जब सजन श्रेष्ठसहित तीनजना छाडा बोलेको भन्दै माफी माग्न ब्यूरोमा पुगे...

काठमाडौं । विवादित युट्युबर सजन श्रेष्ठसहित तीन जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएर छाडेको छ ।

युट्युबमा छाडा बोलेको भन्दै चर्चित स्ट्यान्डअप कमेडियन तथा कलाकार सजन श्रेष्ठसहित उनका साथीहरूले ब्यूरोमा पुगेर माफी मागेका हुन् । जेठ ५ गते साइबर ब्यूरोको कार्यालयमा उनीहरू पुगेका थिए ।

ब्यूरोले उनीहरूलाई ‘आइन्दा छाडा शब्द नबोल्ने’सर्तमा छाडेको हो । साजन श्रेष्ठले सञ्चालन गर्ने युट्युब च्यानलमा ‘इन दी लास्ट कोइसन’ नामक कार्यक्रम प्रसारण हुँदै आएको छ । 

कार्यक्रमको एउटा एपिसोडमा साजन श्रेष्ठ, उत्सव सापकोटा र विशाल गौतमबीचको कुराकानीमा अत्यधिक छाडा र उच्छृङ्खल शब्दहरू समावेश थिए ।

उनीहरूले ‘कमेडी’ को नाममा अश्लील र अपाच्य शब्दहरू बोलेपछि सर्वसाधारणले कडा आलोचना गरेका थिए । दर्शकहरूले कार्यक्रममा बोलिएका शब्दहरू छाडा भएको भन्दै साइबर ब्यूरोमा गुनासो र उजुरी गरेपछि प्रहरीले एक्सन लिएको हो ।

ब्यूरोका एक अनुसन्धान अधिकृतले टीआरपी (भ्युज र चर्चा) को नाममा कार्यक्रममा जथाभावी उच्छृङ्खल र छाडा शब्द प्रयोग गरेकाले उनीहरूलाई बोलाएर सोधपुछ गरिएको बताए ।

‘टीआरपीका नाममा छाडा शब्द प्रयोग गरेको मौखिक ब्यूरोमा उजुरी परेको थियो । श्रेष्ठसहित तीनै जनालाई बोलाएर सोधपुछ गरिएको हो,’ साइबर ब्यूरोका एक प्रहरी अधिकृतले भने, ‘उहाँहरू तीनै जनाले गल्ती महसुस गर्दै अब आइन्दा छाडा शब्द नबोल्ने भनेर माफी मागेपछि छाडिएको हो ।’

यसअघि पनि गायक तथा कुमा सागरको बोलीलाई क्यारिकेचर गरेपछि उनी विवादमा आएका थिए । कार्यक्रममा श्रेष्ठले कुमा सागरको गीत उनकै लवजमा गाउने प्रयास गरेका थिए । यसपछि श्रेष्ठले गायक कुमा सागरलाई होच्याएको भन्दै आलोचना सुरु भयो । विवाद बढेपछि उक्त कार्यक्रम युट्युबबाटै हटाइएको थियो ।

भदौ २३ र २४ गतेको आन्दोलनमा पनि श्रेष्ठ सहभागी भएका थिए । पछि उनले आफूले आगजनी तथा तोडफोड गर्नेलाई सम्झाएको भनेर बताएका थिए ।

Share News