एन्फा निर्वाचनका लागि ५४ जनाको उम्मेदवारी, कसकसले दिए उम्मेदवारी ?
काठमाडौं । नयाँ नेतृत्व सहित २१ सदस्यीय कार्यसमितिका लागि असार ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुँदैछ । जेठ ६ गते देखी १२ गते सम्मलाई समय तोक्दै निर्वाचनमा भाग लिन मनोनय दर्ता समय तोकेको छ । समितिले दिएको समयसीमा बिहीबार सकिँदै छ । समितिका अनुसार अहिलेसम्म अध्यक्ष सहित विभिन्न पदमा ५४ जनाको उम्मेदवारी परेको छ । र अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गराउने अन्तिम बिहीबार दिन थियो । असार ६ गते हुने निर्वाचनका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ केन्द्रीय सदस्य र दुई महिला सहित २१ जना सदस्यको चयन गर्नेछ । आसन्न निर्वाचनको अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन भने अध्यक्ष पदकै लागि फ्रेन्ड्स क्लबका राजिव पौडेलले पनि उम्मेदवारी बिहीबार दर्ता गराएका छन् । तीन अध्यक्षका प्रत्यासीले निर्वाचन समितीले तोकेको समयभित्र छुट्टा छुट्टै कार्यक्रम गरेर घोषणा गरेका थिए । १ वरिष्ठ उपाध्यक्ष पदमा कुल दुई जनाको उम्मेदवारी परेको छ । कर्माछिरिङ शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराउँदा पंकजको प्यानलबाट सिन्धुपाल्चोक जिल्ला फुटबल संघबाट वीरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ४ उपाध्यक्ष पदमा शेर्पा प्यानलबाट कुमार केसी, बिज्ञानराज शर्मा, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन भने पंकजको प्यानलबाट विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडा गरी कुल ८ उम्मेदवारले मनोनय दर्ता गराएका छन् । १३ खुल्ला सदस्यको पदमा शेर्पा प्यानलबाट दिपक थापा, प्रविण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराज गुरुङ, टीका लामा, प्रदेशसिंह राठोर, भरत बढ थापा, अनिल श्रेष्ठ, रमेश ब्यञ्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी परेको छ । उता पंकजको प्यानलबाट खुल्ला सदस्य सुरेन्द्र सिखाकार, निरोज खड्गी, प्रविणकुमार सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, नेपाल कार्की, विजय घले, मिलन गुरुङ, कृष्णमुरारी गुरुङ, कुमार कटुवाल, सम्भु सिंह ठकुरी, रमेशकुमार श्रेष्ठ, बिनोद लामा तामाङ, मणिकुमार लिम्बु, तपेश्वर कुर्मी, मानदेव हाजार, रविन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, दिपेन्द्र धिमालको उम्मेदवारी परेको छ । यससँगै खुला सदस्यमा कुल ३६ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला सदस्यमा बिमला पौडेल, सरिता श्रेष्ठ, बिन्द्रा देवन, पेमा डोल्मा लामा, विना नबाछे श्रेष्ठले उम्मेदवारी दिएका छन् । आगामी ४ वर्षको कार्यकालका लागि हुन लागेको निर्वाचनका लागि जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् । एन्फा केन्द्रीय निर्वाचनका लागि १४ वटा ‘ए’ डिभिजन क्लब, १४ मध्ये ११ ‘बी’ डिभिजन क्लब र १४ मध्ये ९ ‘सी’ डिभिजन क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबले मतदान गर्न पाउनेछन् ।
महावीर पुनलाई पोर्चुगलमा सम्मान
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहेका डा. पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । डा. पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सङ्घले सम्मान गरेको हो । सो अवसरमा डा. पुनसँग अन्तर्क्रियासमेत गरिएको थियो । कार्यक्रममा डा. पुनले आफूले गरेको काम, भावी योजना र राष्ट्रिय आविष्कार केन्द्रले गरेका गतिविधिका विषयमा प्रस्तुति दिएका थिए । केन्द्रले ड्रोन, कृषिसम्बन्धी सामग्री, शिक्षा, स्वास्थ्य सामग्री, खाद्यान्न, पेय पदार्थ, रोबोटलगायतका विभिन्न नयाँ-नयाँ अनुसन्धान र आविष्कारको काम गरिरहेको सो अवसरमा उनले जानकारी गराएका थिए । नेपाली युवालाई विदेशिनबाट रोक्नका लागि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने धारणा राख्दै डा. पुनले रोजगारी सिर्जनाका लागि देश समृद्ध हुनुपर्ने बताए । राज्यले दक्ष मानव पूँजीको पहिचान र सही प्रयोग गर्न नसक्दा देशको विकास हुन नसकेको पुनको भनाइ थियो । दक्ष मानव पूँजीको उत्पादनका लागि आफू लागिपरेको उल्लेख गर्दै डा. पुनले नयाँ-नयाँ खोज, अनुसन्धान, आविष्कार, प्रविधि र उद्यमशीलताको क्षेत्रमा लाग्नेलाई केन्द्रले प्रोत्साहन गरिरहेको बताए । डा. पुन पोर्चुगलमा आयोजित कार्यक्रममा सहभागी भई बुधबार बेलायततर्फ प्रस्थान गरेका छन् । यसअघि डा पुन बेलायत, डेनमार्क, स्वीडेन, फिनल्याण्ड, जर्मनी, स्वीजरल्याण्ड, फ्रान्स, लग्जेम्वर्ग, बेल्जियम, नर्वे, पोल्याण्ड, इटाली, स्पेनलगायतका देशमा नेपाली समुदाय तथा त्यहाँका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा अध्ययन, अनुसन्धान, अवलोकन तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी भएका थिए । यसैबीच राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि सङ्घले आर्थिक सङ्कलनसमेत गरिरहेको म्याग्दी प्रवासी नेपाली सङ्घ पोर्चुगलका महासचिव दिपु मगरले जानकारी दिए । केन्द्रको सहयोगार्थ सङ्घले हालसम्म ६ हजार युरो सङ्कलन गरिसकेको र करिब १० हजार युरो सङ्कलन गरी सहयोग रकम केन्द्रलाई हस्तान्तरण गरिने मगरले बताए । रासस
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विराेधमा ढुवानी सेवा बन्द
वीरगञ्ज । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको सङ्घका उपाध्यक्ष प्रविनकुमार कर्णले जानकारी दिए । वीरगञ्जबाट दैनिक कम्तीमा ४० देखि ६० व्यवसायीले खुद्रा सामग्री लिएर पूर्व–पश्चिमका विभिन्न सहरमा जाने गरेका थिए । सङ्घमा आवद्ध ४६ खुद्रा ढुवानी व्यवसायीले खर्चअनुसारको ढुवानी भाडामा समायोजन गरिनुपर्ने माग राखेको सङ्घका अध्यक्ष बालकृष्ण पोखरेलले बताउनुभयो । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै ढुवानीमा पनि समयसापेक्ष मूल्य बढाउनुपर्ने व्यवसायीको माग छ । रासस