अपाङ्गता भएका महिलाहरुले यसरी मनाए तीज

सिन्धुली । ‘सुनको चुरा, औंठी नि सुनकै छ।।।।’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’ कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरु । श्रवण क्षमता कम भएका महिलाहरु घन्किरहेको गीतमा झुम्न सकेका थिएनन् । कारण थियो, गीत बजेको पत्तो नहुनु । हिँडाइसम्बन्धी समस्या भएका केही महिलाहरु ह्विलचियरबाट उठ्न सकेका थिएनन् । एकापट्टीको खुट्टा मात्र गुमाएकी दिपा कार्यक्रम हलको कुर्सीमा बसेर सबै साथीहरुलाई नचाउन उस्काइरहेका थिए। घन्किरहेको गीतको शब्द, सुनको चुरा औंठी नि सुनकै छ, माया जालमा परेकी क्या हो म, दिनरात झझल्को उनकै छ । ‘हे, मनको कुरा गा¥हो भो खोल्न, क्यारी भनु थाल्यो नि मन पोल्न, सुनको चुरा औंठी नि सुनकै छ । माया जालमा परेकी क्या हो म, दिनरात झझल्को उनकै छ ।’ यस गीतले तान्यो, कमलामाई नगरपालिका–७ माझिटारकी ह्विलचियर प्रयोगकर्ता गोमादेवी कार्की (चमलादेवी) लाई । गायत्री थापाको शब्द, उनकै सङ्गीत । राजमजी खाँण र देवी घर्तीको स्वर ठूलो आवाजमा बजिरहँदा उहाँलाई यो हरफले मन छोयो । आफ्नै कथा गीतमा भनिदिए झैँ लाग्यो । ‘शौचालय जाँदा लडेर मेरुदण्ड भाँचिएदेखि हास्न सकेको छैन । कम्मरमुनिको अङ्ग चल्दैन, नाच्नु कसरी ?’ आँखा आँसुले भरियो । उनी, निःशब्द भइन्। केही समयपछि तीजको रमझममा रमाउने उपाय बुन्न थालिन । दुःख, पीडालाई बेवास्ता गरेर हाँस्ने जाँगर बढाइन्। सुनको चुरा नभएपनि औँठी र रिङ सुनकै छ भनेर ठट्यौली गर्न थालिन् । ह्विलचियरमा बसेरै पाखुरा भाँचीभाँची नाच्न शुरु गरिन् । अन्य साथीसङ्गीले ताली पिटेर साथ दिए । कार्यक्रमस्थल हाँसोले भरियो । सबैको अनुहारमा उमङ्गता छायो । फराकिलो हृदय मात्र होइन् फरासिलो स्वभावले भरिपूर्ण भएकी चमलादेवीलार्ई गीतले भने झैँ मनको कुरा खोल्न गा¥हो भएपनि तीजको कुरा बोल्न केहिले छेकेन । उमेरले ६९ वर्ष पार गर्नै लाग्दा श्रीस्वस्थानीको महिनामा जन्मेको भएर आफ्नो नाम गोमा कार्की राखेदेखि ४० वर्ष कटेपछि रमाउन नपाएको तीजका कुरा खुलेर सुनाइन्। ‘नारी जातिको पर्व हो तीज । साथीसङ्गी जम्मा भएर रातो सारी लर्खाउँदै बारुले कम्मर मर्काएर पाउजु बजाउँदै छमछमी नाचिन्थ्यो,’ अपाङ्गता हुनुअघिको तीजलाई सम्झिनु भयो । झन्डै २५ वर्षपछि सार्थीसङ्गीसँग तीज मनाउन पाएको खुशियालीले उहाँलाई फेरी एक्छिन भावुक बनायो । ‘तीजको व्रत बस्ने अघिल्लो दिन रातको १२ बजेसम्म दर खाएर बस्थ्यौँ । भोलिपल्ट तीन सय जना महिला जम्मा भएर खोलामा नुहाउन जान्थ्यौ । बाटोबाटो नाँच्दै शिव मन्दिर पूजा गर्न पुग्थ्यौँ । नाच्दैनाच्दै घर फर्किन्थ्यौँ । गाउँमा सबैभन्दा फराकिलो आँगन जसको घरमा छ, उसैकोमा दिउँसो सामूहिक पूजा लगाइन्थ्यो । रातभर जाग्राम बस्थ्यौँ । त्यो बेलाको जस्तो रमाइलो अहिलेको तीजमा कहाँ छ र छोरी ?,’ उनले सुनाइन् । उबेला मनाइने तीज र यो बेला बनाउँदै गरिएको तीजबीचको फरक तुलना गर्दाका क्रममा चमलादेवीको अगाडि खीर, अचारलगायतका परिकार आयो । पहिलो चम्चा खीर निल्दै उहाँले भन्नुभयो, ‘मीठो रहेछ । यसरी पार्टी प्यालेसमा आएर दर खाएको आजै हो ।’ उनी मात्र कहाँ हो र ? उनकै छेउमा रहेका तथा अपाङ्गता भएका महिलाहले पनि आफूहरुको पहिलो अनुभव भएको सुनाए । यसरी, उस्तैउस्ता र पीडा मिल्दाजुल्दा भएका साथीसङ्गीसँग बसेर सुविधायुक्त ठाउँमा तीज मनाउन पाउनु आफूहरुका लागि हर्षको कुरा भएको सुस्त श्रवण शक्ति भएकी सुनिता दाहालले बताइन् । अपाङ्गता भएका महिलाको लागि शुभकामना आदाप्रदान तथा दर खाने कार्यक्रम सिन्धुली जिल्लामै पहिलोपटक भएको सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीकी अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) बताउछिन्। ‘महिलालाई वर्षेनी दर खान स्थानीय सरकारले सरकारी सम्पति छुट्याउने गर्दछ । अपाङ्गगता भएका महिलाहरुलाई समेटिँदैन । सपाङ्गता भएका महिलाहरु कार्यालय, गाउँ तथा पार्टी प्यालेसमा मनाउँछन्,’ उनले भनिन्, ‘सपाङ्गता भएका महिलालाई जस्तै अपाङ्गगता भएका महिलाहलाई पनि तीज मनाउने रहर हुन्छ । त्यसैले यस वर्ष अपाङ्गगता भएका महिलाका लागि छुट्टै कार्यक्रमको आयोजना गर्नु परेको हो ।’ अपाङ्गगता भएका महिलालाई सरकारी कार्यालयलेसम्म अपाङ्गगतासम्बन्धी बाहेकका कार्यक्रममा नसमेटेको उनको दुखेसो छ । कमलामाई नगरपालिकाले भने तीज मनाउन आर्थिक सहयोग गरेको आयोजकसमेत रहेका सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीले जनाएको छ । रासस ।

मुस्ताङको लोमन्थाङमा गल्फ प्रतियोगिता

काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले जानकारी दिए । ‘यो गल्फ प्रतियोगिता विश्वकै सर्वाधिक उचाइको भएको हाम्रो दाबी छ’, उनले भने, ‘यस प्रतियोगिताले यहाँको सम्भावनालाई थप उजागर गरेको छ ।’ प्रतियोगितामा कूल ३५ प्रतियोगी सहभागी भएको जानकारी दिँदै गुरुङले ८१ वर्ष उमेरसम्मका व्यक्तिले भाग लिएको बताए । उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ श्याम तामाङ र महिलातर्फ सुस्मा सिंह च्याम्पियन बनेका छन् । अघिल्लो वर्ष उक्त स्थानमा गल्फको परीक्षण गरिएको थियो । उक्त स्थानमा गल्फ कोर्ष निर्माणका लागि पूर्वाधार तयार गर्न अघिल्लो वर्ष संसद् विकास कोषअन्तर्गत १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । गाउँपालिकाले प्रतियोगिता सञ्चालनका लागि १० लाख रुपैयाँ छुट्ट्याएको अध्यक्ष गुरुङले जानकारी दिए । रासस

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई

काठमाडौं । मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रन्नर अप पुर्णिमा प्रजापती र सेकन्ड रन्नर अप दा लामु शेर्पा भएकी छन । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो पे ले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक मण्डलमा धुर्ब बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए । मिस नेसन नेपालको यो पहिलो संस्करण हो । आयोजकको अनुसार हरेक बर्ष मिस नेसन नेपाल सन्चालन गरेर महिलाहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य राखेको बताए । यस्तै प्रतियोगितामा भिवोर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पुर्णिमा प्रजापती, मिस फ्रेन्डली मरिना ढुङ्गेल,मिस कन्फिदेन्स श्वेता शर्मा, मिस त्यालेन्ट कोमल पौडेल, मिस मल्टीमिडिया आरती स¥अफ, मिस डिसिप्लिन अन्जु थामी, बेस्ट पर्सनालिटी सँगम बस्नेत, मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको थियो । कार्यक्रम थापाथली स्थित ब्लुबर्ड मलमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बश्यालले गरेका थिए । कार्यक्रम सन्चालन रोहित भट्टले गरेका हुन । विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिएका थिए ।