बञ्चरे डाँडा ल्याण्डफिल साइडको काम दशैं अघि नै सकिने
काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने बताएका छन् । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरल बताएका हुन् । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशतकाम सम्पन्न भइसकेको बताए । कोरोनाका कारण जारी भएको लक डाउनका कारण समस्या देखिएपनि दशैअगाडी नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनले बताए । सिसडोल ल्याण्डफिल्ड साइड निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले बर्खाको समय र लकडाउनका कारण केही ढिला भएपनि अहिले काम तिव्र गतिमा अगाडी बढिरहेको बताए । उनले ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडी बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्नेगरी अगाडि बढिरहेको बताए । आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढिरहेको बताए । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्र्तिक पहिलो हप्ता सबै काम सम्पन्न गर्नेगरी अगाडी बढिरहेको उनले बताए । बन्चरे डाँडाँमा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि वर्षौसम्म फोहोर व्यवस्थापन गरिदा ल्याण्डफिल्ड साइड भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।
भोकले भौतारिएकालाई मिलिजुली फ्याम्लीले दियाे तातो भात र न्यानो कपडा
काठमाडाैं । मिलिजुली फ्याम्लीले हिमालयन बृद्राश्रममा निशुल्क खाना खुवाउने तथा लत्ताकपडा वितरण अभियान सुरु गरेकाे छ । लकडाउनले खाद्यान्नको अभाव भएर धेरै विपन्न नागरिक भोकभोकै परिरहेका बेला मिलिजुली फ्याम्लीले काठमाडौंमा उक्त अभियान शुरू गरेकाे हाे । लकडाउनका कारण दैनिक छाक टार्न नसक्नेहरुका लागि फ्याम्लीले निःशुल्क खाना तथा लत्ताकपडाको व्यवस्था मिलाएको हो । कोही पनि भोको र नाङ्गो नरहोस् भन्ने मान्यता राखेर काठमाडौंका विभिन्न ठाउँमा निशुल्क खानाको प्रवन्ध गरिएको अभियानकर्मी राजन कँडेलले बताउँछन् । ‘लक डाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय, वृदाश्रम तथा बिपन्न परिवारको पीडा र समस्यालाई आत्मसात गर्दै निशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको हो’, उनले भने । भात, दाल र तरकारी लगायतका परिकारसँग पेटभरि निशुल्क खाना खान पाएपछि दैनिक मजदुरी गरि गुजारा चलाउँदै आएकाहरु पनि दङ्ग छन् । यो समुह टिकटकमा निक्कै लोकप्रिय र सक्रिय रहँदै आएको छ ।
शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मनसुनी न्युनचापीय रेखाको प्रभावले देशको अधिकांश भू-भागमा वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताए । “यो क्रम शनिबारसम्म कायम रहन्छ, यो अवधिमा आकाश खुल्ला भई घाम लाग्ने सम्भावना छैन, राति र बिहानीपख वर्षा हुनेछ, दिउँसोको समयमा वर्षा रोकिए पनि बदली नै रहनेछ”, उनले भने । मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ भए पनि यस वर्ष ढिलो गरी मनसुन बाहिरिने मौसमविद्को भनाइ छ । हाल देशभर सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १९ दशमलव छ र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम १६ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३३ दशमलव छ डिग्री सेल्सियस रहेको छ । रासस