दमकका सबै अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द

दमक । दमकमा कोरोना सङ्क्रमण समुदायसम्म फैलिएको र कतिपय कोरोना सङ्क्रमित जाँचका लागि अस्पतालसम्म पुगेको पनि पत्तो पाएपछि यहाँ रहेका अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द गर्ने निर्णयमा पुगेका छन् । ओपिडी सेवामा भिडभाड रहने गरेको र त्यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै यहाँका अस्पतालसहित अन्य स्वास्थ्य संस्थाले ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । जिल्लाको मेचीनगरमा एक चिकित्सकमा केहि दिन अघि कोरोना सङ्क्रमण देखिएको थियो । यसअघि दमकको नीजि दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकजना सङ्क्रमित व्यक्ति उपचारमा आएको पत्तो पाएपछि उक्त हस्पिटलमा आवतजावतमा रोक लगाइएको छ । त्यसपछि दमकका एक जना सब्जी व्यापारी दमकस्थित एक अस्पतालमा उपचारका लागि गएको खुलेपछि अस्पताल पनि सिल हुने सम्भावना रहेको छ ।

आज रातिदेखि दमकमा एक हप्ता बन्दाबन्दी

दमक । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता बन्दाबन्दी हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत सङ्क्रमणको जोखिम बढेको भन्दै भदौ ६ गते राति १२ बजेसम्म पूर्ण बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बन्दाबन्दी अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने छन् । दूधका पसल दैनिक बिहान ६ बजे देखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिईन् । बन्दाबन्दीका क्रममा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफारीस लिनुपर्ने, मोटरसाइकल कुनै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताईन् । हिजो दमकमा एकैपटक सात जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । योसँगै दमकमा सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । सङ्क्रमित समुदायमा हेलमेल भएका र समुदायमा कोरोना सङ्क्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरुको कन्ट्र्याक ट्रेसिङ गरिने उपप्रमुख अधिकारीले बताईन् । यसअघि दमक उद्योग वाणिज्य सङ्घले पनि आज राति १२ बजेपछि अत्यआवश्यक बाहेक सबै प्रकारका पसल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो समय दमकसहित देशैभरि कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिँदै गएपछि झापा, दमकका व्यवसायीले जोखिम हुन नदिन भन्दै पसल आफैँ बन्द गर्न थालेका छन् । दमकमा समुदायमा कोरोना सङ्क्रमण देखिएसँगै यहाँका व्यवसायीले आफ्ना पसल, व्यवसाय स्वतःस्फूर्त बन्द गर्न थालेका हुन् । दमकको चौक आसपासका भिडभाड हुने स्थानका व्यापार तथा व्यवसाय सङ्क्रमण फैलिन नदिन भन्दै खनाल मार्केट पाँच दिनका लागि स्वतःस्फूर्त बन्द गर्ने निर्णय गरेका हुन् । रासस

पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा

चितवन । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार बैठकमा आज राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको बरालले बताए । उनले भने “कोरोनाको महामारी फैलिएको छ । अब निषेधाज्ञा जारी नगरे हिँडडुल रोक्न सकिएला जस्तो छैन ।” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पूर्वी चितवनका चारवटा नगरपालिकाले संयुक्त बैठक बसेर निषेधाज्ञाको अनुरोध गरेको बताए । यस संगै प्रशासनले आजै सूचना जारी गरि निषेधाज्ञा गर्ने भएको छ । त्यस्तै बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा समेत कोरोना परीक्षणको लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको वरालले जानकारी दिए ।