कोरोना भाइरसको कारण एसियाली खेलकुद स्थगित
काठमाडौं । चीनको हानझाउ शहरमा आयोजना हुने भनिएको १९ औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ । आगामी भदौमा हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस महामारीको कारण स्थगित गरिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । चीनमा हुने एसियाड आगामी भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको थियो । चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आयोजक कमिटी र ओसिएको कार्यकारी बोर्डको संयुक्त छलफलपछि एसियाड खेल रोक्ने निर्णय भएको हो । तीनै निकायको संयुक्त छलफलपछि एसियाडको नयाँ मिति तय हुने बताइएको छ । नेपालले एसियाडमा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो । उक्त प्रतियोगिताको लागि नेपालले खेलाडी छनोटसमेत सुरु गरिसकेको छ ।
सामाजिक सुरक्षामा तीन राजनीतिक दलको प्रतिवद्धता : कति सम्भव, कति असम्भव ?
काठमाडौं । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि मुख्य राजनीतिक दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । मुख्य ठूला राजनीतिक दलहरुले घोषणा पत्रमा सामाजिक सुरक्षाको विषयलाई प्राथमिकतामा राखेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले सामाजिक सुरक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताएका छन् । तीनै दलले सार्वजनिक गरेको घोषणा पत्रमा संघीय सरकारको योजनालाई पार्टीहरुले मतदाता आर्कषण गर्नलाई समावेश गरेको जानकारहरु बताउँछन् । पूर्व अर्थसचिव रामेश्बर खनालले स्थानीय तह निर्वाचनका लागि ठूला राजनीतिक दलहरुले सुन्दा आन्नद लाग्ने तर कार्यान्वयन गर्न नसक्ने एजेन्डा घोषणा गरेको बताए । उनले स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय स्तरबाट घोषणा पत्र जारी हुने विश्वकै देशमध्येकै पहिलो नेपाल रहेको बताए । भारतमा स्थानीय तहको पञ्चायतको निर्वाचनका लागि राजनीतिक दलहरुले राष्ट्रिय स्तरबाट घोषणा पत्र सार्वजनिक गरेको आफूले जानकारी नपाएको उनको भनाइ छ । उनले सैद्धान्तिक रुपमा सामाजिक सुरक्षाका विषय संघीय सरकारको विषय रहेकोे बताए । ‘मूलुकभरका बृद्ध तथा एकल महिलालाई सम्मान व्यवहार हुनुपर्छ, काठमाडौं ठूलो र धनी महानगरपालिका हो, त्यहाँका जेष्ठ नागरिकले बढी रकम पाउने, हुम्लामा स्रोत कम भएको गाउँपालिकाका जेष्ठ नागरिकले थोरै रकम पाउने भन्ने हुँदैन्, उनले भने, ‘सरकारले दिने सामाजिक सुरक्षा सबैतिर एकै हुनुपर्छ, संसारका अन्य देशमा केन्द्रिय सरकारले ले नै गर्छ, स्थानीय तह निर्वाचनमा केन्द्रिय सरकारको विषय आउनै हुदैनथ्यो तर, ठूला राजनीतिक दलहरुले मुख्य एजेन्डा बनाउँदै राखे ।’ राजनीतिक दलहरुले पूरा नहुने कार्यक्रम सुन्दा र भन्दा मात्र आनन्द लाग्ने तर कार्यान्वयन गर्न नसक्ने कार्यक्रम घोषणा गरेको उनको भनाइ छ । ‘कुनै पनि दलहरुले सक्षम तथा काम गर्ने मान्छेलाई प्रोत्साहन गरिनेछ, उनीहरुको क्षमता बढाउने यो काम गछौँ भनेर योजना ल्याएका छैनन्, कुनै पनि देशको विकास हुन युवा जनशक्तिको परिचालन हुनुपर्छ, उनीहरुलाई रोजगारीदेखि उच्च शिक्षाको व्यवस्था राज्यले गर्नुपर्ने हो, खै ती विषयहरु मतदाता तान्न मात्रै ठूला कुरा गरेर हुन्छ,’ उनले प्रश्न गर्दै भने । उनले राज्यले स्रोतको व्यवस्थापन गर्न सक्दैनन्, बाड्छु मात्र भनेर घोषणा गर्ने अनि बाड्न नसक्दा देश श्रींलका, ग्रिस, भेनेजुयला, अजेन्टीना जस्तै बन्ने खतार बढेको बताए । सामाजिक सुरक्षा कोखदेखि शोकसम्म नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको घोषणा पत्रमा कोखदेखि शोकसम्म सामाजिक सुरक्षा उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरेको छ । ‘कांग्रेसले सस्तो लोकप्रियताका लागि सामाजिक सुरक्षाका खुद्रा वितरणमुखी कार्यक्रममा होइन, प्रत्येक नेपाली नागरिकले सम्मानित जीवनयापनन गर्न सक्ने गरी एकीकृत सामाजिक सुरक्षा अवधारणमा विश्वास गर्दछ, कोखदेखि शोकसम्म नेपाली कांग्रेसको एकीकृत सामाजिक सुरक्षा अवधारणा हो, जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यले बहन गर्ने दायित्वको जनमुखी एकीकृत नीति र कार्यक्रम हो,’ घोषणा पत्रमा उल्लेख गरिएको छ । यस्तैगरी, कांग्रेसले घोषणा पत्रमा प्रजनन् स्वास्थ्य र अधिकार, गर्भावस्था, सुरक्षित मातृत्व, बालविकास, शिक्षा, स्वास्थ्य, रोजगारी र श्रम, वृद्धावस्था र मृत्यु संकार गरी विभिन्न तह छुट्याएको छ । कांग्रेसले निःशुल्क रुपमा युवा युवतीलाई प्रजनन् स्वास्थ्य, शिक्षा, निःशुल्क गर्भावस्थाको परीक्षण, घरवारबिहीन विपन्न गर्भवतीका लागि निःशुल्क आश्रय र पोषणको व्यवस्था, ५ हजार सुत्केरी भत्ता, ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, जेष्ठ नागरिक भत्ता, जेष्ठ नागरिक उपचार खर्च, घरमै स्वास्थ्य सेवा, विभिन्न धर्म बमोजिम बेग्लै अन्तिम संस्कारको लागि स्थान उपलब्ध गराउने र मृत्यु संस्कार खर्च व्यहोर्ने विषय उल्लेख छ । खुशी जेष्ठ नागरिक, सुखी बालबालका नेकपा एमालेले खुशी जेष्ठ नागरिक, सुखी बालबालिका, अपांगमैत्री सबै पालिका बनाउने घोषणा पत्र सार्वजनिक गरेको छ । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षा कार्यक्रममार्फत् जेष्ठ नागरिक, बालबालिका, अपाङता भएका व्यक्ति र असहायहरुको संरक्षण गर्दै सम्भ र सुसंस्कृत समाजको निर्माण गर्ने, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा असहायको लागत संकलन गरी घरमै निशुल्क स्वास्थ्य परीक्षण सेवा दिने उल्लेख छ । यस्तै, सार्वजनिक स्थान अपांगता मैत्री बनाउने, हरेक वडामा जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना गर्ने, उनीहरुको अनुभव र ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्ने, अशक्त अवस्थामा रहेका जेष्ठ नागरिकहरुलाई घरमै भत्ता उपलब्ध गराउने लगायतका विषयलाई घोषणापत्रमा समावेश गरेको छ । ज्येष्ठ नागरिकको सम्मान, समुदायको सान नेकपा एकीकृत समाजवादी पार्टीले जेष्ठ नागरिकको सम्मानः समुदायको सान भन्ने नारा नै राखेको छ । यस पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा हरेक पालिकाहरुले जेष्ठ नागरिकका लागि विविध सुविधासहितका क्लबहरु निर्माण गर्ने, बृद्ध/बृद्धाहरु आफ्ना परिवारमा सम्मानसाथ बाँच्न पाउने भन्ने हेतुले पालिका स्तरबाट नियमित अनुगमनको व्यवस्था गरिने विषय उल्लेख छ । यस्तै, विभिन्न कार्यक्रम तथा पर्वमा जेष्ठ नागरिकलाई सम्मान, जेष्ठ नागरिकलाई विभिन्न धार्मिक, पर्यटकीय र मनोरम स्थानहरुको भ्रमण गराउनका लागि प्रत्येक वर्ष जेष्ठ नागरिक देशदर्शन कार्यक्रम सञ्चालन गरिने विषय उल्लेख छ ।
नमूना मतदानमा बदर मत शून्य
मनाङ । निर्वाचन कार्यालय मनाङको आयोजनामा चामेमा गरिएको नमूना मतदानमा मत बदर शून्य भएको छ । नमूना मतदानमा मत बदर नहुँदा मनाङका मतदान सम्बन्धमा मतदाता सचेत रहेको देखिएको छ । यही वैशाख ३० गते स्थानीय तह निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले निर्वाचन कार्यालयले गरेको नमूना मतदानमा कुनै पनि पदमा मत बदर नभएको मतदान अधिकृतको भूमिकामा रहेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार चामे गाउँपालिका–४ स्थित कबर्डहल बाहिर गरिएको नमूना मतदानमा ७८ जना मतदाताले मतदान गरेका थिए । नमूना मतदानमा स्थानीय आमा समूह र स्थानीयवासीको सहभागिता रहेको थियो । निर्वाचन कार्यालका प्रमुख पुष्पराज शर्माले नमूना मतदानले मनाङको सदरमुकाम चामेका मतदाता मतदानका विषयमा सुसूचित भएको देखिएको बताए । तर, अन्य स्थानमा मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार लाग्नुपर्ने उनले बताए । मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको जानकारी दिँदै उनले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाएको देखिएको बताए । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदानस्थलसम्म पुग्ने वातावरण निर्माण गरिने उनको भनाइ थियो ।