ग्रामीण कृषकको जीवनस्तर उकास्न बाख्रा वितरण

झापा । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ५०० बाख्रा वितरण गरेको छ । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘मेयर पकेट बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत उक्त बाख्रा वितरण गरिएको नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिइन् । “नगरवासीलाई पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप बाख्रा वितरण गरिएको हो”, उन भनिन्, “विसं २०७४ यता ५०० बाख्रा र १६५ खोर निर्माण गरिएको छ ।” बाख्राको खोर निर्माणका लागि मात्र रु ४१ लाख खर्च भएको उनले बताइन् । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले ग्रामीण क्षेत्रका कृषकको जीवनस्तर उकास्न यो कार्यक्रम ल्याइएको बताइन् । “यस कार्यक्रमबाट धेरै कृषकले लाभान्वित हुनुभएको छ”, उनले भनिन् । कुनै पनि कारणले बाख्रा म¥यो भने त्यसको प्रमाणसहित आएमा अर्को बाख्रा उपलब्ध गराइने उनले बताइन् । यसैबीच, नगरपालिकाले वडा नम्बर ८ मा १५ जना कृषकलाई तीन वटाका दरले ४५ वटा र किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहलाई एउटा बोयर जातको बीउ बोका वितरण गरेको छ । यसअघि बाख्रा प्राप्त गरेको वडा नम्बर ७ को श्रीजङ्घा बाख्रापालन कृषक समूह र हरियाली बाख्रापालन समूहले आफ्नो दायित्वअनुसार फिर्ता गरेको बाख्रा किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहका कृषकलाई वितरण गरिएको हो । रासस

पूर्व डेपुटी गभर्नर शिवाकोटीको ‘दोहमना घुम्न जाउँ’ सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको २१औं गित ‘दोहमना घुम्न जाउँ’ सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकको संचालक समिति सदस्य रहेका शिवाकोटीले रचना गरेको सो गितमा तुलसी पराजुलीले संगित भरेका छन् भने स्वर पनि पराजुली र प्रविशा अधिकारीको छ । गितको एरेन्जर चन्दु गोर्खाली हुन भने भिडियोमा दिपेन्द्र तिमल्सेना, स्मारिका ढकाल र विवेक शिवाकोटीको अभिनय छ । भिडियोको निर्देशक निर्देशक कमल खालिङले गरेका हुन् । सो गितमा मोरङ जिल्लाको दोहमना क्षेत्रमा आन्तरिक पर्यटन बढाउन सो क्षेत्रको प्रचार प्रसार गरिएको छ । रचनाकार शिवाकोटीले कक्षा ४ देखि १० सम्म सोही स्थानको विद्यालयमा अध्ययन गरेका थिए । सोही कारण आफ्नो क्षेत्रको प्रचार प्रसार गर्न गित रचना गरिएको शिवाकोटीले बताए । गितमा सो क्षेत्रको चालचलन, रहनसहन, खानपान जस्ता विषयको चर्चा गरिएको छ । सो क्षेत्रका ऐतिहासिक र पौराणिक स्थानहरु सुनबर्सी महाराज र काँटा महाराजको क्षेत्रको चर्चा गरिएको छ । सुनबर्सीमा बैशाख १ गते र काँटामा बैशाख २ गते ठूलो मेला लाग्ने गरेको छ । सो गित पूर्वेली भाकामा छमछम नाच्न मिल्ने लयमा रहेको शिवाकोटीले बताए ।

नारायणगढ-मुग्लिन सडक र मध्यपहाडी लोकमार्ग अवरुद्ध

तस्विरः सामाजिक सञ्जाल काठमाडौं । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । जेठ २६ गते बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताए। पहिराकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना-४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए । मध्यपहाडी लोकमार्ग अवरुद्ध त्यस्तै, दुई दिनदेखिको वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे-हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँठाउँमा खसेका पहिराले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरा पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । रासस