यूएनसीसीडीमा सद्गुरुले भने – माटो कुनै सामग्री होइन, बरु हाम्रो जीवनको स्रोत हो
काठमाडौं । विश्वभरिको माटोलाई विनाश हुनबाट जोगाउने उद्देश्यसहित माटो जोगाऔँ अभियानअन्तर्गत शुरु गरिएको १०० दिने यात्राको क्रममा सद्गुरुले यूएनसीसीडीका कार्यकारी सचिव इब्राहिम थिएयुसँग भेटघाट गरेका छन् । सो भेटमा सद्गुरु र कार्यकारी सचिव थिएयुले माटो अनमोल स्रोत भएकोले यसलाई जोगाउन र विनास हुनुबाट रोक्न जरुरी रहेकोमा सहमत भए । हरेक दिन आवश्यक पर्ने सबैथोक माटोबाटै आउँछ र सचेतन भएर गरिने कार्यहरुले ठूलो भिन्नता ल्याउँछ भन्ने कुरा सबैले महसुस गर्नुपर्ने उनीहरुको भनाई छ । ‘थुप्रै सरकारहरूले अझैपनि माटोलाई निर्जीव वस्तु जसरी व्यवहार गर्छन् अनि केही रासायनिक पदार्थहरू थपघट गरी यसलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने ठान्दछन्, सर्वप्रथम, हाम्रो चेतनामा यो कुरा रहनुपर्छ कि माटो कुनै सामग्री वा वस्तु होइन, यो हाम्रो जीवनको स्रोत हो,’ सद्गुरुले भने । सद्गुरु र इब्राहिम थिएयु अहिले हामीले सामना गरिरहेका जलवायु परिवर्तन, जैविक–विविधतामा क्षति अनि पर्यावरणीय प्रणालीको विनाशलगायत वातावरणसम्बन्धी प्रमुख चुनौतीहरूको सरल र शक्तिशाली समाधान भनेको जमिन र माटोलाई पहिल्यैको अवस्थामा फर्काउनु हो भन्नेमा सहमत थिए । माटो जोगाऔँ विश्वव्यापी अभियान हो, जसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्ने गरेको छ । सर्वप्रथम, यो हरेक नागरिकको अभियान भएको उनीहरुको दाबी छ । यस अभियानले विश्वभरिबाट ३.५ अर्ब मानिसहरू (विश्वभरिका ६० प्रतिशत मतदाताहरू) को समर्थन जुटाउने अनि माटोलाई पुनः जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने उद्देश्य लिएको छ । विश्वका नेतृत्वकर्ताहरू, प्रभावशाली व्यक्तिहरू, कलाकारहरू, विज्ञहरू, किसानहरू, आध्यात्मिक गुरुहरू, गैरसरकारी संस्थाहरू अनि नागरिकहरूले अभियानको समर्थनमा आवाज उठाइरहेका छन् ताकि मानवजाति र माटोबीच रहेको सम्बन्धलाई पुनः स्थापित गर्न सकियोस् भन्ने ध्येय राखेको छ ।
नेपालीले नौ महिनामा सेवन गरे १८ लाख किलो सुर्ती
काठमाडौं । नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो । यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण जाने गरेको छ । यो डरलाग्दो तथ्याङ्क तपाईं हाम्रासामु उपलब्ध छ । भन्सार विभागको विवरणानुसार गत चैत मसान्तसम्म नेपालीले १८ लाख सात हजार ८७१ केजी बराबराको सुर्ती तथा सुर्तीजन्य पदार्थ खपत गरेको पाइएको छ । त्यो पनि देशभित्र उत्पादित सुर्ती तथा सुर्तीजन्य सामग्री होइन । विदेशबाट आयात गरेर गरिएको सेवनका कारण दुईवटा नोक्सानी एकैपटक भइरहेको छ । असाध्यै दुःख गरेर जम्मा गरिएको विदेशी मुद्रा सुर्ती खरिदका लागि विदेशिएको छ भने हरेक दिन नेपाली अस्वस्थ भएका छन् । क्यान्सरजन्य रोगको शिकार भएका छन् । सरकारकै एक निकायले उपलब्ध गराएको एक विवरणानुसार चालु आवको नौ महिनाको अवधिमा ठूलो मात्रामा सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा जनचेतना बढेको, सरकारले नागरिकलाई सचेत गराएको भन्नेजस्ता विवरण सार्वजनिक भएको भए पनि सुर्ती तथा सुर्तीजन्य पदार्थको आयातमा कमी आउन सकेको छैन । विभागको विवरणानुसार आयात मूल्यका आधारमा रु ५५ करोड ३४ लाख ७४ हजार बराबरको सुर्ती, सुर्तीजन्य सामग्रीको आयात गरेको देखिन्छ । सरकारको राजस्वमा योगदान हुने देखिए पनि मानव स्वास्थ्यमा असाध्यै ठूलो प्रतिकूल प्रभाव पार्ने सुर्तीजन्य सामग्रीमा झण्डै आधा अर्ब बराबरको आयात हुनुले अवस्था गम्भीर बन्दै गएको देखाउँछ । भन्सार विभागका अनुसार दुई हजार १६० किलो जर्दा, चपाउने सुर्ती तथा सुर्ती मिसिएका सामग्री आयात भएको छ । त्यस्तै प्याकिङ गरिएको सुर्ती ८५३ किलो, चुरोट तथा बिडी २३ हजार ३२ किलो, वाटर पाइप टोबाको रु १८४ किलो, काटिएको सुर्ती १६ लाख ६५ हजार ४९५ केजी, हुक्का फ्लेवर ९१ हजार ६६२ किलो र अन्य सुर्ती २७ हजार ५२८ किलो आयात भएको छ । यस्तै, चुरोट (फिल्टर नभएको) १० लाख (एसटिके), चुरोट फिल्टर (७५ एमएम) ८२ लाख, चुरोट फिल्टर (८५ एमएम) १६ लाख ८० हजार (एसटिके) बराबर आयात भएको छ । सरकारले सुर्ती तथा सुर्तीजन्य पदार्थबाट एक अर्ब २६ करोड ४७ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । इलेक्ट्रिक सिगरेटमात्रै दुई लाख ९५ हजार ५५२ वटा आयात भएको छ । त्यसको लागत शुल्क एक करोड ३३ लाख २९ हजार बराबर छ । सरकारले राजस्वबाट ८३ लाख सङ्कलन गरेको छ । देशभित्रै खेती गर्न सकिने सुर्ती पनि विदेशबाट आयात गरेर ठूलो धनराशी विदेश पठाइएको भन्दै आलोचना हुने गरेको भए पनि रोकिएको छैन । देशभित्र उत्पादन हुने सुर्तीको त अझै प्रणालीमा देखिएको छैन । के कति मात्रामा खपत हुन्छ भन्ने कुनै विवरण भेटिदैन । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने क्यान्सर, मुटु, मधुमेह र दीर्घ श्वासप्रश्वासजस्ता रोग लाग्ने गरेको चिकित्सकहरूको भनाइ छ । सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा रु १०० जरिवाना वा हाताबाट निष्काशन वा दुवै सजाय हुनसक्ने, कुनै पनि सञ्चारमाध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने यदि गरेमा रु एक लाखसम्म जरिवाना तिर्नुपर्ने प्रावधान पनि छ । त्यस्तै १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निःशुल्क उपलब्ध गराउन नपाइने, त्यस्तो गरेको पाइएमा रु १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न नपाइनेलगायत आठवटा प्रावधान पनि कानुनमा उल्लेख छ । तीन लाख ३८ हजार स्मार्ट वाच आयात विभागका अनुसार चालु आवको चैत मसान्तसम्म तीन लाख ४० हजार स्मार्ट वाच आयात भएको देखिएको छ । विभागले शुक्रबार सार्वजनिक गरेको विवरणानुसार अमेरिकी डलर तिरेर तीन लाख ३८ हजार ९१८ स्मार्ट वाच आयात भएको देखिन्छ । ती स्मार्ट वाच आयात गर्दा आयात मूल्यमात्रै रु ४८ करोड ५८ लाख १५ हजार बराबर छ । त्यसबाट सरकारले राजस्व रु १५ करोड ३९ लाख ४७ हजार बराबर सङ्कलन गरेको छ । ६० हजार इन्डक्शन आयात सरकारले विद्युतीय चुल्हो प्रवद्र्धन गर्ने लक्ष्यका साथ विभिन्न अभियानात्मक कार्यक्रम सञ्चालन गरेपछि चैत मसान्तसम्म कूल ५९ हजार ७०६ वटा विद्युतीय चुल्हो आयात भएका छन् । ती इन्डक्शनको लागत मूल्य रु १२ करोड ३७ लाख २६ हजार बराबर छ । ती चुल्हो आयात गर्दा सरकारले रु एक करोड ७५ लाख १३ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । त्यस्तै जुनसुकै भाडा प्रयोग गर्न सकिने इन्फ्यारेड चुल्हो २१ हजार ६७६ वटा आयात भएको छ । ती चुल्होको आयात मूल्य रु चार करोड ६८ लाख १४ हजार छ । त्यस्तै सरकारले रु ६६ लाख १५ हजार बराबर भन्सार शुल्क सङ्कलन गरेको छ । रासस
आकृतिभित्रको त्यो ‘बाल नयन’
काठमाडौं । एउटा बालक डोरीको जाली बाहिरबाट अपेक्षित हेराइका साथ टोलाइरहेका छन् । जाली बाहिर उनले आफ्ना आधारभूत आवश्यकता पूरा हुने केही चिज देखिरहे झैँ एक टकले हेरिरहेका छन् । उनको बालनयनले त्यो चिज अरुले नै उपयोग गरिरहेका अनुभूति गराउँछ । त्यसैले पिलपिलाउँदो नजर त्यही चिजमा एकोहोरिएका हुन्छ । चारकोलका माध्यामबाट पाटन सुन्धाराकी लक्षता श्रेष्ठ सिर्जना गरेको उक्त चित्रले हाम्रो समाजको बालमस्तिष्कलाई गहिरोरुपमा छोएको छ । हाम्रो समाजमा पारिवारिक हिंसालगायत कारणले बालबालिका सडकमा पुग्ने गरेका र त्यसपछि उनीहरुकोे जीवनमा आइपर्ने उतारचढावलाई चित्रकार श्रेष्ठले कलाका माध्यामबाट जीवन्त देखाउने प्रयास गरेका छन् । न्यूनतम आवश्यकताबाट वञ्चित बालकको आँखामा झल्किएको अपेक्षालाई उहाँले चारकोलका माध्यामबाट क्यान्भास रङ्ग्याए । उक्त चित्र नवौं वार्षिकोत्सवका अवसरमा पाटन मङ्गलबजारको द प्रिसियस आर्टस्ले नेपाल कला परिषद्मा ‘आकृति’ शीर्षकमा आयोजना गरेको कला प्रदर्शनी समावेश छ । सानो उमेरका बालबालिकालाई आमाबुबाको माया चाहिन्छ, यो समयमा उनीहरुको हाँस्ने, खेल्ने तथा शिक्षा आर्जन गर्ने हो । तर ती सब कुराबाट बञ्चित एक बालक कुनै एउटा डोरीको छेकबार बाहिरको छिद्रबाट चिहाइरहनु सामान्य कुरा होइन । तर उक्त चित्रले जे नहुनु थियो त्यो भइरहेको छ भनेर बालमस्तिष्कमार्फत देखाइरहेको छ । हाम्रो नेपाली समाजमा भइरहेका घटनालाई चित्रमा उतार्ने श्रेष्ठले भने, “आधारभूत आवश्यकतासमेत नपाएको बच्चालाई ती कुरा प्राप्त होस्, आम नागरिकको जस्तै जीवन चल्न सकोस् भन्ने सन्देश दिन खोजेकी हुँ ।” यसका अलावा उनले मण्डला, नेपाली सांस्कृति, नेपाली जनजीवनका साथै जीसस क्राइष्टकी आमा मेरी तथा शान्तिको सन्देश दिनका लागि बुद्धको आकृतिका चित्र पनि समावेश गर्नुभएको छ । पहिलो प्रदर्शनी भएकाले निक्कै खुसी लागेको पनि उनले सुनाए । उनी मात्रै होइन कला क्षेत्रका नौँ विद्यार्थीका ४२ चित्र यहाँ प्रदर्शनीमा राखिएको छ । अर्का विद्यार्थी सञ्जना महर्जनले सुपरहिरोका माध्यमबाट गलत प्रवृत्तिविरुद्ध प्रहार गर्न खोजेका छन् । जसरी चलचित्रमा नागरिकको जीवनरक्षामा अभिनेताको भूमिका हुन्छ, सुपरहिरोलाई पनि त्यहीरुपमा प्रस्तुत गरेको छ, उनले । त्यतिमात्रै होइन कुमारी, एक आमा र बच्चामार्फत सामाजिक सचेतना जगाउने प्रयास पनि उनको छ । व्यवस्थापन पढ्दै गरेकी शान्ति थापा पनि अहिले कला सिक्दै छन् । उनले पनि संयुक्त प्रदर्शनीमा पहिलो अवसर प्राप्त गरेका छन् । उनले मण्डला, डट आर्टका साथै महिला हिंसा विरुद्धलगायतका विभिन्न आठ सिर्जनाले क्यान्भास सजाएका छन् । प्रदर्शनीमा शर्षिस तण्डुकारका दुई वटा चित्र प्रकृति संरक्षणका बारेमा छ । मानव र वनको अन्तरसम्बन्ध तथा जङ्गलको अवस्थालाई उनले चित्रण गर्नुभएको छ । “हामीले प्रकृतिको गति देख्न नसके पनि उसले आफ्नो गतिमा काम गरिरहेको छ, हामीले प्रकृतिलाई नदेखे पनि उसले हामीलाई देखिरहेको छ हेप्नुहुन्न, यही हो थिम”, तण्डुकारले भने । अर्का विद्यार्थी सम्प्रेशणा शाहीले चित्रमार्फत धार्मिक, पारिवारिक मायाका साथै शान्तिका सन्देश छरेका छन् । उनका सिर्जनामा ह्वेलको माध्यामबाट सकारात्मक सन्देश र आशावादी हुन सिकाएको छ । सरोज खत्रीले परम्परागत यथार्थवादी चित्रहरु राखेका छन् । यहाँ उनका चार चित्र प्रदर्शनमा छन् । नरदेवीमा भएको जात्रालाई प्रतिनिधित्व गर्दै कुमारीको आकृति आकर्षक देखिन्छ । भक्तपुरको गोल्डेनगेटको तोरणसहितको तलेजु भवानी र भैरवको आकृति पनि प्रदर्शनीमा देख्न सकिन्छ । यहाँ विद्यार्थीका अधिकांश कला सिर्जनालाई चारकोलमा रङ्ग्याइएको छ । त्यसमा खत्रीले सुनौलो रङ देखाउन एक्रेलिक मिसाएर सुन्दरस्वरुप दिएका छन् । प्रदर्शनीमा नौ विद्यार्थीका ४२ राखिएका छन् । प्रकृति, परम्परागत तथा धार्मिक सांस्कृतिक एवम् जनजीवनसँग सम्बन्धित सिर्जना यहाँ राखिएका छन् । बिहीबारदेखि सुरु भएको उक्त प्रदर्शनी सोमबारसम्म चल्ने आयोजकले जनाएको छ । प्रदर्शनीमा इरिना ताम्राकार, गिरिश विक्रम राज बज्राचार्य, लक्ष्यता श्रेष्ठ, शान्ति थापा, सञ्जना महर्जन, सरोज खत्री, सर्सिस तन्डुकार, सुम्या तिमिल्सिना, सम्प्रेषणा शाही, सुरभी तण्डुकार र सचिन राज बज्राचार्यका कलाकृति समावेश छन् । प्रदर्शनीको अवलोकन पछि सांसद सुजिता शाक्यले भने, “कला राष्ट्रको गहना हो, मान, शान, गौरव पहिचान र संस्कृतिको धरोहर हो, कलाकारिता प्रकृति र मानव चेतनाको अमूल्य चिज पनि हो ।” विश्वमा आज नेपाल भनेर चिनिनुमा राष्ट्रका कलानिधिका मत्वपूर्ण योगदान रहेको उनले सुनाए ।