मलेसियामा नेपालीलाई बन्धक बनाएर लाखाैं रूपैयाँ असुल्ने व्यवसायी पक्राउ
काठमाडौं । मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर १६ लाख असुल गर्ने व्यवसायी डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्रराउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो । श्रेष्ठले मलेसियामा श्रीमतीसहितको सहयोगमा दाङका मध्म रैदासलाई बन्धक बनाएर नेपालमा रहेकी श्रीमतीसँग १६ लाख रूपैयाँ असुल गरेको पाइएको बताइएकाे हाे । ब्युरोको अनुसन्धानमा श्रेष्ठ, भुटान माईतीघर भएकी धनमाया श्रेष्ठ तथा श्याम नेपाली समेतले डेभिडको योजना बमोजिम मलेसियामा कार्यरत रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई पीडितकी श्रीमतीलाई फोन गरेर साठी हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरु दिई फिरौती बापतको पन्ध्र लाख बयानब्बे हजार रकम असुलेर अपहरण मुक्त गरेको खुलेको छ । उनीहरूले रैदासको राहदानी आफ्नो कब्जामा लिई पिडितलाई नेपाल आउन समेत नदिई बन्धक बनाइराखेको जाहेरी परेपछि ब्युरोले कारवाही थालेको केन्द्रीय अनुसन्धान ब्युरोले बताएकाे छ। ब्युरोले श्रेष्ठ नेपाल आएको मौकामा उनलाई पक्राउ गरेको हो । श्रेष्ठले मलेसियामा काम गर्न गएका गरिब सोझा नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने समेतको कुराहरु बुझिन आएको र अन्य व्यक्तिहरुलाई पीडित बनाएको हुनसक्ने भएकाले थपअनुसन्धान भइरहेको जनाएको छ । उनी मलेसियामै बार तथा रेष्टुराँ सञ्चालन गर्दै आएका थिए ।
रङ्गकर्मीको जीवन: नाटकमा मन, जीवन चलाउन जागिर
काठमाडाैं । सोचेजस्तो कहाँ हुन्छ र जीवन । हुन्थ्यो भने मान्छे दुःखी र विपन्न पनि त हुँदैनथ्यो । मनमा चाह हुदाँहुँदै जीवन चलाउन अनेक गर्नुपर्छ । मनमा लागेर मात्रै भएन जीवन धान्न चाहेभन्दा फरक वा कम चाहना भएको कर्म पनि गर्नुपर्छ । इलाम नगरपालिका–७ का सुरेश पोर्तेललाई अचेल यस्तै लाग्छ । सानै उमेरमा नाटकमा भिजेका सुरेशको मन अझै पनि त्यतै तानिन्छ । सडक नाटक र नाटकमा पात्र बनेर कल्पनामा रमाउँदाको मजै बेग्लै थियो तर रहरले मात्र कहाँ भयो र जीवन चलाउन त आदर्शभन्दा यथार्थ चाहिन्छ । यसैले अहिले सुरेश फाट्टफुट्ट मात्रै पर्दामा देखिन्छन् । मन त सुरेशको ठूलै रङ्गकर्मी बन्ने र सबैतिर चिनिने नै थियो र छ पनि तर नाटकले जीवन धान्न गाह्रो भएपछि अरूतिर समय दिएर नाटकमा विरलै देखिन्छन् सुरेश । नाटक खेल्ने मात्र होइन, कथा लेख्ने, पटकथा बनाउने र निर्देशन गर्ने तागत छ सुरेशमा । अहिलेसम्म करिब २०० नाटक खेलेका सुरेशले ५० जति त निर्देशन नै गरे । जीवन नै रङ्गमञ्च र रङ्गमञ्च नै जीवन देख्ने सुरेशले लेखेका र खेलेका केही नाटकले त राष्ट्रियस्तरमै राम्रै छाप छोडे । ‘डेब्यु’ नाटक नै हाइहाइ बन्दा सुरेशले १७ वर्षमा नाटकमा अभिनय गरे पनि नाटक खेल्ने इच्छा भने सानैदेखिको हो । अरूले अभिनय गरेको देखेर अभिनय गर्ने भूत चढेको थियो बालापनमै । आफ्नो रुचिको विषय त हो । आखिर छेक्न कसले पो सक्छ र ! सुरेश पनि नाटकमै पुगे र नाटक खेल्ने सपना पूरा गरेरै छाडे । सामाजिक नाटक ‘कथा मानवीरेको’ मञ्चन तयारीमा थियो । सुरेश त्यही नाटकबाट ‘डेब्यु’ गर्ने तरखरमा थिए । नाटक त बल्लतल्ल खेले तर प्रतिक्रिया कस्तो आउने टुङ्गो भएन तर नाटकको टिम नाटक सकेर बाहिर मात्र निस्किएको थियो । दर्शकले खुबै रुचाएको बुझियो । यही उत्प्रेरणाले सुरेशमा रङ्गमञ्चमा रहने रहर अझै प्रगाढ भयो । यही नाटक जिल्लाका विभिन्न क्षेत्रमा मञ्चन हुन पुग्यो । त्यही नाटकबाट अरू नाटकमा समेत खेल्ने अवसर मिल्यो उनलाई । चार वर्षदेखि मानवअधिकार मञ्च नेपाल इलामको चेतना नाट्य समूह संस्थाको नेतृत्व लिइरहेका छन् सुरेशले । नाटकको शीर्षकबाट छोराको नाम तीन वर्षअघि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल काठमाडौँबाट नाटक मञ्चन गर्ने नाट्य समूहलाई पत्र काट्यो । त्यत्तिकैमा नाट्य समूहले पनि नाटक पठाउने निधो गर्यो । यत्तिकैमा डा देवी क्षेत्री दुलालले लेखेको ‘म पहिलो सन्तान किसान जन्माउँछु’ शीर्षकको नाटक सोही संस्थामा पठाइयो । नभन्दै नाटक प्रदेशकै उत्कृष्टमध्येमा पर्दै मञ्चन गर्ने बाटो खुल्यो । सुरेशकै निर्देशनमा प्रदेश नंं १ मा मात्र होइन, सोही नाटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि मञ्चन भयो । “नाटकको शीर्षकनै किसानसम्बन्धी थियो । यता मेरो पनि बच्चा जन्मिने थियो”, सुरेशले हाँस्दै भने, “फागुनमा नाटक खेलियो । चैतमा छोरो जन्मियो । सबैले भनेपछि छोराको नाम नै किसान रह्यो ।” यति मात्र होइन, सुरेशसँग नाटकका स्मरणीय क्षण पनि छन् । नाटक खेल्दै दर्शकको मन जितेर कति दिन त नाटकमै खेलेरै बित्यो । नाटकमै जीवन खोज्दै सुरेशसहितको टिमले कुनै बेला महिनामा एउटा नाटक मञ्चन गर्नेसमेत कार्यक्रम अघि बढायो । सामाजिक विषयवस्तुमाथि नाटक देखाएर सकारात्मक भावना देखाउनका लागि उनीहरुले अभियानै चलाए नाटकबाट बाँच्न गाह्रो हुने देखेपछि कतिले क्षेत्रै त्याग गरे भने कतिले निरन्तरता दिन नसक्दा टिम जुट्न गाह्रो भयो । “नाटकबाटै जीवन धान्नचाहिँ हाम्रो ठाउँमा गाह्रो छ”, सरेशले भने, “हामीलाई सिकाउने गुरुहरु पनि पलायन भएको देखेर हामी पनि अन्यत्र लाग्यौँ । त्यसैले फाट्टफुट्ट मात्र नाटकमा देखिन बाध्य छौँ ।” जीवन धान्न जागिर एक किसिमले सुरेशलाई भाग्यमानी ठान्नुपर्छ । नाटकले देखाएको ठाउँबाटै उनले जागिर पाए । उच्च शिक्षा हासिल गर्दैदेखि उहनी मानवअधिकार मञ्च नेपालसँग नजिक थिए । त्यत्तिकैमा मञ्चले सुरेशलाई जागिर पनि दियो । सुरेशको मन नाटकतिर थियो तर जीवन धान्न जागिर खानुपर्ने भयो । “घरको एउटा छोरो बाहिर नाटक सिक्न जान पनि सकिनँ”, सुरेशले भने, “राजधानीबाटै पनि नाटकका लागि ‘अफर’ त आउँथ्यो तर घरायसी समस्याले जान सकिएन ।” पहिले मञ्चमा आबद्ध भएर जागिर र नाटक शुरु गरेका सुरेश केही समय जागिरकै लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा पनि आबद्ध भए । अहिले सुरेश मञ्चमै जागिरमा छन् । नाटकको भोक अझै नहटेकाले जागिरका साथै अझै पनि नाटकमै रहेका छन् । सत्ताइस वर्षमा उक्लिँदै गरेका सुरेश यति हुँदाहुँदै पनि नाटकमा जीवन छैन भन्नचाहिँ सक्दैनन् । नाटकका लागि पूर्वाधार अभाव भएकाले नाटक मञ्चन गाह्रो भएको सुरेशको दुखेसो छ । भौतिक संरचना भएकामा नाटकबाटै अभिनय मात्र होइन, रोजगारी पनि पाउन सक्ने सु्रेशको जिकिर छ । “एउटा नाट्य घर मात्र भए पनि नाटकबाट धेरै जना बाँच्न सकिन्छ”, सुरेशले भने, “सरकारी क्षेत्रबाट यसका लागि प्रयत्न भए, धेरै सहज हुन्थ्यो ।” रासस
एमएडब्लु फाउन्डेसनद्वारा ट्राफिक प्रहरीलाई फेससिल्ड र मास्क सहयोग
काठमाडौं । एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ । कोभिड १९ को महामारीबीच पनि ड्युटीमा खट्ने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी फाउन्डेसनले उक्त सहयाेग गरेकाे हाे । एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवाल तथा पूर्व एआईजी किरण गौतमले महानगरीय ट्राफिक प्रहरी महाशाखा, सिंहदरबारका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई फेससिल्ड र सर्जिकल मास्क हस्तान्तरण गरेका हुन् । ‘कोरानाको महामारीको समयमा पनि कर्तव्यपालनमा अहोरात्र खटिरहनु भएका ट्राफिक प्रहरी संगठनप्रति हामी गौरावान्वित छौं र त्यसैले उहाँहरुको लागि सानै भए पनि योगदान गर्ने चेष्टा गरेका छौं,’ फाउन्डेसनकी कार्यकारी निर्देशक अग्रवालले भने, ‘आशा छ, यसले कर्तव्य पालना गर्दा कोरोनासँग बच्न सहयोग पु¥याउनेछ ।’ वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक भिम प्रसाद ढकालले सहयोगका लागि फाउन्डेसनलाई धन्यवाद दिए । गत साता पनि एमएडब्लु फाउन्डेसनले थानकोटस्थित अरबिन्द योग मन्दिरमा बसोबास गर्ने बालबालिकाको खाद्यान्न र स्टेशनरीका लागि आर्थिक सहयोग गरेको थियो । सो आश्रमले नेपालका तीन शाखामा करिब दुई सय १० जना बालबालिकाको रेखदेख गर्नुका साथै शिक्षा दिइरहेको छ । एमएडब्लु फाउन्डेसन एमएडब्लु ग्रुपले गर्दै आएको सामाजिक कार्य बढावा दिने र व्यवस्थापन गर्ने उद्देश्यसहित स्थापना भएको सामाजिक संस्था हो । यसको उद्देश्य समुदायको हित र सर्वसाधारणको मुहारमा मुस्कान ल्याउनु हो । हाल फाउन्डेसनले समुदाय विकास, सिप विकास र सडक सुरक्षा गरी तीन क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।