दशैंको पहिलो दिन, यसरी राखियाे जमरा (फाेटाे फिचरसहित)
काठमाडौं । नवरात्रको पहिलो दिन आज घटस्थापना । घटस्थापनाको अवसरमा नेपालीहरुको घरघरमा दशैंको जमरा राखिएको छ । दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा हरेक नेपालीको घरघरमा जमरा राख्ने गरिन्छ । यहि अवसरमा काठमाडौंको बसन्तुरमा रहेको दशैंघरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै आज विहान ११ः ४६ को शुभसाइतमा जमरा राखिएको हो । कोभिडका कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जमरा राखिएको शार्दुल जंग गुल्मका गुल्मपति सेनानी विकाश शाक्यले बताए । विश्व नै कोभिडबाट प्रभावित भएपनि पूजालाई सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर निरन्तरता दिइएको उनले बताए । विहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाइको गोबरले लिपपोत गरिएको कोठामा वा दशैंघरमा जमरा रोप्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ । नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ ।
मास्क लगाएको जोगी र चामल
“अलऽऽऽऽख निरन्जन…।” एकछिन सुनसान । गेटबाहिरबाट आएको थियो त्यो आवाज । प्रत्येक दिनजसो बिहान सवेरै सुनिने यो आवाज पाँच महिनायता सुनिएको थिएन । त्यसैले घरभित्रका सबै आआफ्नै तालमा थिए । ट्याब समातेर अनलाईन कक्षा पढिरहेकी छोरीले गेटतिरकै कोठामा बसेर पनि यो आवाज सुनिन । पढाइमा अलि बढी नै ध्यान दिइछ कि ! भित्र भान्सामा भाँडासँग खेलीरहेकी श्रीमतीले त झनै सुन्ने कुरै आएन । श्रीमान् पनि टेलिभिजनमा अन्तर्वार्ता हेरिरहेको थियो, गेटतिरको आवाज उसको कानसम्म पुग्ने कुनै गुन्जायस थिएन । “अलऽऽऽऽख निरन्जन…।” यसपालि स्वर अलि चर्को थियो । सायद कोही बोलेको हो कि भन्ने सबैलाई लागेको हुनुपर्छ, तर कसैले ठम्याउन सकेनन् । गेटबाहिरैबाट चर्को स्वरमा बोलेको जोगीले पूर्ववत् मौनता प्रदर्शन गर्यो एकछिन । गेटभित्र नजर ओछ्यायो । ढोका भएतिर गहिरो गरी हेर्यो । आँखा तिर्मिराएछन् क्यार, एकपटक आँखा मिच्यो र बन्द रहेको जाली ढोकाबाट भित्रै नजर पुग्ने गरी निकै सचेततापूर्वक दृष्टि घुसार्यो । भित्र कुनै सजीव चित्र सल्बलाएझैँ लाग्यो उसलाई । आफैँमाथि विश्वास गर्न सकेन । अघिल्लो पटकभन्दा अझै गहिरोसँग आँखा गाड्यो र जाली ढोकाको आँखाभन्दा धेरै गुणा सानो जालीबाट भित्रसम्म सीधा हेराइ हेर्यो । अब भने मान्छेकै आकृति भएकोमा ऊ ढुक्क भयो । पहिले उसले गेट बजायो । गेटको फलामे आवाज भित्रसम्म पुग्यो । छिमेकसम्म पनि पुग्यो सायद । छिमेकीहरू पनि आफ्नै गेटको आवाज हो कि भनेर बाहिर बरन्डामा निस्केको देख्न सकिन्थ्यो । टङ्ग्रङ्ङ गेटको आवाज बजिसकेपछि फेरि फलाक्यो “अलऽऽऽऽख निरन्जन…।” यसपालि भने उसले अझै थप्यो –“जय शम्भो ऽऽऽ !” यो अर्को मन्त्र फलाकेपछि यो कुरा ठम्याउन निकै सजिलो भयो कि उसलाई शिवप्रति निकै श्रद्धा छ । अर्थात् बजारमा बग्रेल्ती भेटिने कैयौँ जोगीजस्तै ऊ पनि आफू शिवको दूतका रूपमा भिक्षा माग्न आएको कुरा मान्छेका मनमा पार्न चाहन्थ्यो । तल्लो तलाको जाली ढोकामै आँखा ओछ्याइरहेको उसको ध्यान अचानक भङ्ग भयो । माथिल्लो तलाको बरन्डाबाट एक अधबैँसे महिलाले बाजे लाउनुस् पैसा भनेर दस रुपैयाँको नोट कच्याककुचुक पारेर जोगी भएतिर मिल्काइदिइन् । गेटबाहिरै पुगोस् भनेर फालिएको त्यो नोट गेटभित्रै खस्यो । जोगीले मन नलाईनलाई गेट खोल्यो । अलिअलि भुटभुटाउँदै निहुरेर त्यो पैसा टिप्यो । कच्याककुचुक परेको पैसाको नोट खुत्रुक्क कमण्डलुभित्र हाल्यो । उसको भुटभुटाइ नजिकैबाट यस्तो सुनिन्थ्यो –“हैन, आज चामल कसैले नदिने रहेछन् कि क्या हो ? …” एक्लै यस्तै अनेक कुरा फतफताउँदै बिस्तारै गेटको पलेँटो खोल्यो; बाहिर निस्क्यो र गेट बन्द गर्यो । गत वर्षको एउटा घटनाले उसको मस्तिष्कमा फन्का मार्यो । अघिल्लो वर्ष यही ठाउँमा भिक्षाटनमा आउँदा एउटै घरबाट अगभग एक माना चामल भिक्षा पाएको थियो उसले । एक पाथी चामल बनाएर अर्को हप्तासम्म भिक्षा माग्न नहिँडौँला, किन बित्थैमा कोरोनाको जोखिम मोल्ने ? भन्ने सोचेर भिक्षा माग्न बिहानै निस्केको ऊ यतिबेला असाध्यै निराश भयो । अघिल्ला पाँच/छ घरमा पनि उसलाई कसैले चामल दिएन । जतिले दिए पैसै दिए । एउटा घरमा त ‘यस्तो कोरोनामा पनि जोगी आएकै छ …’ भन्ने आवाजमात्रै बाहिर निस्क्यो । जतिपटक भगवान् शिवको नामको मन्त्र जपे पनि काम लागेन । कचौरामा चामल वा हातमा पैसा लिएर कोही निस्केन । त्यही अगि निस्केको आवाजलाई नै भिक्षा स्वीकार गरेर जोगी अर्को घरतिर लागेको थियो । ‘शिवजीको श्राप लाग्छ भनेर पनि मान्छे डराउन छोड्यो, यो कोरोना त यमराजभन्दा पनि डरलाग्दो बनेर पो आयो गाँठे !’ मनमा यिनै कुरा खेलाउँदै जोगी अर्को घरको गेट ढकढक्याउन पुगिसकेको थियो । गेटको पलेँटो बन्द गर्ने बाटुलो फलामे डन्डी समातिरहँदा पनि उसले जाली ढोकाभित्र फेरि अन्तिम एकपटक नजर फ्याँक्यो । ‘भुइँतलाबाट कोही केही लिएर निस्कन्छ कि !’ उसको झिनो आश अझै मरेको थिएन । नमरेको आश जबरजस्ती आफ्नै गह्रौँ मनले थिचेर मार्यो र बिस्तारै अर्को घरतिर पाइला सार्यो । दस पाइला जति हिँडेपछि उसले अघि कमण्डलुमा राखेको दस रुपियाँको कच्याककुचुक परेको नोट हातले टिप्यो । दुवै हातले त्यसलाई खोल्यो र मिलायो । केहीबेर नोटलाई दुई हातको बिचमा राखेर रगड्यो । खुम्चिएको भाग अलि तन्कियो । नोट सामान्य अवस्थामा आएपछि उसले पर्स निकाल्यो र पर्समा राख्यो । अर्को घर अलि भित्र थियो । त्यहाँसम्म पुग्ने बाटाको दायाँतिर सानो चउर थियो । एकाबिहानै दुई चार जना केटाकेटी चउरमा खेलिरहेका थिए । खेलिरहेको भकुन्डो बाटानिर पुग्यो । एउटा चङ्खे लाग्ने एउटा फुच्चे केटो भकुन्डोका पछिपछि यसरी दगुर्यो कि मानौँ उसले भकुन्डोसँग दौड प्रतियोगिता गरिरहेको छ । बलको पछिपछि दौडिरहँदा केटाले बाटोमा हिँडिरहेको जोगीलाई देख्यो । “ओ केटा हो, हेरो त मास्क लाएको जोगी । ओहोई … मास्क लाएको जोगी … ।” फुच्चे चिच्यायो । उसको चिच्याइले खेलिरहेका सबै केटाकेटीको ध्यान बाटातिर तानिइहाल्यो । जोगीले मास्क लगाएको उसले पहिलोपटक देखेको थियो । पाँच/छ महिना अगाडि आउने कुनै पनि जोगीले मास्क लगाउँदैनथे । यो बिचमा कुनै पनि जोगी उसको घर वरिपरि आएका पनि थिएनन् । उसलाई असाध्यै नौलो लाग्यो । भित्रभित्र हाँस्दै जोगीलाई हेरिरह्यो । त्यो फुच्चेका साथीहरू पनि एकैछिनमा फुच्चेनजिकै आइपुगे । लामो समयपछि जोगी त्यो पनि मास्क लगाएर आएको देख्दा अरू बच्चाहरू पनि छक्क परे । सबै एकै ठाउँमा झुम्मिए र जोगीलाई एकोहोरो हेर्न थाले । जोगी उनीहरूको नजिकै आइपुग्यो । तिनीहरू एकआपसमा कानेखुसी गर्न थाले । जोगीले त्यो फुच्चेले चिच्याएर ‘मास्क लगाएको जोगी’ भनेको अगि नै सुनेको थियो । फुच्चेहरू भएको ठाउँमा आएपछि जोगीले मास्क मुखबाट निकाल्यो र एकपटक हाच्छ्युँ गर्यो । केटाकेटीहरू एकैचोटि “कोरोना … कोरोना…” भन्दै चिच्याएर त्यहाँबाट भागे र चउरतिर गए । तिनीहरू पूर्ववत् भकुन्डो खेल्न थाले । जोगी बिस्तारै अर्को घरतिर लाग्यो । एकैछिनमा पुग्यो पनि । “अलऽऽऽऽख निरन्जन … !” उसैगरी अलि कम उमेरकी महिलाले ढोकाबाटै पाँच रुपियाँको नोट फ्याँकेर भित्र पसिन् र उतिखेरै चुकुल लगाइन् । यो घरमा पनि चामल हात लागेन । जोगीलाई लाग्यो –मान्छेहरूले अब चामल जोगाएर राख्न थाले कि क्या हो ? पैसाभन्दा चामल (अन्न) मूल्यवान् लाग्न थाल्यो कि क्या हो ? यति सोच्दा नसोच्दै गत वर्षको एउटा घटनाले उसको मस्तिष्कमा फन्का मार्यो । अघिल्लो वर्ष यही ठाउँमा भिक्षाटनमा आउँदा एउटै घरबाट अगभग एक माना चामल भिक्षा पाएको थियो उसले । एक पाथी चामल बनाएर अर्को हप्तासम्म भिक्षा माग्न नहिँडौँला, किन बित्थैमा कोरोनाको जोखिम मोल्ने ? भन्ने सोचेर भिक्षा माग्न बिहानै निस्केको ऊ यतिबेला असाध्यै निराश भयो । यिनीहरूले दिएको पाँच रुपियाँ र दस रुपियाँ जोडेर एक पाथी चामल किन्ने पैसा जम्मा गर्दा त म दुई, तीन दिन भिक्षा माग्न हिँड्नुपर्छ भन्ने निष्कर्षमा पुग्यो ऊ, मनमनै । यस्तो सोचिरहँदा उसको अनुहार निकै थकित देखिन्थ्यो । यी कुरा सोचेर यो घरबाट फर्कँदा उसको हिँडाइको गति पनि निकै मत्थर भइसकेको प्रष्ट देखिन्थ्यो । ऊ लुरुलुरु उँधो मुन्टो लाएर हिँडिरहेथ्यो । निलो मास्कले उसरी नै जोगीको मुख ढाकिएको थियो । हिँड्दै हिँड्दै जोगी त्यही सानो चउरनजिक आइपुग्यो । खेलिरहेका केटाकेटी फेरि जहाँको तहीँ उभिएर जोगीलाई हेर्न थाले । जोगी भने आफ्नै रफ्तारमा हिँडिरह्यो । चउरतिरबाट भने उही फुच्चेको आवाज एकोहोरो आइरह्यो, “ओ मास्क लाएको जोगी … !” [email protected]
धन्य भगवान् !
एकाबिहानै, निद्राबाट ब्युँझाएर आमाले भन्नु भो बाबु उठ, भगवान्को पूजा गर । तर खै ! म नदेखिने भगवान्को पूजा कसरी गरूँ…..।। यहाँ हजारौँ भगवान्हरू सडकमा छट्पटाउँदै रोइरहेछन् भोक,शोक र रोगले तिनको दयनीय स्थिति हेर्दै भगवान् म तँलाई महल र मन्दिरको उच्च आशनमा सजाएर के चढाऊँ ।। नित्सेले भनेझै तँ मरेकै होस् मलाई लाग्छ । नत्र दुःखीका कुरा नसुनी किन निर्दयी बनेर चुप बस्थिस् ।। भो, म तेरा लागि अबोध प्राणी अर्पण गर्दिन सुन्दर घुम्टो ओढाएर पुष्प गुञ्छा वर्षाउँदिन मेरा सफलता र सुखका निम्ति तँलाई घुस खुवाउँदिन ।। थाहा छ, मलाई अन्योलमा बाँच्न झैँ तँलाई पनि धेरै गाह्रो छ भगवान् बन्न दुःखी देख्छु तँलाई आजकल किनकि, तँ भन्न सक्दैनस् तिम्रा सफलताका निम्ति मलाई नपुकार रगतले नपोत नधुँवाऊ भनेर ।। पीडामा सम्झन्छन् पोख्छन् दुःख र पीडाहरू तँ स्थिर मूर्ति वा चित्र टुलुटुलु हेरी रहन्छस् अनि सुनी रहन्छस् कहिलेसम्म ? अब भनिदे सत्ययुगमा जसरी जनका मन रुवाएर मेरा पछि नलाग धर्मको अपव्याख्या गरी पण्डित्याइँ नगर नबस लाइन लागेर प्रतीक्षामा अनन्त र अमूर्त मेरा निम्ति ।। त्यो समय बरु कर्म गर आत्म विश्वासका साथ चेतना दे मान्छेलाई मान्छेका रूपमा हेर्न सिका प्राणी जगत्को कल्याण गर्ने विवेक दे धन्य भगवान् ! तँ बल्ल धन्य हुनेछस् ।। तारकेश्वर गापा १ दाङसिङ नुवाकोट