नवलपरासीमा भदौ ६ गतेसम्म निषेधाज्ञा

नवलपरासी । कोरोना सङ्क्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार र सामूहिक जमघट गर्न पाइने छैन । जिल्लामा कोरोना सङ्क्रमण क्रमशः बढ्दै गएको र थप सङ्क्रमित बढ्न सक्ने भएकाले जोखिमलाई दृष्टिगत गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । निषेधाज्ञाको अवधिभर सरकारी एवं बैंक तथा वित्तीय संस्थामा विद्युतीय सेवाबाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गरिएको जनाइएको छ । अनावश्यक रुपमा हिँड्डुल गर्नसमेत रोक लगाइएको छ । धार्मिक स्थलमा दैनिक पूजाबाहेक अन्य गतिविधि गर्न रोक लगाइएको छ । यता एउटा स्थानीय तहबाट अर्को स्थानीयमा अत्यावश्यक कामबाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्लास्थित बढी भीडभाड हुने सरकारी कार्यालयमा बढीभन्दा बढी अनलाइनमार्फत काम गर्ने र कमभन्दा कम जनशक्ति राखेर मात्रै काम गर्न कार्यालयलाई परामर्श गरिएको छ । यस जिल्लामा पछिल्लोपटक समुदायमा कोरोना सङ्क्रमण फैलिँदै गएपछि जोखिम ह्वात्तै बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १३० पुगेको छ । रासस

चितवनका पुष्पाञ्जली अस्पतालद्वारा कोरोना उपचार शुरु

चितवन । जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ । रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा गम्भीर समस्या भई सो अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार यही साउन २७ गते उपचारका लागि आएका उनको सघन उपचार कक्षमा उपचारका क्रममा स्वाब परीक्षण गर्दा साउन ३० गते कोभिड–१९ पोजिटिभ देखिएको थियो । अस्पतालका डा सन्दीप पाण्डेका अनुसार निजको हाल सघन उपचार कक्षमा नै स्थिर र गम्भीर अवस्थामा उपचार भइरहेको छ । मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन र हव अस्पताल भरतपुर अस्पतालसँग समन्वय गरी अस्पतालको सघन उपचार कक्षमा नै राखेर उपचारलाई निरन्तरता दिइएको उनले जानकारी दिए । यसका लागि सघन कक्षको व्यवस्थापन, चिकित्सकलगायत स्वास्थ्यकर्मीको क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापन अस्पतालले गरिसकेको समेत उनले जानकारी दिए । सघन कक्ष भिन्न भवनमा रहेकाले सोलाई सिल गरी अर्को भवनबाट अन्य सेवा उच्च सावधानीका साथ निरन्तरता दिइएको अस्पतालले जनाएको छ । अस्पतालमा अन्य सेवा लिन आउने बिरामीका लागि जोखिम नरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । जिल्लामा अन्य अस्पतालमा कोरोना सङ्क्रमण देखिएमा हव अस्पतालका रुपमा रहेको भरतपुर अस्पताल पठाइँदै आएको थियो । जटिल बिरामीलाई हतारमा सार्दा दुई जनाको मृत्युसमेत भएको थियो ।

पहिराका कारण अवरुद्ध त्रिभुवन राजपथ पुन: सञ्चालनमा

टिस्टुङ । पहिराका कारण अवरुद्ध त्रिभुवन राजपथ शुक्रबार साँझबाट पुनः सञ्चालनमा आएको छ । सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो खसेपछि एक जनाको मृत्यु हुनुको साथै एक्साभेटरसहित चार गाडी पुरिएका थिए । पहिरोले सडक अवरुद्ध भएको थियो ।