महिला साफ च्याम्पियनसिप : साँझ ५ बजे नेपाल र बंगलादेश उपाधिका लागि भिड्दै, टिकट शुल्क कति ?
काठमाडौं । दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ ५ः०० बजे सुरु हुने भएको छ । सोमबार साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको हो । नेपाल र बंगलादेश पहिलो पटक उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन् । महिला साफ च्याम्पियनसिपको समूह चरण र सेमिफाइनलकै टिकट दर फाइनलका लागि यथावत राखिएको बताइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँ टिकट दर कायम भएको छ ।
तीस वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो
काठमाडौं । ‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ’ हालै एक कार्यक्रममा नगद रु एक करोडको पुरस्कार ग्रहणपछि चर्चित वैज्ञानिक एवं अनुसन्धानकर्ता महावीर पुनले भने। मानिसहरु परिवर्तन चाहन्छन् । परिवर्तनको कुरा गर्छन् तर, असल हिरो ती हुन् जो अगाडि बढ्छन् र आफैँ परिवर्तन् हुन्छन् । तिनै उदाहरण हुन् वैज्ञानिक, आविष्कारक र सामाजिक अभियन्ताका रुपमा चिनिने महावीर पुन जसले वैज्ञानिक आविष्कार गरेर नेपालको पहिचानलाई विश्वभर पुर्याए। विरलै भेटिन्छन् यस्ता मान्छे जो पैसादेखि डराउँछन् । यो त्यही समाज हो जहाँ पैसा कमाउन र सम्पत्ति जोड्न मानिले हदैसम्म गर्छन् । तर पैसाको पछि नलाग्ने, देशको उन्नति र युवाको भविष्यमा चिन्तित पुन पनि यही समाजमा भेटिन्छन् र अझै पुन जस्ता नेपाली आमाका सपुतहरु राष्ट्रका लागि धेरै जन्मनुपर्छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेशनको संयुक्त पहलमा नगद एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियो । प्रसिद्ध म्यागासेसेलगायत दर्जनौं पुरस्कार प्राप्त गरिसकेका पुनलाई पुरस्कार र मान पदवीप्रति कत्ति पनि मोह छैन । उनी भन्छन्, ‘पुरस्कार पाउँदा सुरुमा सबै खुसी हुन्छन् । पुरस्कार, पदक र सम्मान हौसला प्रदानका लागि हुन् । मलाई अवार्ड दिन चाहनेलाई भन्ने गरेको छु, पुरस्कार मलाई नदिनुस् भनेर घोषणा गरेको छु, ती पुरस्कार युवालाई दिनुस् जसबाट अनुसन्धान र आविष्कार गर्न प्रेरणा मिलोेस् । मेरो नाम जोडिएर आएको पुरस्कार लिन्न ।’ महावीर पुन सतकर्मको परिचय पनि हो । समर्पणभाव र जनताका साथ कार्यसिद्धिमा लाग्यो भने स्रोत र सहयोग आफैँ जुट्छ भन्ने उदाहरण हो पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र । साना–साना अनुसन्धान र कार्यबाट देश तथा विदेशका विशिष्ट परिचय बनाएका छन् पुनले । अहिले राष्ट्रिय आविष्कार केन्द्रका लागि वैज्ञानिक अनुसन्धानकर्ताका रुपमा नभई एउटा गोठालेका रुपमा काम गरिरहेको पुन बताउँछन् । ‘म अनुसन्धान आविष्कारक हैन । गोठालेका रुपमा काम गरिरहेको छु । आविष्कार भनेको आउने युवा वैज्ञानिकको सीप उपयोग गर्ने फोरमका रुपमा स्थापित गरिरहेको छु’, उनले भने । विसं २०११ माघ ९ गते म्याग्दीको नागी गाउँमा जन्मिएका पुनले गाउँमै प्रारम्भिक शिक्षा हासिल गरे । जहाँ कलम हैन ढुङ्गाले लेखिन्थ्यो । संयोगले अमेरिकामा स्नातक अध्ययनको छात्रवृत्ति पाए । जसले पुनको जीवनलाई बदलिदियो । अमेरिकाको नेब्रास्का राज्यमा रहेको नेब्रास्का विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरेपछि पुन नेपालको शैक्षिक तथा आर्थिक विकासका लागि नमूना शिक्षा प्रदान गर्ने स्कुल स्थापना गर्ने साहस र महत्वकांक्षी लक्ष्य लिएर गाउँ फर्किए । पुन संसारभरका नेपालीमाझ एक नेपाली शिक्षक, युवा वैज्ञानिक, महान् आविष्कारक तथा सामाजिक अभियन्ता भनेर चिनिन्छन् । पुनले म्याग्दीका दुर्गम गाउँमा कम्प्युटर पुर्याए। इन्टरनेट जोडेर उदाहरणीय काम गरे । बिग्रेका कम्प्युटरहरूको पार्टपुर्जा जोडेर गाउँमा कम्प्युटर आविष्कार गरे अनि वायरलेस प्रविधिमार्फत गाउँ–घर र त्यहाँका विभिन्न विद्यालयमा इन्टरनेट पुर्याए । आविष्कार केन्द्र किन ? पुनले आविष्कार केन्द्र कुनै स्वार्थका लागि खोलेका हैनन् । यहाँबाट कुनै लाभ लिऔँला भन्ने महत्वकांक्षा पनि छैन । तर युवाको सीप र सिर्जनालाई आविष्कार गरेर उद्यमशीलता विकास गर्ने पुनमा हुटहुटी छ । त्यसैले पुन आफ्नो यात्रामा अविचलित छन्। ‘यो मैले मेरा लागि खोलेको हैन, मलाई केही पनि चाहिँदैन’, उनले भने, ‘म फरक किसिमको स्वतन्त्र मान्छे हुँ । ३० वर्ष भयो स्वतन्त्र मान्छे बनेको । यो अवधिसम्म म कुनै जागिर नखाएको मान्छे । कुनै व्यवसाय गर्न जानिन । जागिर चाहिँ मन नपर्ने भएर नखाएको । व्यापार व्यवसाय गर्न कुनै आइडिया पनि छैन । पूँजी छैन । त्यही भएर म चाहिँ एउटा झोला बोकेर हिँड्ने मान्छे भएको हो । र त्यो झोला बोकेर हिँडेको ३० वर्ष भयो ।’ पुनले ३० वर्ष झोला बोकेर हिँडेको र २० वर्ष गाउँमा बिताएको निकै दर्दनाक कहानी सुनाए। उक्त अवधिमा पुनले नेपालका पहाडी जिल्लामा घुम्ने गाउँलेहरुलाई सघाउने काम गरे। गाउँले जनताको सुखदुःखमा रमाउने उनको बानी बन्यो । पुन भन्छन् ‘मैले २० वर्ष गाउँ घुम्दा गहिरोसँग प्राप्त गरेको ज्ञान भनेको नेपाल गरिब रहेछ भन्ने थाहा पाए । नेपालमा युवाहरु रोजगारीका लागि बाध्य भएर विदेशमा जाने चलन छ । यदि नेपाल समृद्ध भइदिएको भए आज ५०/६० लाख नेपाली विदेसिनुपर्ने थिएन् ।’ बीस वर्षको अवधिमा पुनलाई रोजगारी सिर्जना गर्नुपर्छ भन्ने बुद्धि आयो । तर, कसरी ? अमेरिका, जापान, कोरिया, मलेसिया, खाडी मुलुकमा रोजगारी कसरी गरिरहेको छ । रोजगारी सिर्जनाका लागि उद्यमीहरुको सिर्जना गरिनुपर्छ । ‘हामी नेपालीहरु अलमलिएका छौँ, रोजगारी सरकारले सिर्जना गर्ने हो भनेर सरकारलाई गाली गर्छौं, रोजगारीको सिर्जना वास्तवमा उद्यमीले गर्ने हो । उद्यमी नभएकाले रोजगारी भएन । अमेरिकामा आठ वर्ष बसेको मान्छे आफैँलाई थाहा थिएन रोजगारी कसरी बनाउने । गाउँमा २० वर्ष बसेपछि बल्ल ज्ञान भयो । उद्यमी बन्नलाई अनुसन्धान र आविष्कार गर्नुपर्छ । त्यही सोचका कारण आविष्कार केन्द्रको जन्म भयो’, पुनले भने। उद्यमी बन्नका लागि सबैभन्दा पहिलो कुरा अनुसन्धान चाहिन्छ । त्यो जुनसुकै क्षेत्रमा किन नहोस् । उद्यमी बन्नका लागि अनुसन्धान गनैपर्छ । अनुसन्धान कति आवश्यक रहेछ भन्ने कुरा थाहा पाउन पुनलाई २० वर्ष लाग्यो । अहिले १० वर्षदेखि पुनले जानेको कुरा सिकाउँदै छन् । पुनको विचारमा नेपालको अर्थतन्त्र सुधार्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरुले नै हो । सरकारले उद्यमी फस्टाउने वातावरण बनाइदिने हो । पुनका अनुसार राष्ट्रिय आविष्कार केन्द्र भनेको ‘प्लेटफर्म’ हो त्यहाँ आएर काम गर्ने वातावरण बनाइदिएको हो । हामीले वातावरण बनाएका छौँ, आइडिया र सिर्जनशीलता, भएका नेपालीले केन्द्रमा आविष्कार गर्नसक्छन् । आइडियामा अनुसन्धान गरेर उद्यमशीलता विकासका लागि केन्द्रले प्रोत्साहित गर्ने गरेको पुनले सुनाए। उनले भने, ‘केन्द्रमा आएर कसैले कुनै आइडिया सिक्न चाहन्छ, भने बेस्सरी काम गर पैसाको चिन्ता नगर भनेको छु । तर, यो कुनै मिडियाबाजी गर्न भनेको हैन । बाध्य भएर भनेको हो । म जस्तो पैसा नभएको मान्छेले भनेको कस्ले पत्याउँछ होला र तर पनि हिम्मत हारेको छैन मिहिनेत गरिरहेको छु ।’ पुनको अनुभवमा अनुसन्धान ‘रिस्की’ काम हो । धेरै लगानी र हन्डर खाएर मात्रै सफलता पाइन्छ । आविष्कार केन्द्रलाई निम्नवर्गका व्यक्तिले भरोसाको केन्द्रका रुपमा हेरेको र उनीहरुको निरन्तर सहयोगबाट हालसम्म १५ करोड सहयोग जुटिसकेको पुनले जानकारी दिए । पुनले यस्ता आविष्कार केन्द्र देशभर विस्तार गर्नुपर्ने र यसमा सरकारले विशेष चासो दिनुपर्ने औँल्याए। एनआरएनएहरुले विदेशमा आर्जन गरेको आर्थिक लगानी ज्ञान, सीप र प्रविधिलाई नेपालमा अनुसन्धान क्षेत्रमा लगानी गर्नुपर्ने पुनको भनाइ छ । साथै, अनुसन्धानमूलक क्षेत्रमा लगानी गर्न नेपालका बैंकहरुलाई आग्रह गरे । आविष्कार केन्द्रमा के भइरहेको छ ? कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा अवस्थित राष्ट्रिय आविष्कार केन्द्रमा साना–साना अनुसन्धान र आविष्कारका काम भइरहेका छन् । पुनका अनुसार सबै क्षेत्रमा काम भइरहेको छ । कृषि, स्वास्थ्य, शिक्षा तथा इन्जिनियरिङ क्षेत्रमा भेरै काम भइरहेको छ, रकेट, ड्रोन बनाउनेदेखि इलेक्ट्रोनिक ग्याजेट, सफ्टवेयर हार्डवेर निर्माणको काम पनि भइरहेको छ । एउटै साँघुरो थलोमा यी सब काम कोचाकोच गरेर भइरहेका पुनले बताए। उनले भने, ‘अहिले हामी सिक्दैछौँ । अहिले आविष्कार केन्द्र निम्न माध्यमिक अवस्थामा छ । हामीलाई पिएचडी गर्न धेरै वर्ष लाग्छ । किनभने यो काम जानेर पैसा भएर गरेको पनि हैन ।’ सन् २०१२ मा दर्ता भएको आविष्कार केन्द्रले सन् २०१७ सम्म केन्द्रको खातामा रु एक पनि थिएन । आविष्कार कसरी गर्ने भन्ने पनि थाहा थिएन । म झोला बोकेर हिँड्नेले कसरी गर्ने । सन् २०१८ देखि सुरु भएको अनुसन्धानको काम छोटो अवधिमा पनि राम्रै उपलब्धि भएको छ । यसलाई अझै माथि लैजाने पुनको सोच छ । अनुसन्धानलाई प्राथमिकता नदिए देशको अर्थतन्त्रलाई उकास्न नसकिने पुनको भनाइ छ ।
विजया दशमीको उत्तम साइत बिहान ११ः५१ बजे
काठमाडौँ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ । नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ । असोज १० गते बिहान १०ः२३ बजे घटस्थापनाको शुभ साइत यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उनले सुनाए । असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ । असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ । असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ । असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ । असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ । असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ । बडा दशैँका अवसरमा बजार पसलमा पनि भीड हुने गर्छ । राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ । दशैँ नजिकिएसँगै बजारमा भीड बढ्न थालेको छ । दशैँमा सहुलियत मूल्यमा खाद्य पदार्थ बिक्री वितरणका लागि सरकारले सुपथ मूल्य पसल पनि सञ्चालन गर्दै आएको छ । दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ । बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन् । यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ । शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ । रासस