निर्वाचनले जसको गाँस खोस्यो
काठमाडौं । रामेछाप जिल्ला घर भई हाल काठमाडौंमा बस्दै आएका टिकाराम खड्काले रत्नपार्कको सडक छेउमा बसेर कपडा बेच्न थालेको ७ वर्ष भन्दा बढी भयो । उनले कपडा बेचेर महिनाको १० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । सो रकमबाट उनको घर खर्च चल्छ । रत्नपार्कमा नै व्यापार गरी आम्दानी स्रोत जुटाउँदै आएका खड्काको व्यापार अहिले ठप्प छ । स्थानीय तहको निर्वाचन सुरु भएसँगै रत्नपार्कमा मानिसहरूको भिडभाड कम भएसँगै व्यापार नै नभएको उनको भनाइ छ । पछिल्लो समय महानगरपालिकाका नगर प्रहरी र ट्राफिक प्रहरीले सडक छेउमा बसेर काम गर्न रोक्न थालेपछि बिहान देखि बेलुकासम्म रत्नपार्क र न्यूरोड एरियामा खड्का पत्रपत्रिका बेच्छन् । ‘एउटा पत्रिका बेचेबापत २ रुपैयाँ नाफा हुन्छ, दिनभर पत्रिका डुलाउँदा २ सय रुपैयाँको आम्दानी हुन्छ, नयाँ प्रविधिसँगै पत्रपत्रिकाको कुरा मोबाइलमा नै हेर्न मिल्ने भएकाले अहिले पत्रिका व्यापार हुन छाडेको छ,’ उनले भने । साँझको समयमा नगर प्रहरी र ट्राफिक प्रहरी घर फर्किए पछि बेलुका ६ बजेदेखि ८ बजेसम्म उनको कपडाको व्यापार सुरु हुन्छ । ‘पहिले यहाँ बसेर काम गर्दा कसैको रोकटोक थिएन, अहिले नगर प्रहरी र ट्राफिक प्रहरीले सडकमा नबस् भन्छन्, पेट पाल्नै पर्यो,’ उनले दुखेसो पोखे। त्यति मात्रै होइन, खुला आकाशमुनि बसेर काम गर्नुपर्दा हावाहुरी वा पानीले पनि अवरोध गरेको उनले सुनाए । ‘कहिले नगर प्रहरीले धपाउँछ त कहिले हावाहुरी र पानीले,’ उनले भने । उनी दैनिक करिब दुई सयदेखि एक हजार रुपैयाँसम्म कमाउँछन् । छोरा छोरी पढाउने र श्रीमतीसँगै बस्दै आएका उनको यहीको कमाइबाट घरखर्च चलेको छ । उनी मात्र होइनन्, यस्तो सास्ती खेप्ने काठमाडौंका सडक छेउमा बसेर व्यापार गरेर आएका अन्य धेरै छन् । कोरोना भाइरस संक्रमण पछि व्यापारबाट हुने उनको कमाइ घटेको छ । यो अवस्थामा पनि काम गर्न रोकटोक गरिन थालेपछि उनीहरूले नेताप्रति आक्रोश पोखेका छन् । ‘हामी जस्तो गरिबले सटर भाडामा लिए बस्न सक्दैनौं, काठमाडौंको महँगी हामी सबैलाई थाहा भएको नै कुरा हो, सडकको छेउमा बसेर काम गर्नु हाम्रो रहर हैन बाध्यता हो,’ उनले भने । यस्तै, आज भन्दा ७ वर्षअघि उच्च शिक्षाको अभिलाषाका साथ सिन्धुलीबाट काठमाडौं छिरेका थिए नारायण श्रेष्ठ । १० कक्षासम्म गाउँमा नै पढेका श्रेष्ठले उच्च शिक्षा हासिका लागि काठमाडौं आए । कलेजको महङ्गो शुल्क र घरको कमजोर आर्थिक अवस्थाको कारण उनी पढ्न सकेनन् । काठमाडौं आएपछि उनलाई दैनिकी चलाउन गाह्रो भयो । यस्तै समस्याको बीचमा कसैले सुनाइदियो–फुटपाथमा व्यापार गर्ने विकल्प । त्यसपछि उनी काठमाडौंको रत्नपार्कमा रेडियो, इयरफोन, चार्जर बेच्न लागे । ‘त्यो समयमा ठुलो व्यापार गर्नको लागि मसँग पैसा थिएन, इलेक्ट्रिक सामान किन्न महङ्गो पर्दथ्यो, मैले ७ हजारबाट रत्नपार्कमा व्यापार सुरु गरँको हुँ,’ उनले सुनाए । ‘काठमाडौं त आइयो, खान बस्नको लागि पैसाको आवश्यकता पूरा गर्न सक्ने आर्थिक अवस्था घरपरिवारको थिएन, अनि जागिर खोज्न थालेँ, जागिर पाइएन, अनि फुटपाथमा पेटी बेच्न लागेको हुँ,’ नारायणले भने । नभन्दै उनको कमाई राम्रो हुन थालेको उनी बताउँछन् । व्यापारबाट आएको पैसाले कोठा भाडा तिर्न र खानलाउन ठीक्क हुने उनी बताउँछन् । तर, कहिले काहीँ पैसा बच्यो भने घर पनि पठाउन थालेको उनले बताए । ‘दिनको ३ सय त कमाई भइहाल्छ नि, महिनामा ४० हजार रुपैयाँ बचाउँछु, महानगर आएर बेलाबेलामा हामीलाई लखेट्छ, त्यसरी लखेटेपछि अर्को ठाउँमा गएर फेरि व्यापार गर्छु’ उनले भने । निर्वाचनसँगै उनको व्यापार पनि घटेको छ । ७ हजारबाट सुरु गरेका काम अहिले एक लाख रुपैयाँको बनाएका छन् । टिकाराम र नारायण जस्ता अधिकांश फुटपाथ व्यवसायीहरू निर्वाचनले समस्या परेको बताउँछन् । उनीहरू यसअघि दैनिक रूपमा कमाइ हुने भएपनि अहिले निर्वाचनको कारण कमाइ ठप्प भएको र गुजारा गर्न पनि समस्या भएको गुनासो गर्छन् ।
स्थानीय तह निर्वाचन : दैनिक १५ हजारले काठमाडौं छाड्दै
काठमाडौं । विभिन्न कामले उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्लामा फर्कने क्रम बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयअनुसार विगत केही दिनदेखि उपत्यकाबाट जिल्ला फर्कने मानिस बढेका छन् । मतदाता नामावली जिल्लामा रहेकाले यही वैशाख ३० गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन् । ट्राफिक प्रहरीका अनुसार अहिले दैनिक काठमाडौ| आउनेभन्दा बाहिरिने बढिरहेका छन् । यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । कार्यालयका अनुसार सोमबारको तथ्याङ्क हेर्दा उपत्यकाबाट ७ हजार ९११ सवारीमार्फत ५५ हजार ७४६ यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिने सङ्ख्या भने ४२ हजार ५४४ छन् । अघिपछि दैनिक भित्रिने र बाहिरिने मानिसको सङ्ख्या बराबरजस्तै हुने गरेकामा अहिले आउनेभन्दा जानेको संख्या १० देखि १५ हजार बढी छन् । अबको दुई दिन यो क्रम अझै बढ्ने छ । यसमा निजी गाडी र रिजर्भ गाडीमा गएका यात्रुको सङ्ख्या भने जोडिएको छैन । कतिपय नागरिक निजी गाडी तथा सार्वजनिक सवारी साधनमा जिल्ला गइरहेका छन् भने कतिपय नागरिक उम्मेदवार र राजनीतिक दलका झण्डा र चुनाव चिह्नसहित रिजर्व गाडीमा गइरहेका पनि देखिएको छ । ती नागरिकले उम्मेदवार तथा दलका प्रतिनिधिले नै गाडी रिजर्व गरेकाले मतदानका लागि जिल्ला गएको प्रतिक्रिया दिएका छन् । यसपालि निर्वाचनको समयमा कुनै पनि आपराधिक गिरोहको सक्रियता नभएकाले पनि निर्वाचनको माहोल बढी नै तातेको छ । यसपालि निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ । यसपटक सबै स्थानीय तहमा एकैचोटी निर्वाचन हुँदैछ । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । त्यस अवधिमा प्रचारप्रसारका कार्यक्रम बन्द गर्नु पर्नेछ भने त्यसै समयदेखिनै अन्तर्राष्ट्रिय सीमा नाकासमेत बन्द हुनेछ ।
आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ?
काठमाडौं । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै गतिविधि गर्न पाइँदैन । मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने आयोगले जनाएको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ । यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न/गराउन नपाइने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार आजै राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । मदिरा सेवनबाट झैझगडा तथा मतदातालाई प्रभावित पार्न सक्ने भन्दै आयोगले मौन अवधिमा मदिराको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । निर्वाचन सुरक्षालाई ध्यान दिँदै आजै राति १२ बजेदेखि देशका सीमा नाका बन्द गरिए पनि अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । आउँदो शुक्रबार देशभर एकै चरणमा बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचनका दिन आन्तरिक उडान र अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।