अलैँचीको मूल्य पाउँदा किसान उत्साहित, प्रतिमनको ८८ हजारमा बिक्री
फुङ्लिङ । ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् । फक्ताङलुङ गाउँपालिका-६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जाने भएकाले बगानमै व्यस्त भएको उनले बताए । फुङ्लिङ नगरपालिका-७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहेका छन् । दसैँ परिवारसहित बगानमै मनाउनु भएको उनले तिहार पनि त्यहीँ मनाउने तयारी गरिरहेका छन् । ‘चालीस वर्षदेखि अलैँचीखेती गरिरहेको छु ।’ उनले भने,’छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ ।’ किसान शेर्पाको ८० रोपनी बगान टिपाइसक्ने योजना छ । तर टिपाइपछि छोडाउने, सुकाउने र भट्टिमा तयारी गर्न एक हप्ताभन्दा बढी समय लाग्ने उनको भनाइ छ । जिल्लामा बेँसी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मङ्सिरसम्म अलैँची टिपाइ गर्ने चलन छ । जिल्लाका ९ स्थानीय तहमध्ये फक्ताङलुङ-७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँचीखेती हुन्छ । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ । अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ । आइतबार ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य रु ८८ हजारमा खरिदबिक्री भइरहेको व्यवसायी कमल बरालले बताए । अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ । बगानमा काम गर्ने मजदुरले दैनिक ५०० देखि ७०० सम्म ज्याला पाउँछन् । रासस
कीर्तिपुर क्रिकेट मैदानका फ्लड लाइटका ६ वटै टावर ठड्याइयो
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माणव्यवसायीले आइतबार एक दिनमै दुई वटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको हो । पोल नं १, ४, ५ र ६मा फ्लडलाइट आंशिक रुपमा जडान भइसकेको छ । पोल ठड्याइसकिएकाले दुई वटामा अब लाइट राख्ने काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत २३ असोजमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए । दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै प्यारापेट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका थिए । परापेटको निर्माण व्यवसायीले काम सम्पन्न गरिसकेको छ । एनपिएल आगामी १ मङ्सिरबाट सुरु हुँदैछ । सरकारले गुरु योजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गर्दै रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माण सुरु गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को ३० असोजको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरु योजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरु योजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो ।
आज कुकुर तिहार मनाइँदै, मीठा खानेकुरा दिए यमलोक जाँदा बाटो छोडिदिने
काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा.डा. देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए । वैवस्वत: मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । नरक चतुर्दशी आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन् । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा. वंशदीप शर्मा खरेल बताउनुहुन्छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।