केपी ओलीलाई बिदा गरौं भन्दै बाबुराम भट्टराईले दिए यस्ता ५ सुझाव
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर धकेलिएको बताएका छन् । भट्टराईले लोकतान्त्रिक ढंगले संकटमोचन गर्न ५ बुंदे सुझाव पनि दिएका छन् । उनले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गरेका छन् । त्यस्तै उनले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गरी नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री छनाेट गर्ने र अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउने प्रस्ताव गरेका हुन् । यसका साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान पनि प्रस्ताव उनले गरेका छन्। श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले साढे ११ वर्ष कैद छुट दिएपछि चर्को उनले साे ट्वीट गरेका छन् ।
उपत्यकामा बढ्यो खानेपानीको उत्पादन र वितरण
काठमाडाैं । वर्षासँगै काठमाडौं उपत्यकामा पानीको उत्पादन बढेको छ । अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ । पानीको उत्पादन बढेसँगै वितरण पनि बढाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । सुख्खा मौसममा उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन हुन्छ । त्यतिबेला नौ दिनकोे अन्तरालमा पानी वितरण हुने गरेकामा अहिले तीनदेखि चार दिनको अन्तरालमा पानी वितरण भइरहेको छ । केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भने, ‘असोजपछि पानीको उत्पादन कम हुँदा हामी वितरण पनि कम गर्छौं ।’ केयुकेएलले उपत्यकाका विभिन्न स्रोतका पानी सङ्कलन गरेर वितरण गर्दै आएको छ । उपत्यकाका स्रोतबाट मात्रै पानी पर्याप्त नहुँदा उपत्यकामा सँधै पानीको हाहाकार भइरहेको छ । दुई दशकभन्दा लामो समयदेखि निर्माणाधीन मेलम्ची खानेपानी आयोजनालाई काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानका उपायका रुपमा हेरिएको थियो । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजनाको सुरुङ परीक्षण गर्दा भएको दुर्घटनापछि मेलम्चीको पानी आउन अझै ढिलाइ हुने देखिएको छ । लिमिटेडले विभिन्न स्थानमा डिप बोरिङ गर्ने र उपत्यका नजिकै स्रोतको समेत पहिचान गरिरहेको छ । उपत्यकामा दैनिक पानीको माग ४० करोड रहेको छ । उपभोक्ताले लिमिटेडले पूर्ति गर्न नसकेको पानी आकाशे पानी सङ्कलन गरेर र ट्याङ्करमार्फत खरिद गरेर प्रयोग गर्दै आएका छन् । रासस
श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई कुमारी बैंकको सहयोग
काठमाडौं । कुमारी बैंक लिमिटेडले पाल्पास्थित श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई जिन्सी सहयोग गरेको छ । यस कोभिड महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै, केही थान कम्प्युटर र ल्यापटप अनलाईन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ बैंकले विद्यालयलाई सहयोग गरेको छ । कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त समारोहबीच बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि मानार्थ रथी यादव बहादुर रायमाझीलाई हस्तान्तरण गरेका छन् । यस सहयोगको उद्देश्य दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमतावृद्धि र विकासमा टेवा पुर्याउनु रहेको बैंकले जनाएको छ । आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटिएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा अझै सेवामूलक तथा प्रभावकारी सेवा पुर्याउँदै जाने प्रतिवद्धता जनाएको छ ।