चितवनका सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण
चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए । साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए । नौ जनालाई ज्वरो आएकामा निको हुँदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उनले जानकारी दिए । बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ । दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो । राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताए । सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उनले जानकारी दिए । सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।
पोखरामा आज रातिदेखि निषेधाज्ञा
काठमाडाैं । कोरोनाको संक्रमण फैलिएकाे कारण पाेखरामा आज रातिदेखि निषेधाज्ञा लागू गरिने भएकाे छ । पोखरा महानगरले आज राति १२ बजदेखि भदाै ८ गतेसम्म लागु हुने गरी निषेधाज्ञा लागू गर्ने जनाएकाे छ । पोखरामा सोमबार बिहानसम्म २०४ कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म एक सय २७ जना निको भएर घर फर्किसकेका छन् । शनिबार र आइतबार मात्र पोखरामा ४९ जना संक्रमित थपिएका थिए ।
भरतपुर अस्पतालकाे आकस्मिक बाहेकका सेवा बन्द
चितवन । कोरोना उपचार गर्ने भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो । यस अस्पतालमा चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको थियो । कोरोना सङ्क्रमणका बिरामी पनि त्यही अनुपातमा उपचार भइरहेको थियो । अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आइतबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको जनाएको छ । अस्पतालले जनरल बहिरङ्ग सेवा बन्द गरी एकीकृत आकस्मिक सेवामार्फत बिरामीको उपचार गरिने सूचनामा उल्लेख छ । यस्तै सघन उपचार कक्ष र प्रसूति विभागमा पनि नयाँ सेवा बन्द गरिएको छ । त्यहाँ रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । यस्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीको सेवा यथावत रहने अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएको सो कक्ष शनिबार राति मात्रै खोलिएको थियो ।