकाले रु एक करोड ६२ लाख, केआइसिंह गाउँपालिकाले रु ९८ लाख ९४ हजार, बडिकेदार गाउँपालिकाले रु ८५ लाख खर्च गरेको पाइएको छ । कोभिड–१९ को महामारी रोकथाम तथा उपचारका विषयमा भइरहेको खर्चमा स्थानीय तहले अनियमितता गरेको कुरा जनस्तरबाट आइरहेको भए पनि जनप्रतिनिधि पारदर्शीरुपमा कम रकम खर्च गरेको दाबी गरिरहेका छन् । सङ्क्रमित तथा भारतबाट रोजगारी गरी जिल्ला फर्किएका स्थानीयवासीले क्वारेन्टिनमा कुनै प्रकारको सेवा सुविधा नपाएको गुनासो गरी रहेको अवस्थामा यहाँका स्थानीय तहले यति ठूलो रकम खर्च भएको देखाउनु नै गलत भएको दिपायल सिलगढी नगरपालिका–३ का स्थानीयवासी तथा काँग्रेस नेता घनश्याम पाठकले बताए । उनले भने, “क्वारेन्टिको सेवा सुविधाको अवस्था र कोरोना नियन्त्रणको अवस्थाका बारेमा हामीले पनि बुझेका छौँ, करोडौँ रकम खर्च भयो भनेर देखाउनु गलत हो, छानबिन हुनुपर्छ ।” स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो व्यक्तिगत स्वार्थका लागि यति ठूलो रकम खर्च गरेको उनको आरोप छ । स्थानीय तहले खर्च भएको विवरण पेस गरेअनुसार क्वारेन्टिनदेखि अन्य क्षेत्रमा खर्च नभएको भारतबाट रोजगारी गरी १४ दिन क्वारेन्टिन बसेर घर फर्किएका जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीका स्थानीयवासी दीर्घबहादुर बोगटीले बताए । उनले भने, “हाम्रो नगरपालिकाले कोरोना नियन्त्रणमा करोडौँ रकम खर्च भएको देखाएको छाैँ, म क्वारेन्टिन बसेर आएको व्यक्ति हुँ, खाना पकाउने ग्याँस त हामी आफैँले किनेर बालेका हाैँ कहाँ भयो तेत्रो खर्च, सबै विवरण झुटो हो ।” बजेट अभाव भए पनि कोरोना सङ्क्रमण रोकथाम तथा उपचार गर्नमा जिल्लाका सबै स्थानीय तह सफल भएको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “सीमित बजेटका बाबजुत पनि सबै स्थानीय तह मिलेर कोरोना महामारीको सामना गर्न सफल भएका छौँ, बजेटमा कसैले गलत गरेको छैन खर्च भएको विवरण नै पेश भएको मलाई लाग्छ, सबैको चित्त बुझान कस्ले सक्छ र ?” उता सुदूरपश्चिम प्रदेश सरकारले पनि कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि रु ३६ करोड ४८ लाख ७० हजार खर्च गरेको विवरण सार्वजनिक गरेको छ । जाखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष (स्थापना तथा सञ्चालन) निर्देशिका २०७६’ अनुसार उक्त रकम खर्च गरिएको प्रदेश सरकारले जनाएको छ । उक्त कोषमा जम्मा भएको रु ४२ करोड ५५ लाख ४९ हजार ४६० मध्ये उक्त रकम प्रदेशका नौवटै जिल्लाका विभिन्न स्थानमा कोरोना अस्पताल स्थापना, ल्याब सञ्चलन, विभिन्न उपकरण खरिद तथा स्थानीय तहलाई राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको प्रदेश सरकारले जनाएको छ । कोषमा रु छ लाख ६७ हजार बाँकी रहेको प्रदेश सरकारले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँका नौवटै जिल्लाका ८८ वटा स्थानीय तहलाई रु १५ करोड २६ लाख वितरण गरिएको तथा नौवटा जिल्ला प्रशासनलाई रु पाँच लाखका दरले ४५ लाख वितरण गरिएको जनाइएको छ । रासस

स्क्रब टाइफसबाट बैतडीमा एक बालिकाको मुत्यु

बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो । स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पु¥याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताए । मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन् । उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पु¥याएका थिए । रासस

समुदायमा कोरोना देखिएपछि तनहुँको देवघाट गाउँपालिका १ साता सिल

दमौली । तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले एक हप्ताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । “सङ्क्रमित धार्मिक व्यक्तित्व हुनुहुन्छ । धेरै जनासँग सम्पर्कमा रहेको पाइयो, स्थिति भयावह आउने आँकलन गरेर सिल गर्ने निर्णय गरिएको हो”, थापाले भने । थापाका अनुसार एक साता गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द हुने भएको छ । सङ्क्रमित व्यक्तिले मङ्गलबारसम्म पनि विभिन्न व्यक्तिसँग भेटघाट गरेको पाइएको छ । उनको सम्पर्कमा आएका ४३ जनाको बुधबार स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणको लागि भरतपुर पठाइएको छ । अर्का सङ्क्रमित ३० वर्षीय पुरुष काठमाडौँमा सरकारी जागिरे थिए । आफू कार्यरत कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनी होमक्वारेन्टिनमा बसेका थिए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले कन्ट्याक्ट ट्रेसिङ गरेर थप व्यक्तिको स्वाब सङ्कलन आइतबार गरिने जानकारी दिए । भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा पनि मङ्गलबार दुई जना समुदायस्तरका व्यक्तिलाई कोरोना पुष्टि भएको थियो । भानु नगरपालिकाले मङ्गलबारदेखि नै एक साताका लागि नगरक्षेत्र सिल गरिसकेको छ । यसैगरी देवघाट क्षेत्र विकास समितिका अध्यक्षलाई कोरोना पुष्टि भएपछि क्षेत्र विकास समितिको कार्यालय आजदेखि बन्द गरिएको छ । समितिले बुधबार सूचना निकालेर भदौ ४ गतेसम्म समितिको नियमित कार्य सञ्चालन बन्द गर्ने जानकारी गराएको छ । समितिका अध्यक्षलाई कोरोना पुष्टि भएपछि समितिका पदाधिकारी एवं कर्मचारी उच्च जोखिममा रहेको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले समितिको कार्यालय बन्द गरिएको समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए । अत्यावश्यक सेवाअन्तर्गत दाहसंस्कार व्यवस्थापन कार्य र देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा प्रदान गरिने सेवा भने यथावतरुपमा सञ्चालन हुने घिमिरेले जानकारी दिए ।