‘झुपडीमा बस्नेको घर बन्यो, भिख माग्ने बने व्यवसायी’

काठमाडौं । एउटा टीनले छाएको झुपडी । झुपडीको वरिपरी सारी बेरिएको । जब पानी पर्छ अनि नजिकैको धर्मशालामा ओत लाग्न गैहाल्नु पर्थ्यो मोरङ ग्रामथानकी सिता ऋषिदेवलाई । ३५ वर्षकी सिता आफ्नो विगत सम्झिदै भन्छिन्, ‘जीवनमा धेरै दुःख पाइयो, नचुहिने घरमा बस्न पाइएन, बिहान-बेलुका छाक टार्न पनि धौधौ नै हुन्थ्यो तर, अहिले मजदुरी गर्छु, जीवन विकासले दुई कोठे घर बनाइदिएको छ, त्यसमै बसिरहेकी छु ।’ उनी घरमा बस्न थालेको करिब २ महिना भयो । सिताको श्रीमान अर्को बिबाह गरेर छुट्टै बस्छन् । उनीसँग ५/७ वर्षका एउटा छोरा र एउटी छोरी छन् । उनीहरु सरकारी स्कुलमा निःशुल्क पढ्दैछन् । ‘जीवन विकास लघुवित्त संस्थाले घर बनाइदिएको छ, अहिले पानी परेपनि आफ्नै घरमा बस्छौं, पहिलेको जस्तो चुहिने डर छैन,’ उनले खुसी हुँदै भनिन्, ‘लघुवित्तका कर्मचारीहरु प्रायः भेट्न आइरहनु हुन्छ, उहाँहरु आउँदा झन् खुसी थपिन्छ ।’ नवनिर्मित घरमा सिता ऋषिदेव सिता जस्तै एकल महिला हुन् ७० वर्षीय भगियादेवी कामद । हातमा भाँडो लिएर भिख माग्नु पर्ने बाध्यता कामदलाई थियो । तर, उनको पेशा अहिले बदलिएको छ । उनको एउटा छोरा शारिरीक रुपमा अस्वस्थ छन् भने अर्को छोरा अंशबण्डा गरेर छुट्टै बस्छन् । शारिरीक रुपमा अस्वस्थ छोराको हेरविचार भगियादेवी आफैले गर्छिन् । अरुले हेरचाह गर्नु पर्ने उमेरकी भगियादेवी आफै छोराको हेरविचारमा खटिन्छन् । पहिला भिख मागेर खाने उनी जीवन विकासको साथ र सहयोगले अहिले सानो सब्जी व्यापार गरेर आफ्नो गुजारा चलाउन थालेको बताउँछिन् । जीवन विकासका अनुसार भगियादेवी संस्थाको पुरानो सदस्य हुन् । उनले बचत बराबरको ऋण चलाएकी छन् । पहिला भिख माग्ने उनले हाल तरकारी बेचेर थोरै भएपनि कमाउने गरेकी छन् । ‘जीवनमा म कहिल्यै पनि डसनामा सुतेको थिइनँ, अहिले डसनामा सुत्न थालेकी छु,’ पहिला त्रिपालमा बसेर जीवनयापन गर्दै आएकी कमादले गहभरि खुशीको आँशु बनाउँदै भनिन् । सो घरलाई थप व्यवस्थित गर्ने काम भइरहेको जीवन विकास लघुवित्तकी जिल्ला इञ्चार्ज मैयाँ राईले बताइन् । व्यवसायी बनेकी भगियादेवी कामद जीवन विकासले एकल महिलाहरुलाई व्यावसायी मात्र बनाएको छैन आँखा नहुनेलाई आँखा नदेख्नेलाई आँखा देख्ने पनि बनाएको छ । संस्थाले शिविरहरु आयोजना गर्ने काम पनि गर्दै आएको छ । संस्थाको प्रत्येक शाखाले एक महिनामा कम्तिमा पनि ४ वटा सामाजिक उत्तरदायित्वको काम गर्नुपर्ने भनेर नै तोकिएको राईले बताइन् । पहिला केही नदेख्ने उनीहरु अहिले संसार देख्ने भएका छन् । लठ्ठीको साहरा बिना हिड्न नसक्ने उनीहरु अहिले बिना साहारा हिड्न सक्ने भएका छन् । उनीहरु भन्छन्, ‘यो सबै जीवन विकासको देन हो ।’ पहिला पनि उनीहरु आँखा जचाउन नगएको होइनन् । तर, अस्पतालले पैसा लाग्छ भनेपछि उनीहरुले आफ्नो आँखाको उपचार गर्न नसकेको बताउँछन् । तर, जीवन विकास आएपछि निः शुल्क आँखा उपचार गरेर संसार देख्ने बनाएको भन्दै उनीहरु खुसी छन् । आँखा शिविरमा सहभागि भएकामध्ये केही पात्रहरु यी त केही उदाहरण हुन् । सिता र भगियादेवी जस्ता कयौंले नयाँ जीवन पाएका छन् । यो वर्ष मात्रै संस्थाले अति विपन्न वर्गका ३६ जना व्यक्तिलाई बासस्थान उपलब्ध गराएको लघुवित्तको भनाइ छ । जीवन विकासले हालै संस्थाको वार्षिकोत्सवको अवसरमा घर निर्माण तथा श्रमदान कार्यक्रम अन्तर्गत घर नभएकाहरुलाई बासस्थानको व्यवस्था मिलाएको बताएको छ । यस्तै, संस्थाले हालसम्म ४३ वटा आँखा शिविर गरिसकेको बताएको छ । जसमा ७ हजार ४२७ जना सहभागि भएका थिए भने तीमध्ये १ हजार ९७ जनाले आँखा अपरेशन गरेर संसार देख्न सक्ने भएका छन् । आँखा शिविरमा मात्रै संस्थाले ५ लाख रुपैयाँ खर्च गरेको बताएको छ । जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जयकुमार मण्डलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विभिन्न काम गरिरहेको बताए । उनले संस्थाले शिविर (आँखा, दाँत, साधारण स्वास्थ्य), बालशिक्षा, स्वयम् सेवक कार्यक्रम (दिगो आवाश), पानी र सरसफाई, प्रकोप व्यवस्थापन, युवा महिला तथा जेष्ठ नागरिक र अति विपन्नलाई सहयोगमा एक लाख रुपैयाँभन्दा बढी खर्च गरेको पनि बताए । ‘हामीले वितरणमूखी भन्दापनि वास्तविक समुदायको परिवर्तनको लागि खर्च गरिरहेका छौं, यसको लागि संस्थाले विभिन्न अभियानहरु सञ्चालन गरेको छ, हामीले आफ्नै छुट्टै ढंगले गैर-सदस्य वा विभिन्न समुदायमा देखेका समस्यालाई ध्यानमा राखेर सक्दो सहयोग गरिरहेका छौं,’ सीईओ मण्डलले भने । उनका अनुसार संस्थाले नाफाको ५ प्रतिशतसम्म सीएसआरमा खर्च गर्न इच्छुक छ । संस्थाले स्थानिय निकायको समन्यवयमा विभिन्न शीर्षकमा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७७/७८ मा मात्रै संस्थाले १४ वटा शीर्षकमा ७० लाख रुपैयाँ बराबरको खर्च गरेको तथ्यांकले जनाउँछ । तथ्यांकका अनुसार संस्थाले सबैभन्दा बढी रकम कोभिड १९ मा २३ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै, स्वास्थ्य सचेतना कार्यक्रममा १८ लाख १७ हजार ४३९ रुपैयाँ, सामुदायिक विद्यालय सहयोग तथा छात्रवृत्तिको शीर्षकमा ९ लाख ४२ हजार रुपैयाँ बराबर खर्च गरेको छ । चालु आर्थिक वर्षमा मात्रै संस्थाले सीएसआरको लागि छुट्याइएको कूल बजेटको ४७ प्रतिशत रकम खर्च भईसकेको सीईओ मण्डलले बताए । उनका अनुसार कूल ६९ लाख ६८ हजार ६६४ रुपैयाँको बजेटमा जीवन विकासले ९ महिनामै कूल ३२ लाख ८८ हजार २६० रुपैयाँ रकम सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शीर्षकमा खर्च गरिसकेको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार लघुवित्तहरुले नाफाको न्यूनतम १ प्रतिशत रकम सीएसआरमा खर्च गर्नुपर्ने व्यवस्था छ । तर, जीवन विकासले भने सोभन्दा बढी खर्च गर्दै आएको छ । संस्थाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार जीवन विकासले सीएसआरमा ७० लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । जुन संस्थाले अघिल्लो आवमा गरेको नाफाको करिब २ प्रतिशत हो । संस्थाले अघिल्लो आव अर्थात आर्थिक वर्ष २०७६/७७ मा ३५ करोड ४२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

नेपाल कमर्श क्याम्पसको आयोजनामा बिआइएम कप हुँदै, बैशाख १४ गतेदेखि शुरु

काठमाडौं । नेपाल कमर्श क्याम्पस (एनसीसी) को आयोजनामा ‘एनसीसी बिआइएम कप’ टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता यही बैशाख १४ गतेदेखि हुन लागेको हो । सैनिक अवसीय महाविद्यालय क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा ६ टोली सहभागी रहने छन् । र, सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ । साथै, नकआउटको आधारमा खेलाइने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले जनाएको छ । त्यस्तै, विगत एक दशकदेखि सञ्चालन हुँदै आएको यस प्रतियोगिता साविक विजेताले नयाँ संस्करणको आयोजना गर्नुपर्ने प्रावधान छ । सोहि प्रावधानअनुसार एनसीसीले यसपटक प्रतियोगिता आयोजना गर्न लागेको नेपाल कमर्श क्याम्पसका प्रमुख प्रोफेसर ध्रुवप्रसाद सिलवालले बताए । साथै, उनले यसअघिका संस्करणहरू जस्तै यसपटक पनि त्रिभुवन विश्वविद्यालयले प्रतियोगितालाई साथ दिने विश्वास समेत व्यक्त गरेका छन् । सेन्ट जेभियरर्सलाई हराउँदै एनसीसीले जित्यो ‘टीयू बीआईएम क्रिकेट टुर्नामेन्ट-२०१९’ आयोजकका अनुसार प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । विधामा उत्कृष्ट र प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’लाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यसका साथै, आयोजकले बैशाख १२ गते अपरान्ह ५ बजे पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताको बारेमा थप जानकारी गराउँदै छ ।युवाहरूलाई खेलकुद प्रतियोगिताको लागि प्रोत्साहन गर्न नै आयोजकले लाजिम्पाटमा रहेको नोर्चोक बुटिक होटलमा सम्मेलन गर्न लागेको हो ।

यूएनसीसीडीमा सद्गुरुले भने – माटो कुनै सामग्री होइन, बरु हाम्रो जीवनको स्रोत हो

काठमाडौं । विश्वभरिको माटोलाई विनाश हुनबाट जोगाउने उद्देश्यसहित माटो जोगाऔँ अभियानअन्तर्गत शुरु गरिएको १०० दिने यात्राको क्रममा सद्गुरुले यूएनसीसीडीका कार्यकारी सचिव इब्राहिम थिएयुसँग भेटघाट गरेका छन् । सो भेटमा सद्गुरु र कार्यकारी सचिव थिएयुले माटो अनमोल स्रोत भएकोले यसलाई जोगाउन र विनास हुनुबाट रोक्न जरुरी रहेकोमा सहमत भए । हरेक दिन आवश्यक पर्ने सबैथोक माटोबाटै आउँछ र सचेतन भएर गरिने कार्यहरुले ठूलो भिन्नता ल्याउँछ भन्ने कुरा सबैले महसुस गर्नुपर्ने उनीहरुको भनाई छ । ‘थुप्रै सरकारहरूले अझैपनि माटोलाई निर्जीव वस्तु जसरी व्यवहार गर्छन् अनि केही रासायनिक पदार्थहरू थपघट गरी यसलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने ठान्दछन्, सर्वप्रथम, हाम्रो चेतनामा यो कुरा रहनुपर्छ कि माटो कुनै सामग्री वा वस्तु होइन, यो हाम्रो जीवनको स्रोत हो,’ सद्गुरुले भने । सद्गुरु र इब्राहिम थिएयु अहिले हामीले सामना गरिरहेका जलवायु परिवर्तन, जैविक–विविधतामा क्षति अनि पर्यावरणीय प्रणालीको विनाशलगायत वातावरणसम्बन्धी प्रमुख चुनौतीहरूको सरल र शक्तिशाली समाधान भनेको जमिन र माटोलाई पहिल्यैको अवस्थामा फर्काउनु हो भन्नेमा सहमत थिए । माटो जोगाऔँ विश्वव्यापी अभियान हो, जसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्ने गरेको छ । सर्वप्रथम, यो हरेक नागरिकको अभियान भएको उनीहरुको दाबी छ । यस अभियानले विश्वभरिबाट ३.५ अर्ब मानिसहरू (विश्वभरिका ६० प्रतिशत मतदाताहरू) को समर्थन जुटाउने अनि माटोलाई पुनः जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने उद्देश्य लिएको छ । विश्वका नेतृत्वकर्ताहरू, प्रभावशाली व्यक्तिहरू, कलाकारहरू, विज्ञहरू, किसानहरू, आध्यात्मिक गुरुहरू, गैरसरकारी संस्थाहरू अनि नागरिकहरूले अभियानको समर्थनमा आवाज उठाइरहेका छन् ताकि मानवजाति र माटोबीच रहेको सम्बन्धलाई पुनः स्थापित गर्न सकियोस् भन्ने ध्येय राखेको छ ।