जग्गाधनी पुर्जा नहुँदाकाे सास्तीः न बैंकबाट ऋण लिन पाइन्छ न त व्यवसाय गर्न नै

काठमाडाैं । वर्षाैंदेखि भोगचलन गर्दै आएको आफ्नो जग्गाको जग्गाधनी पुर्जा नहुँदा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को पहाडी क्षेत्रका बासिन्दाले आर्थिक गतिविधिबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन् । पुर्जा नहुँदा उद्योग व्यवसाय दर्ता गर्न, धितो राखेर ऋण लिन,जग्गा किनबेच गर्नलगायत वित्तीय गतिविधि नै गर्न नपाएको उनीहरु बताउँछन् । कोभिड–१९ को महामारीका कारण वैदेशिक रोजगार वा अन्यत्र जानुभन्दा आफ्नै गाउँमा कृषि, पशुपालन तथा अन्य उद्योग व्यवसाय गरेर स्वरोजगार बन्ने चाहना भए पनि नपाएको बर्दघाट–२ सुखौराका देवान गुरुङ बताउँछन् । गाउँमै उद्यम गर्न चाहे पनि पुर्जा बिना सम्भव नभएपछि अधिकांश युवा अहिले विभिन्न शहरमा मजदूरी गर्न बाध्य रहेको उनको भनाइ छ । सुनवल नगरपालिका–११ तथा बर्दघाट नगरपालिका–२ मा पर्ने पहाडी बस्ती (साविक धुर्काेट गाविस–६, ७ र ८ )मा स्थानीयवासी विगत ४४ वर्षदेखि भोगचलन र बसोबास गर्दै आए पनि जग्गाको पुर्जा पाउन सकेका छैनन् । “जग्गाधनी पुर्जा नभएकै कारण उद्योग व्यवसाय गर्न खोज्दा पनि दर्ता गर्न सकेका छैनौँ, गाउँका युवा मिलेर कृषि फार्म सञ्चालन गर्न खोज्यौँ, त्यो पनि पुर्जा अभावकै कारण रोकियो”, उनले भने , “आन्तरिक पर्यटकको पनि आकर्षण रहेको यस गाउँमा केही व्यवसायी रिर्साेट खोल्ने उद्देश्यले आउनुभयो, तर पुर्जा नभएकै कारण फिर्ता जानुभयो ।” तराईबाट छोटो दूरीमै पहाडको मनोरम दृश्य, चिसो हावापानी, रमणीय वातावरण भएकाले यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ । पछिल्लो पटक बन्दाबन्दी र निषेधाज्ञाका कारण घरमै बस्दा बहकिएको मन भुलाउन भन्दै यहाँ आउने र रमाउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढिरहेको स्थानीय बताउँछन् । लामो समयको प्रयासपछि यहाँको जग्गा नापनक्सा गर्न नापी कार्यालय परासीले गत वर्ष नापी टोली खटाए पनि डिभिजन वन कार्यालयले सहमति नदिएपछि नापी कार्य नै रोकिएको वडाध्यक्ष दया दर्लामीले बताए । आफ्नो वडाको यो सबैभन्दा ठूलो समस्या रहेको उनकाे भनाइ छ । उनका अनुसार जग्गाको स्वामित्व नहुँदा यस क्षेत्रका ५०० बढी घरधुरी वित्तीय कारोवारबाट वञ्चित हुनुपरेको छ । विसं २०३३ देखि नै स्थानीय बासिन्दाको पटक–पटकको प्रयासमा जग्गा नापी कार्य अघि बढे पनि पूरा नहुँदा समस्या भएको हो । विसं २०५४ मा नापी विभागका कर्मचारीले जग्गा नापी गर्दै संसारकोट पुगेकोमा तत्कालीन द्वन्द्वका कारणले असुरक्षा रहेको जनाउँदै फिर्ता गएका थिए । त्यसपछि जग्गा नापीको पहल नै भएको थिएन । सुखौरा, आम्बास, धुरकोटफेदी, बाँसखोला, पटुके, संसारकोट, पोखरीछापलगायतका गाउँका बासिन्दा जग्गाको स्वामित्वबाट वञ्चित छन् । उक्त बस्ती हाल नगरपालिकामा गाभिए पनि विकट मानिन्छ । विसं २०७० सम्म साविक धुरकोट गाविस हुँदा स्थानीयवासीले उक्त जग्गाको तिरो तिर्दै आएका थिए । यो जग्गा सुकुम्वासीअन्तर्गत नभई अव्यवस्थित जग्गा रहेको वडाध्यक्ष दर्लामीले बताए । बर्दघाट नगरपालिकाले समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ । रासस

काठमाडौं उपत्यकामा निषेधाज्ञा कहिलेसम्म हुन्छ ? निर्णय बुधबारमात्रै

काठमाडौं । हाल काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा कहिलेसम्म हुन्छ भन्ने विषयमा भोलि(बुधबार) मात्रै निर्णय हुने भएको छ । कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामको लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको अवधि बुधबार मध्यरातमा सकिँदै छ । यससँगै अब के हुन्छ भन्ने बारेमा भोलिमात्र निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताएका छन् । त्यस्तै, निषेधाज्ञा कसरी अघि बढाउने, स्वरुप परिर्वतन गर्ने वा यही रुपमा अघि बढाउने भन्नेबारे उपत्यका मेयर फोरमको बैठक बसिरहेको छ । यसविषयमा काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका भित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाई गर्नुपर्ने बताएका हुन् । सरकारले उपत्यका तीन वटै जिल्लामा गत भदौ ३ गतेदेखि निषेधाज्ञा गरेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै भदौ १७ गतेसम्म गरिने भनिएको उक्त निषेधाज्ञालाई लम्बयाएर हालसम्म जारी रहेको छ । सम्बन्धित समाचारः काठमाडौं उपत्यकामा निषेधाज्ञा कहिलेसम्म गर्ने ? यसो भन्छन् सीडीओहरू

रातो मत्स्येन्द्रनाथ यात्राको साइत जुर्यो, कहिले हाेला ?

काठमाडौं । रातो मत्स्योन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ ।सोमबार पाटन मंगलबाजर स्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबिच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मति लैजाने निर्णय भएको हो । ज्योतिस कृति किरण जोशिले २९ गते विहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेट भित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मुर्तिलाई अवतरण गराई बुङमति लैजाने निर्णय भएको बताए । यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मुर्तिलाई बुङमती पुर्याएको चारदिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उनले बताए । वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नु पर्ने रथ यात्रा यस वर्ष कोभिड १९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना रथ तान्नेका थिए । त्यस लगत्तै स्थानीय युवाहरु र प्रहरीबिच झडप समेत भएको थियो । युवाहरुले रथ राखिएको ठाउँबाट तानेर केही पर पुर्याएका थिए । त्यसपछि स्थानीय ज्यापु समाजले शुक्रबार क्षमा पूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे पाटी सम्म पुर्याएका थिए ।