सागर बाबुको गिति संग्रह ‘तृष्णा’ लोकार्पण

काठमाडौं । बुद्धिसागर लामिछाने (सागर बाबु)को गिति संग्रह ‘तृष्णा’ लोकार्पण भएको छ । सागर बाबुको एकल शब्द रहेको गिति संग्रह ‘तृष्णा’ असार १६ गते बिहीबार सांस्कृतिक संस्थान, जमल काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो । गिति संग्रह तृष्णामा ९ वटा गितहरु रहेका छन् । गिति संग्रहमा शब्द सर्जक सागर बाबु, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिला बिष्ट, विपिन घिमिरे, सुगमा गौतम, ममता गुरुङ, शाम्भवी लामिछाने र विमर्श घिमिरेको स्वर रहेको छ । गिति संग्रहमा विपिन घिमिरेको संगित रहेको छ भने संगित संयोजनमा विकास सुनार, पुरुषोत्तम सुवेदी, विजय थापा र सञ्जय श्रीपाल रहेका छन् । टुकी आर्टस द्वारा प्रस्तुत गरिएको गिति संग्रहका गितहरु हाइलाइट्स नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । संग्रहमा सामाजिक, पारिवारिक र राष्ट्रिय भावनाले ओतप्रोत गितहरु रहेका छन् । गिति संग्रहका सर्जक सागर बाबु नेपाल सरकारको सहसचिवको रुपमा कार्यरत समेत रहेका छन् । गित संगित क्षेत्रमा उनको यो पहिलो सार्वजनिक प्रस्तुती हो ।

आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव देशभर सामान्य रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेकाले वर्षा भइरहेको विभागले जनाएको छ । हाल देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव तीन डिग्री र अधिकतम तापक्रम २३ दशमलव सात डिग्री सेल्सियस छ । रासस

अब तीन दिन भारी वर्षा हुन्छ, उच्च शतर्कता अपनाउनुस् : विज्ञ

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन् । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन् । उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए । ‘मनसुन शुरु भएदेखि हामीले एनसेलबाट १३ लाख ९१ हजार र एनटिसीबाट ५ लाख ६२ हजार गरेर प्रभावित हुने क्षेत्रहरुमा २० लाख हामीले एसएमएस गरिसकेको अवस्था छ, हिजो रातिदेखि हामीले धेरै खोलाहरुमा बाढी आउँछ भनेर गरेको, हिजो रातिदेखि १० लाख मानिसलाई एसएमएस गरेर खबर पुर्याईदिइसकेका छौं, यो तीनदिन भारी वर्षा हुनेछ देशभर, भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन कुन खोला के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोध के छ भने सबै निकायहरुलाई रेगुलर बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा शतर्क भइदिनु होला, किनकी विशेष बुलेटिन भनेको चाहीँ हुन्छ भन्ने नै हो,’  उनले भने । उनले विभागले मौसम सम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ शतर्क हुन आग्रह गरेका छन् ।