आर्थिक संकटमा फसेपछि व्यवसायी शुदर्शनले गरे आत्महत्या

काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको रञ्जना ट्रेड सेन्टरको चौथो तलाको ‘पसल नम्बर २४’ अहिले बन्द छ । पसल न कोरोना महामारी, न लकडाउन, न नेपाल बन्द नत कुनै सार्वजनिक विदा भएर बन्द भएको हो । पसल मालिक आउने पखाईमा छ । तर, अब मालिक भने सदाका लागि सोही पसल छोडेर विदा भइसकेका छन् । त्यसैले २४ नम्बरको स्वेत वराह इन्टरप्राइजेज विगत ३/४ दिनदेखि बन्द छ । स्वेत वराह इन्टरप्राइजेज शुदर्शन घिमिरेको हो । घिमिरेले मंगलरबार अर्थात् भदौ २१ गते आत्महत्याको बाटो रोजे । न्यूरोडको राम्रो व्यापारीको छवि बनाएका शुदर्शनले गत मंगलबार आत्महत्या गरे । घिमिरे रञ्जना ट्रेडर्समै रेडिमेड कपडाको व्यापार गर्थे । काभ्रेको नाला काभ्रेबोट घर भएका घिमिरे उनको गाउँमा नै पहिलोपटक अंग्रेजीमा मास्टर्स डिग्री सम्पन्न गर्ने व्यक्ति थिए । तर, समयसँगै उनी व्यापार व्यवसायमा आवद्ध भए । व्यवसायी रामकुमार तिमिल्सिनाका अनुसार घिमिरे ०६५/६६ देखि नै ठमेल क्षेत्रमा काम गर्न शुरु गरेका थिए । शुरुको समयमा अरु व्यवसायीकोमा काम गरी अनुभव हासिल गरिसकेपछि ०६६/६७ पछि महावौद्धबाट घिमिरेले आफ्नै व्यवसायको शुरुवात गरे । आम्दानीको विस्तारसँगै घिमिरेले ०७१ सालबाट रञ्जन ट्रेड सेन्टरमा व्यवसाय गर्न शुरुवात गरे । साथै पछिल्लो समयमा उनकी श्रीमतीले पनि निर प्लाजामा व्यवसाय गर्थिन् । घिमिरेका व्यवसायी साथीहरुका अनुसार ३ भाई मध्येका जेठा सन्तान थिए उनी । उनी ४३ वर्षका थिए । उनका बुबाआमा काभ्रेमै बस्थे । घिमिरेकी श्रीमती र छोराछोरी भने उनीसँगै गौरीघाटमा बस्थे । व्यवसायी तिमिल्सिनाका अनुसार कोरोना महामारीपछि अधिकांश व्यवसायीहरु आर्थिक रुपमा अत्यन्तै ठूलो पीडाबाट गुज्रिरहेका छन् । त्यही ठूलो पीडा घिमिरेलाई पनि पर्यो । मृतक शुदर्शन घिमिरे व्यवसायीहरुलाई एकिन रुपमा थाहा नभएपनि उनको बैंकमा ठूलो ऋण छ । उनी विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेर ऋण लिइरहेका थिए । उनी मासिक ४० हजार बढी सटर भाडा नै तिर्थे । तर, पछिल्लो समय भने आम्दानी कम हुने र ऋण भार यथावत नै रहेको कारणले उनलाई आर्थिक समस्याले थप समस्यामा पार्यो । उनलाई एक बैंकले ऋणको ब्याज तिर्न ताकेता गरिरहेको थियो । तर, उनले सो बैंकलाई ५ लाख रुपैयाँ तिर्नु पर्ने भयो । उनी सँग सो रकम थिएन । उनले धेरैलाई सहयोग मागे । तर, कसैले उनलाई पत्याएन । उनको घरमा पुगेर आएका व्यवसायीहरुका अनुसार आफ्नो सर्कलमा भएका अधिकांशलाई उनले ५ लाख रुपैयाँ सहयोग मागेका थिए । कसैले सहयोग नगरेपछि उनी काठमाडौंबाट काभ्रे लागे । काभ्रेमा रहेका बुबालाई उनले आफ्नो समस्या सुनाए । बुबाले ५ लाख रुपैयाँ दिने पनि बताए । तर, समय लाग्ने भनेपछि उनी काभ्रेको घरबाट पनि निस्किए । उनी काठमाडौं पनि फर्किएनन् । मंगलबार उनी काभ्रेको उनको घरमाथिको जंगलमाा मृत भेटिए । काभ्रे प्रहरीका अनुसार उनले आत्महत्या गरिएको बुझिएको छ । उनले आत्महत्या गर्नुअघि सुसाइड नोट पनि लेखेको भेटिएको प्रहरीको भनाइ छ । तर, सुइसाइट नोट भने अहिलेसम्म सार्वजनिक भएको छैन । व्यवसायीहरुका अनुसार घिमिरेले सुइसाइट नोटमा आफुलाई श्रीमती र छोराछोरीको धेरै माया लागिरहेको तर व्यवहारिक कारणले आफू आत्महत्या गर्ने स्थितिमा पुगेको उल्लेख गरेका छन् । रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्दै आएका महेश पौडेलले व्यवसायीहरु नेपाल राष्ट्र बैंकले लिएको मौद्रिक नीतिका कारण पीडित भएको बताउँछन् । ‘हामीले तिर्नुपर्ने पैसा तिर्नको लागि वित्तीय संस्थाहरुले निकै दवाब दिन्छन्, पसल नै उठाउने धम्की दिन्छन्, तर हामीलाई थप लगानी गर्दैैनन्’, उनले भने, ‘घिमिरेलेजी ले आत्महत्या गर्नुपर्ने परिस्थिति आएकै बैंक तथा वित्तीय संस्थाहरुको कारणले हो ।’ साथै सधैँको दशैंमा व्यापारीहरुलाई चिनियाँ नाकाबाट सामान ल्याउने काममा समस्या हुने गरेको र त्यसबाट व्यवसायीमा सिर्जना भएको पीडामा राज्यले वास्ता नगरेको पौडेलको भनाइ छ । उनका अनुसार आत्महत्या गरेका व्यवसायी घिमिरे लगायत थुप्रै व्यवसायीहरुले खरिद गरेर ल्याएको सामान लामो समयदेखि नेपाल–चीन नाकामा रोकिएको छ । तर, सरकारले व्यवसायीहरुको सामान निर्णायक रुपमा छुटाउनको लागि कुनै पहल गरेको छैन । पौडेलका अनुसार व्यवसायी घिमिरे अरु कुनै कारणले नभएर वित्तीय संस्थाहरुको दबाब र राज्यको बेवास्ताले एउटा होनहार व्यापारीले आत्महत्या गर्नु परेको दुःख व्यक्त गरेका छन् ।

खुकुरी रमको प्रायोजनमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’को प्रिमियर शो सम्पन्न

काठमाडौं । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ को काठमाडौंमा प्रिमियर शो सम्पन्न भएको छ । खुकुरी रम प्रिमियर शोको प्रायोजक रहेको थियो । खुकुरी रमकै प्रायोजकत्वमा यो फिल्मको थप प्रिमियर शो पोखरामा सोमबार हुँदैछ भने धरानमा आगामी बुधबार गर्ने कार्यक्रम रहेको छ । निर्माण पक्षका अनुसार ‘गोर्खा : बिनिथ द ब्रेभरी’ च्यारिटी मुभी हो । यो मुभीको शोहरुबाट प्राप्त आम्दानी गोर्खा वेलफेयर ट्रस्टलाई प्रदान गरिने यसअघि नै घोषणा भइसकेको छ । खुकुरी रम प्रमोसनल पार्टनरको रुपमा रहेको यो फिल्म भदौ २४ गतेदेखि प्रदर्शनमा आउनेछ । यो चलचित्रमा थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाइते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । यही कथा चलचित्रमा देख्न पाइन्छ । काठमाडाैंको विशेष शोमा उपस्थित निर्देशक प्रदीप शाहीले आफ्नो कथा आफैँले भन्ने कोशिस गरेको बताए । जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जली दिन फिल्म निर्माण गरेको उनको भनाइ थियो । काठमाडाैंमा भएको ‘शो’मा कुलवीर थापाका छोरा, बुहारी तथा नातिहरु उपस्थित थिए । शोमा सहभागिता जनाउन बेलायतदेखि कलाकारहरु समिर गुरुङ, गौमाया गुरुङ र स्टुअर्ट वाल्कर नेपाल आएका थिए । चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायाङ्कन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ । नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको युके, अमेरिका, ब्रूनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ भएको थियो । नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

जग्गा खरिद गरेको १५ वर्षपछि भोजपुरमा रंगशाला निर्माणको काम अगाडी बढ्यो

टक्सार (भोजपुर) । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो । जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, सो काम नै नभएपछि खेलाडी मात्र होइन खेलप्रेमीसमेत निराश देखिएका थिए । विसं २०६४ मा खरिद भएको जग्गामा अहिले आएर भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहको छ । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर विभिन्न खेलकुद गतिविधि भई रहने र खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा पनि चिनिन्छ । भौतिक पूर्वाधारका अभावमा पनि यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलमा भाग लिएका छन् । उचित भौतिक संरचनाको निर्माण कार्य भने नहुँदा यहाँका खेलाडी सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा प्रतियोगिता खेल्न बाध्य बनेका थिए । नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल भएका ब्याडमिन्टनका खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायतका खेलाडी पनि जिल्लाकै हुन् । जिल्लामा व्यवस्थित रङ्गशाला अभावमा भने हरेक खेलकुद प्रतियोगिता प्रभावित हुँदै आइरहेका छन् तर पछिल्लो समयमा आएर जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि सदरमुकाममा रङ्गशालाका साथै ग्रामीण क्षेत्रमा समेत खेल मैदान बन्नेक्रममा छन । खेलकुद क्षेत्रमा अहिले हुँदै आएको परिवर्तन भने सह्रानीय भएको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवाल बताउँछन् । अन्तर्राष्ट्रियस्तरका गोल्डकपसमेत सञ्चालन हुने जिल्लामा रङ्गशाला र खेल मैदान निर्माणले सबै उत्साहित बनेका छन् । अध्यक्ष सुवाल प्रदेश र स्थानीय सरकारको सहयोगमा खेलकुदका संरचनासमेत बन्ने चरणमा रहेकाले अबको केही वर्षभित्रमा खेलकुदका गतिविधिसमेत जिल्लामा अझै बढ्ने बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म त भोजपुर सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था छ, भोजपुर नगरपालिका–७ को कोदारमा निर्माण भइरहेको रङ्गशाला निर्माणको अन्तिम चरणमा पुगेको छ, यो पूरा भएमा प्रतियोगिता सञ्चालनमा सहजता हुन्छ, ठूला प्रतियोगितासमेत जिल्लामा नै सञ्चालन गर्न सकिन्छ ।’ प्रदेश सरकारको १४ करोड पाँच लाखको लागतमा सो रङगशाला निर्माणाधीन छ । आगामी २०८० सालसम्ममा निर्माण अवधि रहे पनि अवको केही समयभित्रमा काम सम्पन्न हुने निर्माण व्यवसायी श्याम श्रेष्ठले जानकारी दिए । तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ रायमाझी मार्सेली निर्माण जेभीले रङ्गशाला निर्माणको काम गरिरहेको छ । करिब पाँच हजार दर्शक अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले जिल्लावासीलाई थप उत्साहसमेत जगाएको छ । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगितासमेत भइरहेको अवस्थामा रङ्गशालाको निर्माणले खेल मैदानको समस्या दीर्घकालीनरुपमा समाधान हुने खेल अभियन्ता विनम श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘खेल मैदान सानो हुँदा ११ खेलाडीले खेल्न पाउने फुटबल पनि नौ जनालाई मात्र खेलाउनुपर्ने अवस्था छ, फुटबल मात्र होइन जिल्ला तहमा हुने अन्य खेलसमेत प्रभावित बनेका थिए ।’ जिल्लामा ढिलै भए पनि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनिरहेको छ । यसले खेल क्षेत्रको विकाससँगै खेलाडीमा उत्साहको रङसमेत भरेको छ । मापदण्डअनुसारका खेल मैदान नहुँदा सोचेजस्तो खेलाडीको वृत्तिविकाससमेत हुन सकिरहेको थिएन । सदरमुकाममा मात्र होइन अहिले स्थानीयतमा पनि साना ठूला रङ्गशाला बन्दै छन् भने कतिपय ठाउँमा बन्ने चरणमा छन । दुर्गम गाउँमा जन्मिएर विश्वमा समेत नाम कमाउन सफल अल्ट्रा धाविका मीरा राईको सम्मानमा पूर्वी पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा ‘मीरा राई रङ्गशाला’को निर्माण कार्यसमेत थालिएको छ । पौवादुङमा गाउँपालिकाले ५६ करोडको लागत रहेको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको हो । अल्ट्रा धाविका राईको सम्मानमा निर्माणाधीन रङ्गशाला निर्माणमा आफु लागि परेको गाउँपालिकाका अध्यक्ष किरण राईको भनाइ छ । उनी भन्छन्, ‘हामीले सवैको साथ सहयोग लिएर रङ्गशाला निर्माणको काम पूरा गर्ने लक्षका साथ काम अगाडि बढाएका छौँ ।’ यसलाई पूरा गर्न जिल्लावासीका साथै सबै पक्षको साथ सहयोग आवश्यक छ । खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्दै आइरहेकाकाले जिल्लामा पछिल्लो समयमा स्थानीय तहहरुमा समेत खेल मैदानसहित खेल क्षेत्रको विकास सुरु भएको छ ।