महगिँदै फिल्म, घट्दै दर्शक

काठमाडौं । कोरोना भाइरस महामारीपछि छिमेकी मुलुक भारतको फिल्म उद्योग बलिउडले ठूलो घाटा व्यहोर्नुप¥यो । बलिउडका प्रदर्शन भएका अधिकांश फिल्म असफल भइरहेका छन् । साउथमा बन्ने तामिल, तेलुगु, कन्नडाले विश्वभर दर्शक बढाइरहँदा बलिउडले भने गुमाउँदै गएको छ । दर्शक ओटिटी ओभर दी टप भनिने नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, जी फाइभ, डिज्नी प्लस हटस्टारलगायतमा रमाउन थालेका छन् । फिल्म हल पुग्ने समय र खर्चले ओटिटीको सेवा झन्डै वार्षिक नै उपभोग गर्न पाइने भएपछि बलिउडले दर्शक गुमाइरहेको अनुमान गर्न सकिन्छ । नेपालमा पनि त्यस्तै देखियो । यहाँ ओटिटीको प्रभाव नभए तापनि फिल्म हेराई महँगिएपछि दर्शक घट्दै गएको पाइयो । सुरुआती व्यापार आक्रामक गर्ने कलाकारको फिल्ममा नै दर्शक देखिएनन् । ‘वर्ड अफ माउथ’ बलियो नभएसम्म दर्शक हलसम्म नपुग्नाले अपेक्षा गरिएका धेरै फिल्म असफल भए । प्रदीप खड्काले अभिनय गरेका फिल्म ‘प्रकाश’ ले न्यून सुरुआत ग¥यो । उनले अभिनय गरेको पछिल्लो फिल्मको तथ्याङ्क हेर्ने हो भने सुरुआती दिनमा नै व्यापार राम्रो हुन्थ्यो । समीक्षा आएपछि दर्शकको सङ्ख्यामा घटबढ त हुन्छ । यसपटक दर्शक सुरुमै आएनन् । यसपटक प्रदीप आफ्नो ‘स्टारडम’को छायाँबाट निस्किएर ‘प्रकाश’ बनेका थिए । जुम्लाको एक गाउँले युवकमा उनलाई देखियो । उनको अघिल्लो फिल्मले एक दिनमै गर्ने व्यापार ‘प्रकाश’ ले एक सातामा पनि गर्न सकेको थिएन । जसका कारण कारण दर्शक नै आएनन् । अभिनेता खगेद्र लामिछानेको टल्क जङ्ग भर्सेस टुल्के, पशुपति प्रसाद जस्ता फिल्मबाट दर्शकको मन जित्नु भएको छ । उनीप्रति एउटा वर्ग विश्वस्त छ । उनले उठान गर्ने विषयवस्तु ‘अर्गानिक’ हुने गरेको दर्शकहरुको टिप्पणी छ । उहाँ ‘पानीफोटो’ मार्फत लेखक र अभिनेतासँगै निर्देशक बनेर आए । रचनात्मक पक्षमा आफैँले मूल्याङ्कन गरेर तयार गरेको फिल्म हेर्नेको सङ्ख्या न्यून छ । गत साउनमा प्रदर्शन भएका फिल्मले गरेको व्यवसाय न्यून छ । प्रदर्शित फिल्मले प्रचारप्रसार गरेबापतको खर्चसमेत उठाउन सकेन् । दर्शक हलमा आएर राम्रो नराम्रो प्रतिक्रिया दिनुभन्दा पनि हलसम्मै नआएका फिल्मले यो क्षति व्यहोर्नुप¥यो । अभिनेताका रुपमा आफ्नो पहिचान स्थापित गर्नुभएका सौगात मल्ल ‘द सेक्रेट्स अफ राधा’मार्फत निर्माता बने । फिल्मले उठान गरेको विषयवस्तु मन परेर आफू निर्माता बनेको उनले बताए । चरित्र बाच्ने अभिनेताका रुपमा दर्शकले स्वीकार्नु भएको सौगात पनि असफल भए । उनको फिल्म एकसाता नबित्दै हलबाट निकालियो । किनकी दर्शकको उपस्थिति न्यून थियो । सौगातले कलाकारिता गरेर आर्जन गरेका रकम फिल्म निर्माणमा लगाउँदा दर्शक हलसम्मै आएनन् । यी उदाहरण मात्र हुन् । कबड्डी चारबाहेक अन्य फिल्मले लगानी हलबाट उठाउन सकेको छैन । ‘ए मेरो हजुर ४’ र ‘झिँगेदाउ’ले हलमा गरेको व्यापारसँगै विदेश राइट्स्, डिजिटल राईट्स् लगायतबाट लगानी सुरक्षित गरेको हुनसक्छन । बलिउडको पनि अवस्था यस्तै छ । साउथ इन्डियामा बनेको पुष्पा, आरआरआर, केजीएफ च्याप्टर २ बाहेक बलिउडको दुई/तीन फिल्मले मात्र लगानी सुरक्षित गर्न सफल भए । अक्षय कुमार, आमिर खान जस्ता स्टारको फिल्मले गरेको व्यापार निकै न्यून छ । लेखकसँगै फिल्मको रेगुलर दर्शक प्रदीप भारद्वाज दर्शक घट्नुको कारण महँगी बताउँछन् । प्राय शुक्रबारदेखि शनिबारसम्ममा प्रदर्शन भएका फिल्म हेरिसक्ने भारद्वाज टिकट दरभन्दा पनि खानेकुरा महङ्गिएको बताउँछन् । ‘फिल्म हेर्न जाँदा जति खर्च टिकटमा हुन्छ त्यो भन्दाबढी खानेकुरामा हुनेगरेको छ टिकट, पार्किङ, कफी र पपकर्नको जोड्ने हो भने एक हजार हाराहारीमा पर्न सक्छ । जसले दर्शक फिल्म प्रति विस्वथ नभएसम्म हलसम्म आएका छैनन’, उनले भने । भारतमा भने ओटिटी पनि कारण रहेको बलिउड अभिनेता तथा निर्देशक विशाल देसाइ बताउँछन् । “हलमा जाँदा हुने खर्च बढिरहेको छ नै । हामीले ओटिटी अप्सन पाएका छौँ । हल रिलिज भएको आठ हप्ताभित्रमा ओटिटीमै आउँछ भने किन समय र पैसा खर्चिने ? अहिले दर्शकको सोचाई यस्तै छ”, उनले भने । निर्देशक देसाइले आफ्नै ड्राइभरको उदाहरण दिँदै भने, ‘मेरो ड्राइभर पहिले मलाई पार्किङमा पर्खिदा आराम गर्थे । अहिले मोवाईलमा ओटिटी आएको फिल्म हेरेको पाउँछु । उनी बिदामा हल जान्थे फिल्म हेर्न तर अहिले ओटिटी आइहाल्छ नी भनेर त्यो बिदा परिवारसँग घरमै सदुपयोग गर्छन् ।’ दर्शकमा फिल्मप्रतिको चेतना बढ्नुका साथै मेकर्सले गम्भीर भएर फिल्म नबनाउँदा दर्शक निराश भएको नेपाल चलचित्र सङ्घको पूर्वध्यक्ष प्रदीपकुमार उदय बताउँछन् । ‘आर्थिक मन्दीले असर गरिरहेको छ । आइरहेका फिल्ममा नयाँपन पाइएको छैन । लकडाउनपश्चात् नेपालमा पनि ओटिटी प्रयोगकर्ता बढेकाले पनि दर्शक हलमा कम देखेका हुन्’, उनले भने । मेकर्सले सिरियस भएर फिल्म मेकिङ नगरे उहाँ दर्शकलाई आकर्षण गरेसम्म हलमा ल्याउन गाह्रो हुने बताउँछन् । रासस

सामाजिक सञ्जालमा रमाउनाले हराउन थाले गाउँघरबाट दसैँमा पिङ

त्रिवेणी । नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ । घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यकपर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ । बजारको चहलपहलले दसैँ प्रवेश गरिसकेको सङ्केत गर्न लागेको छ । तर, दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । दसैँ प्रवेशको दिन घटस्थापना आइसक्दा पनि गाउँघरमा पिङ राख्ने सुरसार बिरलै देख्न सकिन्छ । ‘पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, भेटे बजारमा पाउने लठ्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो,’ कावासोतीका स्थानीय विनोद सिग्देलले भने, ‘अहिले सबै नौलो जस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ ।’ गाउँघरका चोक, चौर, चौतारामा दसैँ लाग्नु अघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको, बालबालिकामा पिङ खेल्ने उत्साह हुने गरेको उनले स्मरण गरे । ‘कति रमाइलो हुन्थ्यो, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गार्थौँ, बाहिरबाट आएका पनि जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह उस्तै हुन्थ्यो,’ सिग्देलले भने, ‘पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराए जस्तो लाग्न थाल्यो ।’ नेपाली संस्कृति परम्परा अनुसार दसैँमा पिङ राख्ने चलन छ । अझ गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने बिश्वास रहिआएको छ । तर, नेपाली संस्कृति बोकेको पिङ आफैमा गाउँघरबाट हराउने अवस्थामा पुगेको छ । कावासोतीका रमाकान्त पौडेलले भने, ‘सहरबजारमा त केही वर्ष पहिलेनै पिङ हराउदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ ।’ बजार क्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय गौड बन्दै गएको उनको भनाइ छ । ‘सहर बजारमा पिङ राख्ने सार्वजनिक खाली ठाउँ पनि पाउन मुस्किल बन्न थाल्यो, त्यसमाथि मान्छे टिभी, युटुब, फेसबुक र टिकटकमा रमाउन थाले,’ पौडेलले भने, ‘सहरबजारका मानिसको दैनिकी पनि आफैमा व्यस्त हुन्छ, कसले पिङका लिङ्गा खोज्नु, कसले लठ्ठा खोज्नु ।’ गाउँघरमा भने युवा जनशक्तिको अभावमा पिङ राख्ने चलनमा कमी आएको होकी भन्ने हुप्सेकोटका रामकृष्ण चापागाईंको ठम्याइ छ । ‘रोजगारीको खोजीमा युवा जति कोही सहर पसे, कोही विदेश लागे, गाउँ घर रित्तो जस्तो बनेको छ, पिङ राख्न पनि मेहनत चाहिन्छ, जनशक्ति चाहिन्छ,’ चापागाईंले भने, ‘यसैले पहिले जस्तो चहलपहल पनि हरायो, पिङ राख्ने चलन पनि हराउँदै जान थाल्यो ।’ फाट्टफुट्ट रुपमा कही कतै पिङ राख्ने गरेको भए पनि पहिलेको भन्दा निक्कै कम भएको चापागाईंले बताए । पहिले टोल टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेको उहाँको भनाइ रहको छ । पहाडी क्षेत्रसँगै गाउँघरमा पहिले पहिले रोटे पिङ राख्ने गरेकोमा यो भने लोपै हुने अवस्थामा पुगेको उनको भनाइ छ । दसँै र तिहार जस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो की भन्ने कतिपय सामाजिक अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन् । विभिन्न चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकता गुम्न नदिन पर्वसँगै जोडिएका परम्परागत कार्यकोसमेत जगेर्ना गर्दै जानुपर्ने उनीहरुको भनाइ छ । ‘हामीले हाम्रा संस्कृति, परम्पराको मौलिकता जोगाउन, विभिन्न पर्वसँगै जोडिएका परम्परागत कार्यलाई समेत जगेर्ना गर्दै जानुपर्छ, यी सबै हराउन सक्छन्, यसका लागि सबै लाग्नुपर्छ’, कावासोती–१७, का अगुवा युक्तप्रसाद गौडेलले भने । रासस

यि हुन् दसैँमा प्रदर्शनमा आउने चलचित्र

काठमाडौं । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र विगतको बन्दाबन्दीका कारण प्रदर्शन हुन सकेको थिएन । यो चलचित्र नेपाल र भारतमा पनि एकसाथ प्रदर्शन हुँदैछ । चलचित्र ‘प्रेमगीत ३’ नेपाली भाषासँगै हिन्दी भाषामा पनि निर्माण गरिएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र साङ्गीतिक प्रेम कथामा आधारित हो । यसअघि ‘प्रेम गीत’ ‘प्रेम गीत २’ प्रदर्शनमा आइसकेका छन् । अभिनेता प्रदीप खड्का र नवअभिनेत्री कृष्टिना गुरुङको मुख्य अभिनय रहेको यस चलचित्रमा मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । त्यस्तै चलचित्र ‘बाबरी’ यही असोज १४ गते शुक्रबार प्रदर्शन हुँदैछ । चलचित्रमा अभिनेत्री अदिती बुढाथोकी र अभिनेता धीरज मगरको मुख्य अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । यो चलचित्र नेपालसँगै विदेशमा पनि एक साथ प्रदर्शन हुँदैछ । दक्षिण कोरिया, अष्टेलिया, हङकङलगायत अन्य देशमा पनि असोज १४ गते नै प्रदर्शन हुने निर्देशक पौडेलले जानकारी दिए । बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र पुष्पलता बुढाथोकी र गणेश बुढाथोकीले निर्माण गरेका हुन् । चलचित्र ‘दुई नम्बरी’ विजयादशमीको दुईदिन पछि अर्थात् असोज २१ गते प्रदर्शन गरिने भएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार पारिएको यस चलचित्रमा अभिनेताद्वय दयाहाङ राई, सौगात मल्ल र अभिनेत्री उपसना सिंह ठकुरीको मुख्य अभिनय रहेको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको संयुक्त लगानीमा बनेको यो चलचित्र सामाजिक कथावस्तुमा आधारित छ । यो चलचित्र पनि नेपाललगायत विदेशमा प्रदर्शन गरिने भएको छ । चलचित्र पक्षले अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, अमेरिकामा भएका नेपाली दर्शकले चलचित्र हेर्न पाउने जानकारी दिइएको छ । चलचित्रमा नवनायिका उगेन छोदेन, बुद्धि तामाङ, शारदा गिरी, कविता आले, सुष्मा निरौलालगायत कलाकारको अभिनय छ । यसअघि चलचित्र पक्षले कात्तिक ४ गते तिहारमा प्रदर्शन मिति तोकेको थियो । त्यस्तै चलचित्र ‘हिजोआजका कुरा’दसैँ सकिएपछि र तिहारको मुखमा अर्थात् असोज २८ गते प्रदर्शन हुँदैछ । कलाकार सन्तोष पन्तले लामो समयदेखि निर्माण गर्दै आएका हाँस्य टेलिशृङ्खलालाई अब चलचित्रमा परिणत गरिएको हो । उक्त चलचित्रमा कलाकार पन्तका छोरा साकारले निर्देशन गर्नुभएको छ । कलाकार पन्त र रमा थपलियाको मुख्य अभिनय रहेको उक्त चलचित्रमा रिमा विश्वकर्मा, केकी अधिकारी, जेविका कार्की, नितेशराज पन्त, विनायक कुइँकेललगायत कलाकारको अभिनय रहेको छ । चलचित्र प्रदर्शनका लागि दसैँ, तिहार बिदा उपयुक्त मानिँदै आएको छ । अरु बेलाभन्दा दसैँमा आमदर्शक घरपरिवारसँग रमाइलो गर्ने, चलचित्र हेर्ने, मनोरञ्जन गर्ने मुडमा हुन्छन् । त्यस कारण सामान्य चलचित्र पनि व्यावसायिक हिसाबले सफल हुनेमा निर्माताको विश्वास छ । यस वर्षको दसैँमा प्रदर्शनमा आउने चलचित्र निर्माताले आफ्नो चलचित्र भिन्नभिन्न कथावस्तुमा रहेको बताएका छन् । रासस