कोभिडका कारण समाजमा पारेका मनोसामाजिक प्रभावको न्युनीकरण गर्नुपर्नेमा जोड
काठमाडौं । युवाहरुको एक समूहले कोरोना भाइरस कोभिड-१९ ले समाजमा पारेका मनोवैज्ञानिक तथा सामाजिक प्रभावबारे सुक्ष्म अध्ययन अनुसन्धान गरी विश्लेषण गर्नुपर्नेमा जोड दिएका छन् । मुलुकमा निम्तिने अनेक समस्याको समाधानका लागि निश्वार्थ रुपमा सक्रिय हुने सोचका साथ गठित कम्पास (युवाहरुको समूह) ले कोभिडका कारण समाजमा पारेका मनोसामाजिक प्रभावको न्युनीकरण गर्नुपर्नेमा जोड दिए । यसैका लागि कम्पासले यस विषयमा विज्ञहरुसँग छलफल गर्ने भएको छ । असोज २४ गते शनिबार साँझ पाँच बजे बेभिनार गर्न लागेको हो । ‘साइको सोसियल इम्प्याक्ट अफ कोभिड १९ एण्ड कोपिंग विट इट’ विषयमा सरोकारवालाहरुसँग बेविनार अन्तर्क्रिया गर्न लागेको हो । यसका लागि कोभिड संक्रमित भई निको भइसकेको दुई जना विशिष्ट व्यक्तित्वहरु र एकजना मनोसामाजिक चिकित्सकसँग अन्तर्क्रिया गर्न लागेको हो । कार्यक्रम तालिका अनुसार पहिलो चरणमा बक्ताको रुपमा कोभिड संक्रमण भई निको भइसकेका डा. भोला रिजाल र सहप्राध्यापक डा रञ्जनकुमार दाहालले कोभिड संक्रमण हुँदा आफनो घरपरिवार, छरछिमेक, नातागोता, आफन्त, समग्र समाजले आफूहरुप्रति गरेको व्यवहार, हेराइको दृष्टिकोण आदिकोबारेमा आ-आफनो अनुभव सुनाउनेछन् । त्यसपछि उनीहरुको कुरा सुनेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका क्लिनिकल मनोचिकित्सक डा. सुरज शाक्यले विषयवस्तुमाथि पावर प्वाइन्टबाट प्रस्तुति दिनेछन् । कार्यक्रमको अन्तिम चरणमा सहभागीहरुसँग छलफल अन्तरक्रिया पनि गरिने जनाइएको छ । कार्यक्रमको मोडेरटोरको रुपमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक कमलराज गोसाई रहनेछन् । कार्यक्रमको मुख्य उद्देश्य नै कोरोनाका कारण समाजमा व्याप्त गलत मनोसामाजिक दृष्टिकोणलाई परिवर्तन गर्नु रहेको कार्यक्रम संयोजक कम्पासका कमलराज गोसाईले बताए । ‘यसबाट हामीले कोरोनासँंग लडनसक्ने मनोबैज्ञानिक शक्तिको विकास हुने अपेक्षा गरेका छौं’, गोर्साइले भने । कार्यक्रममा देशभरका डाक्टर, इन्जिनियर, व्यवस्थापक, नीतिनिर्माता, शिक्षक, कर्मचारी, विद्यार्थी सवै तह तप्काका बुद्धिजीवीहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ । भक्तपुरका युवाहरुको अगुवाइमा स्थापना गरिएको कम्पासमा सबै क्षेत्रका बुद्धिजीवीहरु संगठित भएको जनाइएको छ । हालको लागि पदविभाजन नगरिएको कम्पासमा देशैभरिका बुद्धिजीवीहरु रहेको बताइएको छ । कम्पासले भावी दिनमा पनि समसामाजिक विषयमा छलफल, अन्तरक्रिया गरी समस्या समाधान गर्नमा मद्धत गर्ने लक्ष्य लिएको छ ।
भोजपुर रङ्गशाला निर्माण ४० प्रतिशत सम्पन्न
मिरा राई स्टेडियमकाे डिपिआर भाेजपुर । प्रदेश सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माण ४० प्रतिशत सम्पन्न भएको छ । वर्षा तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले गति लिएको हो । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड पाँच लाख लागतमा गत मङ्सिर महिनाबाट रङ्गशालाको निर्माण शुरु भएको हो । विसं २०८० सम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी मार्सेली जेभीले जनाएको छ । कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, ‘‘लकडाउनमा चार महिना हामीले काम गर्न पाएनौँ, त्यसपछि हामीले तीव्र गतिमा सञ्चालन गरिरहेका छौँ । सरकारले समयमा बजेट पठाउन सक्यो भने चालु आवको असार महिनासम्म निर्माण पूरा गछौँ ।’’ हालसम्म कार्यालय भवन, फाउण्डेशन लगाउनेलगायत स्टक्चरको काम ६० प्रतिशत बढी सकिएको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । तेइस रोपनी क्षेत्रमा निर्माण भइरहेको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात प्याराफिड निर्माण हुने कार्यालयले जनाएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख मिलन आचर्यले भने, ‘‘निर्माण स्थलमा भइरहेको काम हेर्दा तीव्र गतिमा गुणस्तरीय ढङ्गबाट भइरहेको छ । ” अनुगमनको क्रममा ४० प्रतिशत बढी काम सकिएको पाइएको उनले बताए । कोभिडको कारण निर्माण कम्पनीलाई हालसम्म कुनै पनि भुक्तानी दिन नसकेको जानकारी दिए । ‘‘उहाँले काम निरन्तर गरिरहनुभएको छ, कोभिडको कारण हामीले हालसम्म कुनै पनि भुक्तानी दिएका छैनाैँ, तर पनि उहाँले काम निरन्तर गरिरहनुभएको छ, यो खुशीको कुरा हो, हामी पनि समय अगाडि नै सक्नको लागि उहाँलाई बजेट दिनेमा सकारात्मक छौँ’’, प्रमुख आचर्यले भने । कामलाई गुणस्तरीय बनाउनका लागि इञ्जिनीयरले नियमित रुपमा अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डअनुसार रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इञ्जिनीयर रजनिसकुमार झाले बताए । उनले भने, ‘‘हामीले कार्यालयको तर्फबाट नियमित अनुगमन गरिरहेका छौँ । निर्माण कार्य गुणस्तरीय तबरबाट तोकिएको मापदण्डअनुसार नै भएको छ, कामको गुणस्तरमा कुनै प्रश्न गर्ने ठाउँ छैन ।’’ रासस
नेपालमै पहिलो पटक बलिउड चलचित्र ‘खाली पीली’, डिशहोमको सिनेमाघरबाटै हेर्न सकिने
काठमाडौं । डिशहोमले नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको छ । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर अन्तराष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उदेश्यले डिशहोमले सिनेमाघर ईन्टरनेशनल ९९९ संचालनमा ल्याएकोे हो । असोज १६ गते रिलिज हुने चलचित्र “खाली पीली” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् । विश्वको विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यू सेवा नेपालमा नै पहिलो पटक डिशहोमले संचालन गरिरहेको छ । डिशहोमले पे पर भ्यू सेवा मार्फत न्युनतम मुल्यमा परिवार संग घरमा नै बसेर नयाँ नयाँ नेपाली सिनेमा हेर्न सकिने च्यानल नं. १०८ ,८८८ र ५५५ यस अघिनै सफलताका साथ संचालन गरिरहेको छ । दैनिक ८ शो सञ्चालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा चलचित्र “खाली पीली” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो क्यास आईडी अनि हेर्न चाहेको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।