कोरोना विजेता भन्छन्ः निको भइसक्दा पनि समाजले अझै स्वीकार्न सकेको छैन

धनगढी । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन् । सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा कोरोना ठीक भइसकेकालाई पनि पुनः देखिन सक्ने भएको भन्दै आफूहरू सामाजिक अपहेलनामा परेको कोरोना विजेताहरूको दुःखेसो छ । आफूहरु मात्र नभई नजिकका छिमेकी र आफन्तले समेत अपहेलित हुनु परेको बताउँछन् कैलालीको घोडाघोडी नगरपालिका-३ का एक कोरोना विजेता । “हामीलाई कोरोना छैन, हामीले कोरोना जितेका छौं तर समाजसँग हार्यौं, हाम्रा कारण वरपरका व्यक्तिलाई समेत समुदायमा अप्ठ्यारो भएको छ” उनले भने । उनी सुनाउँछन्, “मेरो छिमेकी सामुदायिक वनको समितिमा हुनुहुन्थ्यो, छलफल गर्दा उहाँलाई सधैँ बोलाउँथे तर अहिले मेरै कारण उहाँलाई बैठकमा बोलाउन छाडिएको छ ।” त्यस्तै घोडाघोडी नगरपालिका-३ कै अर्का कोरोना विजेताले प्रधानमन्त्री कृषि रोजगार कार्यक्रमअन्तर्गत काम गर्न जाने गरेका छिमेकीलाई आफ्नो घरमा आएको भन्दै काम गर्नबाट वञ्चित गरिएको गुनासो गरे । आफ्नो स्वास्थ्य अवस्था सामान्य भइसक्दा पनि अझै समाजले घृणा गरेको देख्दा उहाँलाई निकै पीडाबोध हुने गर्दछ । “हामी पूर्णरूपमा निको भैसकेका छौँ”, घोडाघोडी नगरपालिका-८ का कोरोना विजेताले भने “तर अझै पनि हाम्रो घर नजिक कोही आउँदैनन् ।” कोरोना जित्नु भएका घोडाघोडी नगरपालिका-१० का रमेश पाण्डे भन्छन्, “हामीलाई आफ्नै गाउँ समाजले त साथ दिँदैन भने अरू कोसँग सहयोगको अपेक्षा गर्ने ? एकअर्कालाई परेको खण्डमा काँधमा काँध मिलाउने हामी नेपालीको स्वाभिमान कहाँ गयो होला ? मर्दापर्दा एकजुट हुने नेपाली संस्कार कहाँ हरायो ?” कोरोना महामारीले सामाजिक सद्भाव र मानवतामा अनेक प्रश्न उब्जाएको उनको भनाइ छ । “भारतबाट आएका मान्छे भन्नेबित्तिकै घृणा गर्छन्, झन् आफू त सङ्क्रमित भइसकेकाले समाजले गरेको व्यवहार निकै पीडादायी रहेको बताउनुहुन्छ, घोडाघोडी नगरपालिका-६ का अर्का कोरोना विजेता । “अहिले त निको भइसक्यो तर अझै पनि हामीलाई सङ्क्रमित नै छ भन्ने दृष्टिले हेरिन्छ । शुरुमा आफूमा कुनै लक्षण थिएन, नगरपालिकाबाट सङ्क्रमित भयो भनेर खबर आउँदा पत्यार नै लागेन । सङ्क्रमित भएको सुन्नेबित्तिकै टाढा बसेँ तर अब निको भइसक्दा पनि समाजले अझै स्वीकार्न सकेको छैन”, उनी भन्छन् । सबै सखाप बनायो, सबैलाई रोग सारेर गयो भनेर अनेकौँ लाञ्छनायुक्त प्रहार समाजबाट खेपिरहनु परेको बताउँछन् घोडाघोडी नगरपालिका-११ का अर्का कोरोना विजेता । उनलाई सङ्क्रमित भएको पुष्टि हुनुअघि नै परिवारका सबै सदस्य क्वारेन्टिनमा थिए । सङ्क्रमित भएको पुष्टि हुनासाथ समाजले परिवारका सदस्यलार्ई हेर्ने नजर नै बदलिएको सुनाउनुहुन्छ उनी । उनी भन्छन्, “उनीहरूमाथि अपराधीको जस्तो व्यवहार गरियो ।” गाउँ समाजले रोग लिएर आयो, गाउँभरि सारेर गयो भनेर आरोप लगाए पनि कोरोना जितिसक्दा आफूले विशेष सतर्कता अपनाएको उनी बताउँछन् । आफूले पूर्ण स्वास्थ्य सतर्कता अपनाएकै कारण परिवार, आफन्त तथा सम्पर्कमा आएका कसैमा पनि सङ्क्रमण सर्न नपाएको उनको भनाइ छ । उनी भन्छन्, “हामी पनि रोग सर्न दिनुहुन्न भन्ने कुरामा सचेत छौँ तर त्यो रोगलाई पराजित गरिसक्दा पनि समाजमा स्थापित हुन निकै समस्या भइरहेको छ ।” रासस

अभिकर्ता बनेर जीवन बीमामा छिरेका ढुंगानाको अनुभवः बीमा गर्नुपर्छ भन्ने सोचेर सरकारी अधिकृत नै भागे

काठमाडौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका एजिएम हरिप्रसाद ढुंगाना २०६१ सालमा बीमा क्षेत्रमा प्रवेश गरे । उनले बीमा क्षेत्रमा अभिकर्ताको रुपमा प्रवेश गरेका हुन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा पसेका ढुंगानाले यो बीचमा विभिन्न कम्पनीमा काम गर्ने अवसर पाए । बीमा क्षेत्रमा प्रवेश गर्नुअघि उनी यो क्षेत्रप्रति त्यति सकारात्मक थिएनन् । काम गर्दै जाँदा यस क्षेत्रको महत्व बुझ्दै गए । ‘बाहिरबाट हेर्दा र भित्री रुपमा भने बीमा व्यवसाय फरक रहेछ, पहिला मेरो पनि यो क्षेत्रप्रति त्यति सकारात्मक धारणा थिएन, जब बीमा क्षेत्रमा पसेर काम गर्न थाले, अनि मात्रै यसको महत्व बुझें,’ उनले भने । अहिले उनी बीमा क्षेत्रमा भित्रिन चाहनेलाई खुलेर स्वागत गर्ने बताउँछन् । जबकि यो क्षेत्रमा प्रवेश गर्नुअघि बीमा भनेको नेटवर्किङ व्यवसाय जस्तो मात्रै लाग्थ्यो उनलाई । आफ्नो भ्रम पनि बीमा क्षेत्रमा प्रवेश गरेपछि मात्रै चिरिएको उनको भनाइ छ । अभिकर्ता भन्ने थाहा पाएपछि जब साथी नै भागे अझै पनि बीमा अभिकर्ताको बारेमा समाजमा त्यति सकारात्मक धारणा छैन । बीमाको आवश्यकता र औचित्य बारे आमरुपमा बुझाउन नसक्दा यस्तो धारणा बन्ने गरेको हो । अभिकर्ता हुँदा एजिएम ढुंगानालाई सरकारी सेवामा रहेका एकजना अधिकृत साथीले बोलाए । तर उक्त साथीले ढुंगाना अभिकर्ता हुन भन्ने सुइको पाउँने बित्तीकै भागेका थिए । उलाई यो घट्ना जीवनकै अविष्मरणीय घटना लाग्छ । तर यो कहानी यतिमा मात्रै सिमीति छैन । उनले उक्त साथीकै पछि बीमा गराएका छन् । सुरुमा ५ लाख रुपैयाँ बराबरको बीमांक भएको बीमा गर्न नमानेर भागेका साथी उनका तिनै साथी केही समयपछि २५ लाख रुपैयाँ बीमांक बराबरको बीमा गराउन तयार भएका थिए । यसलाई आफ्नो ठूलो सफलताको रुपमा लिन्छन् ढुंगाना । राम्रो बानी उनी हत्तपत्त रिसाउँदैन् । यही बानी उनलाई औधी मन पर्छ । आफ्नो शान्त स्वभावको धेरैले कदर समेत गर्ने गरेको उनको अनुभव छ । उनी आफ्ना विभिन्न बानी मध्ये नरिसाउँने बानीलाई सबैभन्दा उत्तम बानी भन्न चाहन्छन् । उनी अरु सबैको प्रगति होस्, भलो होस भन्ने सकारात्मक सोचका व्यक्ति भएका सहकर्मी तथा उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । नराम्रो बानी उनको अरुलाई चाँडै पत्याउने नराम्रो बानी छ । अरुलाई चाँडै पत्याउँदा असल मानिसको फेला पर्दा त केही हुन्न । तर खराबको फेला पर्यो धोका पाउँने सम्भावना प्रवल रहन्छ । यस्तो समस्या उनले बेलाबेला भोगेका पनि छन् । उनको स्थाई घर गण्डकी प्रदेशस्थित दमौलीको व्यास नगरपालिका हो । हाल उनी राजधानी काठमाडौंको शंखमुलमा बस्छन् । यसकारण जीवन बीमा अमूल्य छ जीवन बीमा गर्ने भनेको एउटा बचतको लागि हो भने अर्को भविष्यको सुरक्षा तथाका लागि । यो बालबच्चाको हकमा उच्च शिक्षाका लागि लाभदायी हुन्छ भने अरुलाई बुढेसकालको साहारा बन्छ । कोही अपांगतामा परे भने बीमाले साथ दिन्छ । जीवन बीमा हुने खानेदेखि हुँदा खानेसम्मको लागि जरुरी छ भन्ने उनको मान्यता छ । बीमा नबुझ्दा यसको महत्व थाहा नहुन सक्छ । तर, बिमित, बिमकलगायत सबैलाई फाइदा पुग्ने भएकोले बीमा सबैका लागि हो भन्ने उनलाई लाग्ने गरेको छ । स्कुल पढ्दादेखि नै सामाजिक सेवामा युनियन लाईफका एजिएम ढुंगाना विद्यालयस्तरदेखि नै सामाजिक काममा सक्रिय थिए । उनले गाउँकै स्कूलमा अध्ययन गरेका हुन् । त्यस बेलामा पूजापाठ हेर्न रातिराति जाने गरेको उनले बताएका छन् । स्कूलमा उनले धेरै काम गर्न रुचाउनेमा पर्छन् । उनले पढेको विद्यालयले उनलाई केही कुरामा सम्झिने गरेकोे छ । तनहुँको महेन्द्र ज्योति उच्चमाध्यमिक विद्यालयमा अध्ययन गरेका उनले ४ सयवटा विद्यालयका बीच आफ्नो नाम कायम हुने किसिमले सामाजिक सम्बन्ध बिस्तार गरेको दाबी गरेका छन् । उनी महेन्द्रज्योती उच्चमाध्यमिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष बन्ने अवसर पाएका थिए । उनले सो स्थानमा अभिकर्ता बनेर गरेको विगतका कामले अहिले सबैले सकारात्मक रुपमा सम्झिने गरेका छन् । अहिले उनी लायन्स, लियो, रोटरी, जेसिसलगायतका सामाजिक संघ संस्थामा संलग्न छन् । युनियन लाइफका २ चुनौति नयाँ कम्पनी भएपनि बजारमा आक्रामक रुपमा अघि बढेको युनियन लाइफ इन्स्योरेन्स अहिले केही परिसूचकमा समग्र जीवन बीमा बजारमा तेस्रो अवस्थामा पुगेको छ । पाएको अवसरलाई सदुपयोग गर्दै १ नम्बर बन्ने चुनौति सो कम्पनीको रहेको उनको बुझाइ छ । यस्तै, बजारीकरणमा ब्राण्ड बनाएको युनियन लाइफलाई आगामी दिनमा सो कुरा कायम राख्न पनि केही चुनौति रहेको एजिएम ढुंगाना बताउँछन् ।

वाइवाइ नेपाल स्टारको शनिबारबाट पुन: सुरु हुने

काठमाडाैं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको तेस्रो राउण्डको प्रसारण यही शनिबारबाट सुरु हुने भएको छ । दोस्रो राउण्ड षडजबाट छानिएका ४८ प्रतिस्पर्धीले यो तेस्रो राउण्ड ऋषभमा प्रवेश पाएका छन् । यही राउण्डबाटै प्रतिस्पर्धीहरुले लाइभ म्युजिकमा गाउँदै आफ्नो गायन क्षमता प्रदर्शन गर्नुपर्ने छ । जहाँबाट छानिंदै अगाडि बढ्नका लागि प्रतिस्पर्धीहरुलाई यहाँ पनि निर्णायकहरुको मार्ककै आवश्यकता पर्नेछ । तुलनात्मक रुपमा कम मार्क प्राप्त गर्ने प्रतिस्पर्धीहरुले भने यही राउण्डबाट बिदा लिएर घर फर्किनेछन् । यस अघि डिजिटल राउण्डका रुपमा प्रसारित षडज राउण्डमा देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जना सहभागी थिए । तिनै ११७ मध्येबाट छानिएका ४८ प्रतिस्पर्धीको बीच हुने गायन क्षमताको प्रतिस्पर्धा यो राउण्डमा हेर्न सकिनेछ । वाइवाइ नेपाल स्टारको प्रसारण सुरु भएसँगै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड -१९ को विषम परिस्थितिमा सिङ्गो कार्यक्रम निर्माण टोली, निर्णायक तथा प्रतिस्पर्धीहरुलाई एकजुट गराएर कार्यक्रम छायाङ्कन गर्न सम्भव नरहेकाले यो कार्यकमलाई पटक पटक लामो समयसम्म छायाङ्कन रोक्दै अगाडि बढाउनुपरेको थियो । अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायक तथा पर्दापछाडि काम गर्ने कार्यक्रम उत्पादक टीमको स्वास्थ्यको समेत ख्याल गर्दै सामाजिक दूरी र सबैको स्वास्थ्य सुरक्षाका सबै उपाय उच्चस्तरमा अपनाउँदै अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको बताउँछन् वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ । कार्यक्रमका निर्णायक छन् रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री । नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै वेबसाइट, युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ । यो कार्यक्रमका विजेता हुने प्रथमले पैंतीस लाख, दोस्रो, तेस्रो र चौथोले पाँच पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । । उत्कृष्ट ४८ मा परेका प्रतिस्पर्धीहरुमध्ये को जानेछन् अगाडि र कसको यात्रा यहीं टुङ्गिनेछ त्यो थाहा पाउनका लागि भने हेर्नै पर्ने हुन्छ ( यही शनिबार राती ८स्५० मा प्रसारण हुने वाइवाइ नेपाल स्टारको नयाँ एपिसोड ।