घरमै सामाजिक सुरक्षा भत्ता पाएकी सुकमाया भन्छिन् : बुढेसकालमा खुशी भनेको यही रहेछ

नवलपरासी । नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका-३ केलादीकी सुकमाया थापा (८९ वर्षीया) सामाजिक सुरक्षाभत्ता घरमै पाउँदा निकै खुशी छन् । वडाध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिँढीमा बसेकी सुकमायाले पहिले बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गरे । उनी भन्छन्, ‘बिरामी हुँदा छोरीहरुले बोकेर लैजान्थे, कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन बसेर फकिनुपर्थ्यो, साह्रै गाह्रो हुन्थ्यो ।’ उनी मुटुको बिरामी हुन् । हातगोडा दुख्ने र हिँड्न निकै समस्या हुने गर्छ । साँझ बिहान आँगनमा हिँडडुल गरे पनि लामो दूरीको बाटोमा यात्रा गर्न निकै कठिन हुने गरेको उनले बताए । सामाजिक सुरक्षा भत्ता पाउनेमा खुसीभन्दा पनि बैंकमा लाइन बस्नुपर्ने, घन्टौं लगाएर जानुपर्ने बाटोको समस्याले सताएका दिन स्मरण गर्दै सुकमायाले भने, ‘२०७४ को निर्वाचनपछि जनप्रतिनिधिले घरमै भत्ता ल्याइदिएका छन्, धैरै सहज भएको छ ।’ जन्मजात नै आँखा नदेख्ने ७० वर्षीया भीममाया भुजेललाई बैंकसम्म आउन दुई घण्टाभन्दा बढी समय लाग्ने गर्छ । पैदल हिँडेर जानुपर्ने बाध्यता अर्कोतर्फ शारीरिक अशक्तताका कारण झन बढी जोखिम भएको भन्दै भीममाया भन्छन्, ‘समयको बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा सुरक्षित महसुस भएको छ, मलाइ निकै खुसी लागेको छ ।’ ७९ वर्षीया सनिसरा थापाको पनि सामाजिक सुरक्षा भत्ता लिन जाँदाको अनुभव पनि भीममायाको जस्तै छ । वर्षामा रुझ्दै होस् वा घण्टौं पैदल हिँडेर बैंक पुग्दा काम नबनेर फर्किनुपरेको दिन सम्झन्छन् । उनी भन्छन्, ‘समयसँगै पैसा पनि बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउनु नै बुढेसकालमा खुसी भनेको यही रैछ ।’ वडा नम्बर ३ को वडा कार्यालय राजमार्गदेखि करिब नौ किलोमिटर उत्तरमा पर्दछ । तनहुँ देवघाटको किनारदेखि बुलिङटार गाउँपालिकासम्म सिमाना फैलिएको यस वडामा टाटरीबास, ढोडेनी, गडम्दी, भोकेरफाट हर्दि, केलादी, र मार्के बस्ती रहेको छ । वडावासीलाई आफ्नै वडा कार्यालय पुग्न पनि तनहुँ हुँदै गैँडाकोट आउनुपर्ने बाध्यतामा छ । यस्तो अवस्थामा घरदैलोमै जनप्रतिनिधि आएर भत्ता वितरण गर्दा वडावासी भने निकै खुसी छन् । सडक र यातायातको समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिनका लागि मात्रै होइन अतिआवश्यक कामका लागि पनि बजारसम्म आउनको लागि वडावासीलाई निकै कठिन छ । त्यसमध्ये ज्येष्ठ नागरिक वा सामाजिक सुरक्षा भत्ता लिने नागरिक भत्ताकै लागि भनेर जोखिमको यात्रा गर्नुपर्ने बाध्यतालाई भने वडाध्यक्षले समाधान गरिदिएकोमा खुसी लागेको ज्येष्ठ नागरिक बताउँछन् । भौगोलिक विकटताका कारण बैंकसम्म आउनका लागि घण्टौंको यात्रा गर्नुपर्ने र बैकमा पनि लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता प्रत्येक ज्येष्ठ नागरिकको घरमा नै पुगेर वितरण गर्दै आएको वडाध्यक्ष शिवकान्त तिवारीले बताए । वडामा सामाजिक सुरक्षा भत्ता लिने दुई सय ३२ नागरिक छन् । एक गाउँबाट अर्को गाउँमा पुग्न घण्टौंसमय लाग्ने मात्रै होइन बैंकसम्म आएर घर फर्किदा एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म खर्च हुने अवस्था रहेको भन्दै अध्यक्ष तिवारीले भने, ‘वडावासीलाई सहजता होस् भनेर नै २०७४ सालमा निर्वाचित हुँदादेखि सुरु गरेको अभियानलाई अहिले पनि निर्वाचित भएपछि निरन्तरता दिएको छु ।’

स्मार्टफोनको प्रयोगले मानिसहरुमा समस्या बढ्दै

एजेन्सी । स्मार्टफोन कहिले अत्यावश्यकताबाट बानी पर्यो हामीलाई थाहा भएन। हामी जहाँ भए पनि, एक्लै वा भीडमा, हामी स्मार्टफोनले घेरिएका छौं। तिनीहरूले हामीलाई बिरामी बनाइरहेका छन्। मानसिक र शारीरिक रूपमा पनि । स्मार्टफोनको अत्याधिक प्रयोगले हामीलाई थकाइरहेको छ । धेरै मानिसहरुमा डिप्रेसन र चिन्ता निम्त्याइरहेको छ । अवस्था यति खराब भएको छ कि हामीलाई हाम्रो आफ्नै स्मार्टफोनबाट टाढा राख्न धेरै कम्पनीहरु खुल्न थालेका छन्। हामीलाई फोनबाट टाढा राख्न मद्दत गर्ने उपकरणहरू बनाइँदै छन्। यस्तै एउटा कम्पनी हो योन्डर । यसले यस्तो मोबाइल झोला बनाउँछ, जसमा मोबाइललाई निश्चित समयसम्म राख्न र लक गर्न सकिन्छ। यो कुनै पनि सम्मेलन वा कन्सर्ट, स्कूल-कलेज, भेटघाट वा परिवार र साथीहरूसँग समय बिताउन प्रयोग गरिन्छ। लेखक, संगीतकार, शिक्षक आदि रचनात्मक काम गर्ने व्यक्तिहरूका लागि मोबाइलबाट टाढा रहनु बढी महत्त्वपूर्ण छ। उनीहरुले पनि सो ब्यागको प्रयोग गरिरहेका छन् । यो ब्याग अमेरिकामा निकै लोकप्रिय बन्दै गएको छ । कम्पनीका संस्थापक ग्राहम डुगोनी भन्छन् कि उनका प्रयोगकर्ताहरूलाई शुरुमा नेटवर्कबाट विच्छेदन गर्न गाह्रो भयो। तर, मोबाइलबाट मुक्त भएपछि जुनसुकै संगीत महोत्सव, चलचित्र हेर्नको लागि झनै रमाइलो लाग्थ्यो । कसैले मोबाइल प्रयोग नगर्ने ठाउँहरूमा मानिसहरूलाई जोड्छन्। केही समय मोबाइलबाट टाढै बस्दा आफूलाई ताजा महसुस भएको मानिसहरुले बताएका छन् । वास्तवमा योन्डर जस्ता कम्पनी खोल्दा हामी मोबाइलको लतमा परेका छौं भन्ने देखाउँछ । एनवाईयु स्टर्न स्कूलका प्रोफेसर एडम अल्टर भन्छन्, ‘हाम्रो स्मार्टफोनले हामीलाई कतै ध्यान केन्द्रित गर्न दिँदैन। सडकमा हिँड्दा वा ड्राइभ गर्दा हामीलाई खतरनाक रूपमा लापरवाह बनाउँछ।’ त्यस्तै म्याकगिल विश्वविद्यालयका जे ओल्सन भन्छन्, ‘स्मार्टफोन एकाग्रताको सबैभन्दा ठूलो शत्रु हो। अनिद्राको साथ यसले हामीलाई कम सामाजिक बनाउँछ। यसले बालबालिका र किशोरकिशोरीहरूमा मोटोपना बढाउँछ किनभने तिनीहरू भोक नलाग्ने खाना खाने गर्छन्। मोबाइलको अत्याधिक प्रयोगले आत्महत्या गर्ने प्रवृत्ति बढिरहेको नयाँ अध्ययनले देखाएको छ ।’ स-साना बानीहरुमा परिवर्तन गर्दा जसले तपाईंलाई स्मार्टफोनको लतबाट बचाउन सक्छ सबैभन्दा पहिले आफ्नो मोबाइलका सबै नोटिफिकेसन बन्द गर्नुहोस्। सुत्ने वा काम गर्दा सम्भव भएसम्म मोबाइल टाढा राख्नुहोस्। मोबाइलको सट्टा ल्यापटपमा सोशल मिडिया एपहरू प्रयोग गर्नुहोस्। फेस अनलक वा फिंगर लकको सट्टा लामो पासवर्ड प्रयोग गर्नुहोस्। स्मार्टफोनमा गर्नुपर्ने कामहरूको सूची बनाउनुहोस्, काम सकेपछि फोनलाई टाढा राख्नुहोस्। स्मार्टफोन लन्च हुनेबित्तिकै किन्ने दौडमा नपर्नुहोस्। पुराना फोनहरूमा धेरै एपहरू छैनन्, जसले रुचि पनि कम गर्छ।

सन्दीप लामिछानेलाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हो । सोमबार जिल्ला अदालत काठमाडौंले असोज २० गतेबाट लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए । उनले सन्दीपले इजलासमा आफू निर्दोष रहेको कुरा बताएको पनि प्रमाणहरु प्रस्तुत गरेको बताए । उनले भने, ‘नेपाल प्रहरीले अदालतमा प्रस्तुत गर्नुभयो, सन्दीप लामिछानेले इजलाशमा आफू निर्दोष रहेको कुरा श्रीमानसमक्ष सम्पूर्ण डिटेलहरु प्रश्तुत गर्नुभयो, म्याद थपको सम्बन्धमा श्रीमानले ७ दिनको समय दिनुभयो, यो २० गतेबाट लागू हुने गरेर दिएको समय हो, २७ गते अदालतमा फेरि हाजिर हुने शर्तमा ७ दिनको लागि म्याद थपिएको छ ।ु असोज २० गते काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनलाई बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लगिएको थियो । १७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।