बाढीमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

धनगढी । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दार्चुलामा बाढी पहिरोको कारण मृत्यु भएको परिवारलाइ एक लाखका दरले राहत रकम पठाएको छ । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारलाई एक लाख र घर क्षति भएका परिवारलाई ५० हजार राहत उपलब्ध गराउने निर्णय अनुसार सो रकम पढाएको मन्त्रालयले जनाएको छ । यस्तै, मृतकका परिवारलाई क्रिया खर्च बापत थप २० हजार रकम पढाएको सुदूरपश्चिम प्रदेस सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलले जानकारी दिएका छन् । बाढीका कारण पुर्णरुपमा क्षती भएका ४२ ओटा घरपरिवारलाई ५० हजारका दरले राहत रकम दार्चुला पढाएको मान्त्री रावलले बताए । मन्त्रालयले सो रकम जिल्ला प्रशासन कार्यलय दार्चुलालाई पढाएको हो । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढीका कारण दार्चुलाको नौगाड क्षेत्रको जनजीवन विच्छेद भएको स्थानमा वैकल्पिक व्यवस्था सहित राहत र खाद्यान्न ढुवानी गर्ने समेत निर्णय गरेको छ । बाढीका कारण सो क्षेत्रका सडक र झोलुङुगे पुल बगेपछि सो स्थानमा वैकल्पिक व्यवस्था गरेर भएपनि प्रदेश सरकारले खाद्यान्न ढुवानी गर्ने बताएको छ । बाढीका कारण सडक बिच्छेद भएको स्थानमा सडक सञ्चालन गर्नका लागि नेपाली सेनाले काम गरिरहेको छ भने तीन वटै सुरक्षा निकायहरु विपदपछि सो क्षेत्रमा गर्नुपर्ने काममा खटिएको मन्त्री रावलको भनाइ छ ।

मानिसहरुबीच विश्वास घट्दो, दुःखी व्यक्तिको संख्या १० वर्षयताकै उच्च

काठमाडौं । पछिल्लो समय मानिसहरुमा एक अर्काप्रति विश्वास गर्नेको संख्या घट्दै गएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडीपी) ले सार्वजनिक गरेको  सन् २०२१/२२ को मानव विकास प्रतिवेदन अनुसार सो पाइएको हो । सो प्रतिवेदन अनुसार अधिकांश व्यक्तिमाथि विश्वास गर्न सकिन्छ भन्ने सोचाई राख्ने मानिसको संख्या विश्वभरी ३० प्रतिशतभन्दा कम छ । जुन अहिलेसम्मकै न्यून हो । समिक्षा अवधिमा  मानिसहरुले बढी दुःखी महसुस गरेको समेत अध्ययनले बताएको छ । पछिल्लो दशकदेखि बढ्दै गइरहेको तनाव, उदासी, क्रोध र चिन्ता हाल अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । विश्वव्यापी रूपमा तनाव भएको बताउने मानिसहरूको अनुपात ३५ प्रतिशतभन्दा बढी छ, जुन् एक दशकअघि भन्दा १० प्रतिशत बढी हो । कूल १९० वटा देशमा गरिएको अध्ययन अनुसार बनेको प्रतिवेदनले ९० प्रतिशत देशहरूमा मानव विकास सूचकांक ओरालो लागेको देखाएको छ । बढ्दै गइरहेको विश्वव्यापी उथलपुथल जस्तै, असमानता, जलवायुजन्य विपद्, द्रुत प्राविधिक नवप्रवर्तन र सामाजिक अविश्वासका कारणले उक्त सूचकांक अप्रत्याशित रुपले ओरालो लागेको अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले जानकारी गराए । ‘अनिश्चित समय, अस्थिर जीवन : परिवर्तित विश्वमा हाम्रो भविष्य’ आशयको उक्त प्रतिवेदन अनुसार मानव विकासले लगातार दोस्रो वर्ष उल्टो गति लिनाले मानव विकासमा यसअघि कहिल्यै नदेखिएको स्तरमा धक्का परेको डा. वाग्लेको भनाई छ । युक्रेनमाथिको आक्रमणले एउटै पुस्तामा सबैभन्दा ठूलो बजार महंगी निम्त्याउनुका साथै विश्वव्यापी खाद्य असुरक्षा संकटले करोडौंलाई भोकै पार्ने खतरा देखाएको छ । कोभिड-१९ महामारीले मानिसको स्वास्थ्य र मानसिक कल्याणमा क्षति पुर्याउनुका साथै अर्थतन्त्रलाई ध्वस्त पार्ने र लैङ्गिक असमानतालाई झन् बढाउने काम गरेको समेत अध्ययनले बताएको छ । समीक्षा अवधिमा विशेषगरी बालबालिकाहरू प्रभावित भएको पाइएको छ । उनीहरूमध्ये ५० प्रतिशत भन्दा बढीले मानसिक, शारीरिक वा यौन हिंसाको सामना गर्नु परेको देखिएको छ । करिव ४५ करोड बालबालिका वा हरेक छ जनामा एक जना हाल द्वन्द्वग्रस्त क्षेत्रहरूमा बसोबास गर्छन्, जसले आघातजन्य तनासहित उनीहरूको मानसिक स्वास्थ्यमा विनाशकारी परिणामहरू निम्याइरहेको उक्त प्रतिवेदनले जनाएको छ । समाधानका उपाय कार्यक्रममा प्रतिवेदनलाई प्रस्तुत गर्दै अर्थशास्त्री डा. वाग्लेले मानव विकासको लागि विभिन्न माग रहेको बताए । उनका अनुसार मानव विकासलाई थप बलियो बनाउँदा त्यसले मानिसलाई भविष्यतर्फ अघि बढ्न गर्न र परिवर्तनको सम्वाहक हुन सक्ने मानिसहरूको क्षमतालाई उर्जागर गर्न मद्दत गर्नेछ । त्यस्तै, बुझाई र गराईको परम्परागत तरिका र आजको समयको माग बीचको बढ्दो बेमेल केही नयाँ गर्ने अवसर रहेको उनले बताए । त्यसैगरी, मानिसहरु बीच घट्दै गएको विश्वासलाई पुनः निर्माण गर्नको लागि नयाँ बाटो तय गर्नुपर्ने देखिन्छ । मानिसहरुको सोच परिवर्तन गर्न, उनीहरुको पहिचान गर्न तथा मानव आचरणप्रतिको बुझाइलाई थप फराकिलो बनाउनु पर्छ । ‘हामीले आकांक्षा गरे अनुसारको भविष्य हासिल गर्नका लागि संस्थाहरू आजको विश्व अनुकूल बन्न आवश्यक छ, मानसिक पीडा कम गर्ने, संकटहरू न्यून गर्ने र मनोवैज्ञानिक जुझारुपन विकास गर्ने काम गर्नुछ, यसमा मानसिक स्वास्थ्य सेवाको पहुँचलाई उल्लेख्य रूपमा विस्तार गर्ने कार्य पर्दछ,’ कार्यक्रममा बोल्दै उनले भने । लगानी, बीमा र नवप्रवर्तनमा केन्द्रित नीतिहरूले मानिसहरूलाई अनिश्चितताको सामना गर्दै अघि बढ्न सक्षम बनाउँछ । नवीकरणीय ऊर्जा चरम प्राकृतिक प्रकोपहरुको पूर्वतयारी र पृथ्वीमाथिको दबाब कम गर्नका लागि लगानीका नीति आवश्यक देखिन्छ । सामाजिक सुरक्षासँगै अनिश्चित संसारमा आइपर्ने आकस्मिक परिस्थितिहरूका लागि हाम्रो समाजलाई तयार राख्न बीमा बढी महत्वपूर्ण छ । त्यस्तै, प्राविधिक, आर्थिक, सांस्कृतिक-मानवताले सामना गर्ने अज्ञात चुनौतीहरूको सामना गर्न धेरै नवप्रवर्तन पनि चाहिने प्रतिवेदनमा उल्लेख छ । ‘यदि हामीले साझा लक्ष्यहरूका लागि मिलेर काम गर्ने हों भने हामीले धेरै कुरा हासिल गर्न सक्छौं, हामी यहाँबाट कतातिर जान्छौं भन्ने कुरा हामीमाथि निर्भर गर्दछ,’ कार्यक्रममा बोल्दै अर्थशास्त्री डा. वाग्लेले बताए । कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायतको उपस्थिति थियो ।

औपचारिकतामा सीमित बन्दै सोह्र श्राद्ध

काठमाडौं । ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता’ अर्थात् पितृले वाक्यको इच्छा गर्छन्, देवतालाई भाव भए पुग्छ । श्राद्ध अर्थात् पितृकर्ममा वाक्य मिलेन भने श्राद्ध गर्नुको अर्थ हुँदैन, व्यर्थ हुन्छ । यसैगरी श्राद्ध गर्दा तोकिएको समयमा गर्नुपर्छ । ब्राह्मणले धेरै घरमा सिध्याउन बिहानै श्राद्ध गराउन खोजेमा त्यसो गर्दा पनि पितृले नपाउने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । श्राद्धमा कर्ताले पालना गर्नुपर्ने एकछाकी बाहेकका सबै नियम निमन्त्रणा पाएको पुरोहितले पनि पालना गर्नुपर्ने शास्त्रीय विधि रहेको बताउँछन् । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई । श्राद्ध गराउने पुरोहितले पनि घरमा पूजा गर्नु नहुने शास्त्रीय वचन छ । नित्य पूजा गर्ने अरु कोही नभई गर्नै पर्ने भएमा पूजा गरिसकेपछि फेरि स्नान गरेर मात्र यजमान कहाँ श्राद्ध गर्न जानुपर्छ । पुरोहितले पनि निधारमा टीका लगाउनुहुँदैन । ‘कर्ता र पुरोहितको पनि निधारमा टीका देखेपछि पितृ निराश भएर फर्कन्छन्, यसैले पूजा गर्नै पर्ने भए पनि पानीको मात्र टीका लगाउनुपर्छ, पुरोहितले एक घरमा मात्र श्राद्ध गर्नुपर्छ,’ उनले भने । देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे ।। देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरुको नामोच्चारण गरी ब्राम्हणहरुलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ भनी विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । सोह्र श्राद्धमा कुनै एक पितृको मात्र नभएर दिवङ्गत भएका सम्पूर्ण पितृको सम्झनामा तर्पण दिई श्राद्ध गरिन्छ । आफ्नै घर हुनेले घरमा र घर नहुनेले नदीको किनारमा श्राद्ध गर्नुपर्छ । अघिल्लो दिनदेखि नै चोखो बसेर, कपाल काटेर श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम रहेको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । ब्रम्हाजीले बताएअनुसार श्राद्ध भनेको श्रद्धा अर्थात् विश्वास हो । दिवङ्गत पितृको कर्म गर्दा दिएको पाउनुहुन्छ भनेर श्रद्धा र विश्वासले ब्राम्ह्ण, गाई, अग्नि, नदी, दुःखी, गरिब, असहायमा समर्पण गर्नु श्राद्ध हो भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । नेपाल धर्म र संस्कृतिले धेरै धनी रहेको छ । प्रत्येक दिनजसो एक न एक पर्व परेकै हुन्छ । चान्द्रमानको पात्रोअनुसार वर्षमा चौबीस पक्ष रहेका हुन्छन् । वर्षका चौबीस पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह् श्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र तिथि हुने भएपनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन कृष्ण औँसीसम्मका सोह् तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह् श्राद्ध भनिएको हो । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । बढ्दो आधुनिकताका कारणले गर्दा कतिपय व्यक्तिलाई श्राद्धका नियम थाहा नहुन पनि सक्दछ । हरेक व्यक्तिको जिम्मेवारी बढ्दै गएको कारणले गर्दा आफ्नो संस्कार, मूल्य र मान्यतालाई बिर्सिदै जाने क्रम बढेको छ । समाजबाट सदाचार, संस्कार, नैतिक शिक्षा, असल समाज तथा राष्ट्र निर्माणका लागि नभई नहुने वस्तुको अभाव हुँदै गएको छ । पितृ खुसी हुनु भयो भने आयु, पुत्र, धन, विद्या, राज्य, सुख, स्वर्ग, मोक्ष प्राप्त हुन्छ । त्यसैले शास्त्रले पितृकर्मलाई अत्यन्त महत्व दिएको छ । देवताले दिने, पितृले हर्ने शास्त्रीय मान्यता नेपाली समाजमा रहँदै आएको छ । न सन्ति पितरश्चेती कृत्वा मनसि यो नर । श्राद्धम् न कुरुते तत्र तस्य रक्तं पिवन्ति ते ।। अर्थात् जसले पितृ छैनन् वा हुँदैनन् भनी श्राद्धादि कर्म गर्दैनन् भने त्यसको रगत पितृले पिउँछन् भन्ने वचन पनि ग्रन्थमा रहेको छ । भगवान् राम, भीष्मपितामह आदिले पनि श्राद्ध गर्नुभएको रामायाण, महाभारतलगायत ग्रन्थमा उल्लेख गरिएको छ । हाम्रा धार्मिक शास्त्रमा श्राद्ध धेरै किसिमका छन् । भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । दिनदिनै गरिने नित्य श्राद्ध हो । वार्षिक एकोद्दिष्ट नैमित्तिक श्राद्ध, आफ्नो इच्छा सिद्ध होस् भनी गरिने काम्य श्राद्ध, विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध, सपिण्डी श्राद्ध, पार्वण श्राद्ध, गोठमा गरिने गोष्ठी श्राद्ध, पितृ तृप्ति विद्धानको सुख प्राप्ति र शुद्धिका निमित्त गरिने ब्राह्ण भोजन शुद्धि श्राद्ध हो । सीमन्तोनयन, पुंसवन आदि संस्कारका निमित्त गरिने कर्मांङ्ग श्राद्ध हो । देवताका लागि गरिने दैविक श्राद्ध । देशान्तरमा जाँदा घ्यूले गरिने यात्रा श्राद्ध हो । शरीर स्वस्थ होस् भनी गरिने पुष्टिश्राद्ध हो । यसैगरी अर्को ग्रन्थमा पाँच प्रकारको श्राद्धको उल्लेख गरिएको छ । यो श्राद्ध भने आजकाल धेरै गरिएको देखिन्छ । यसमा नित्य, नैमितिक, काम्य, वृद्धि र पार्वण श्राद्ध रहेका छन् । हाम्रो समाजमा एकोद्दिष्ट बढी प्रचलनमा छ । पितृलाई वार्षिक रुपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ । पितृको मृत महिना, पक्ष र तिथि याद गरी यो श्राद्ध गरिन्छ । वर्षको एकपटक पार्वण श्राद्ध गरिन्छ । सोह् श्राद्ध समेत भनिने पिता अर्थात् बाबुको जुन तिथिमा गरिन्छ । एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ । आश्विन कृष्ण पक्षमा गर्नुपर्ने श्राद्धको महिमा श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा पनि वर्णन गरिएको छ । पार्वण श्राद्धमा चार जना ब्राम्ह्ण चाहिने भएकाले ब्राम्ह्णको प्रतीक स्वरुप कुशको ब्राम्ह्ण थापिन्छ । पहिले–पहिले पार्वण श्राद्ध गर्दा चार जना ब्राम्ह्ण अगाडि राखेर पूजाआजा गर्ने परम्परा थियो । यो परम्परा लोप हुँदै गएर श्राद्ध मण्डपमा कुशको ब्राम्हण राख्न थालिएको पण्डित देवकोटा बताउँछन् । दुवैपट्टि दुई÷दुई ब्राम्ह्णलाई क्रमशः विश्देव र पितृ ब्राम्ह्ण भनिन्छ । पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै सुरुमा देव, मनुष्य, दिव्यपितृ र स्वपितृलाई तर्पण दिएर सुरु गरिन्छ । प्रत्येक ब्राम्हणलाई निमन्त्रणा गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअधि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो घर नभए पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ । घरमै भए पनि श्राद्ध गर्दा भूमिमै गर्नुपर्ने नियम छ । के हो पिण्ड पिण्ड भनेको ब्रह्माण्डको उत्तम वस्तुद्वारा निर्मित पितृलाई नाम गोत्रोच्चारणपूर्वक समर्पण गरिने पितृको भोज्य अर्थात् खाने पदार्थ हो । श्राद्धको दिन छोरीको छोरो नाति, कुश, तुलसी, कालो तिल, मासको बारा, अदुवाको भुजुङ्गो छोप चाहिन्छ । कर्ताले दिएको पिण्डको अन्न पितृलाई अमृत अवस्थामा प्राप्त हुन्छ । दैत्ययोनीमा गएको भए भोगरुपमा प्राप्त हुन्छ । पशु योनिमा तृण अर्थात् घाँसका रुपमा प्राप्त हुन्छ । सर्प योनिमा वायु रुपमा प्राप्त हुन्छ । यक्ष योनिमा गएको भए पान रुपले प्राप्त हुन्छ । मनुष्य योनीमा गएको भए अन्नका अनेक रुपमा प्राप्त हुन्छ । प्रेत योनिमा गएको भए रगतको रुपमा प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । पितृ पक्ष सोह् श्राद्धको अपराह्नकाल:  कुन तिथि कतिखेर गर्ने दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह् श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको हुन्छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह् श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचन अनुसार पञ्चाङ्गकार तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले सोह् श्राद्धका सबै तिथिको समय निकाली सार्वजनिक गर्नुभएको हो । पितृ पक्षसमेत भनिने सोह् श्राद्ध यस वर्ष भदौ २६ गते आइतबार अर्थात् आजदेखि सुरु भएको छ । सोह्र श्राद्धमा अपराह्नकालमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय प्रमाण छ । आइतबार आज प्रतिपदा तिथिको श्राद्ध दिउँसो १३ ः १४ बजेदेखि १४ः १९ बजेसम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उनले जानकारी दिए । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा एवं पितृ ब्राह्मणको आह्वान र पूजा तोकिएको समयअघि नै गर्न सकिने विधि छ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । भदौ २६ गते आइतबार नै द्वितीया तिथि श्राद्ध दिउँसो १४ः०९ बजेदेखि सूर्यास्तपूर्व सम्मको समय दिइएको छ । भदौ २७ गते सोमबार तृतीया तिथि श्राद्धको समय १३ः३० बजेदेखि सूर्यास्त पूर्वसम्म गर्न सकिन्छ । भदौ २८ गते मङ्गलबार चतुर्थी तिथि श्राद्ध पनि १३ः१२ बजेदेखि सूर्यास्त पूर्व नै सक्ने गरी गर्नुपर्छ । यसैगरी पञ्चमी तिथि श्राद्ध भदौ २९ गते बुधबार दिउँसो १३ः बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा सक्नुपर्नेछ । षष्ठी तिथि श्राद्ध भदौ ३० गते बिहीबार १३ः११ बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा गर्नुपर्नेछ । सप्तमी तिथि श्राद्ध भदौ ३१ गते शुक्रबार १३ः११ बजेदेखि सूर्यास्त पूर्व सम्ममा गर्नुपर्नेछ । यस वर्ष असोज १ गते शनिबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पञ्चाङ्ग पात्रोमा उल्लेख छ । अष्टमी तिथि श्राद्ध असोज २ गते आइतबार दिउँसो १३: ०९ बजेदेखि सूर्यास्त पूर्वसम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ । नवमी तिथि श्राद्ध असोज ३ गते सोमबार दिउँसो १३ः१० देखि सूर्यास्त पूर्वको समयमा सक्ने गरी गर्नुपर्नेछ । दशमी तिथि श्राद्ध असोज ४ गते मङ्गलबार १३ः०९ बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा गर्नुपर्नेछ । एकादशी श्राद्ध असोज ५ गते बुधबार दिउँसो १३ः०८ बजेदेखि सूर्यास्त पूर्वको समयमा सक्ने गरी गर्नुपर्नेछ । द्वादशी तिथि श्राद्ध असोज ६ गते बिहीबार १३ः०८ बजेदेखि सूर्यास्त पूर्वकै समयमा सक्ने गरी गर्नुपर्नेछ । त्रयोदशी तिथि श्राद्ध असोज ७ गते शुक्रबार १३ः०८ बजेदेखि सूर्यास्त पूर्वकै समयसम्ममा गर्नुपर्नेछ । यसैगरी चतुर्दशी तिथि श्राद्ध असोज ८ गते शनिबार १३ः०६ बजेदेखि सूर्यास्त पूर्वसम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताए । औँसी तिथि श्राद्ध असोज ९ गते आइतबार दिउँसो १३ः०७ बजेदेखि सूर्यास्त पूर्वकै समयसम्ममा गरिसक्नु पर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ । यस्तो श्राद्ध पितृले पाउँदैनन् । कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह् श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् । पितृपक्ष अर्थात् सोह् श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले आश्विन शुक्ल पञ्चमीसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुनाए । यो समयमा पनि कारणवश सोह् श्राद्ध गर्न नसकिएमा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कात्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह् श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । रासस