महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् । उनले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए । उनका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा दर्शनका लागि प्रधानमन्त्री उपस्थितिले मन्दिर परिसरमा रहेका भक्तजनले प्रसन्नता व्यक्त गरेका थिए । महाशिवरात्रिको अवसरमा बुधबार पशुपतिमा भव्य मेला तथा पूजाअर्चना हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासुु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ ।

२५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने, सुनको तिलहरिको व्यवस्था

काठमाडौं । झापाको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गरिदिन पत्राचार गरेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । विश्व हिन्दू परिषद् नेपालसँगको सहकार्यमा अर्जुनधारा नगरपालिका-७ स्थित धामको मन्दिर परिसरमा सामूहिक विवाह उत्सवको आयोजना गरिएको हो । उनका अनुसार नयाँ वर्ष २०८२ को वैशाख २ गते विवाहको मिति निर्धारण गरिएको छ । वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेका आधारमा अभिभावकको उपस्थितिमा जोडीहरुको हिन्दू परम्पराअनुसार वैवाहिक कार्यक्रम गरिने धामले जनाएको छ । सामूहिक विवाहका लागि ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । २५ जोडीको विवाहमा लाग्ने सबै खर्च अर्जुनधाराधाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले व्यहोर्ने बताए ।आफ्नो वैवाहिक रजत वर्षगाँठका अवसरमा उक्त खर्च व्यहोरिदिने उनको भनाइ छ । ‘मैले राम्रो कार्यको सुरुआत होस् भनेर पहिलो वर्षको सम्पूर्ण खर्च व्यहोर्ने भएको हुँ । अर्को बर्षदेखि मन्दिर आफैंले निरन्तर रुपमा यस उत्सवलाई अगाडि बढाउनेछ,’ धामका अध्यक्ष गट्टानीले भने । उनले सामूहिक विवाहमा वरवधुलाई आवश्यक शृङ्गारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरि, गाग्री खड्कुलासहित भाँडावर्तन र शुद्ध साकाहरी खानाको व्यवस्था गरिने बताए । विवाहमा हरेक वरवधुका तर्फबाट १०/१० जनाका दरले जन्ती तथा घरगाउँलेलाई उपस्थिति गराउन सकिने जनाइएको छ । विवाहमा दाइजो निषेध गरिएको छ । धाम समितिका कोषाध्यक्ष जोशीले विवाहका लागि इच्छुक जोडीका अभिभावकहरुले पालिकाले २० वर्ष उमेर पूरा भएको खुल्नेगरी दिएको सिफारिस पत्रसहित नेपाली नागरिकता वा जन्मदर्ताको प्रतिलिपि र पासपोर्ट साइजको दुईप्रति तस्बिरसहित धाममा सम्पर्क गर्नुपर्ने र धामले तोकेको फाराम भर्नुपर्ने बताए । ‘सामाजिक दायित्व पूरा गरी राम्रो कार्य गरौँ भन्ने उद्देश्यले सामूहिक विवाहको आयोजना गरिएको हो । धाम समितिले अर्को वर्षदेखि १०८ जोडीको सामूहिक विवाह गर्ने लक्ष्य लिएको छ,’ उनले भने । सामूहिक विवाहको आयोजनासम्बन्धी जानकारी पाएर केही जोडीले धाममा नाम टिपाइसकेको उनको भनाइ छ । प्रत्येक विवाहका लागि चाहिने मण्डप र पण्डित छुट्टाछुट्टै व्यवस्था गरिने भएको छ । आयोजकले तोकेको समयमा विवाहका लागि धामसम्म जान र घर फर्किन लाग्ने खर्च वरवधु पक्षले नै व्यहोर्नुपर्ने जनाएको छ ।

ब्रिटिस लाहुरेको सपना छोडेर खेलाडी बने दीपक

सुर्खेत । चाहना ब्रिटिस आर्मीमा भर्ती हुने र धेरै पैसा कमाउने भए पनि समय र परिस्थितिले दीपक हमाललाई त्यसो हुन दिएन । आफू र आफ्नो घरपरिवारको आर्थिक अवस्थाका कारण पनि दीपक लाहुरे हुन चाहन्थे। लाहुरे भएपछि धेरै पैसा कमाउने र घरको आर्थिक अवस्थालाई बलियो बनाउने योजना थियो । तर सबैका सबै योजना पूरा कहाँ हुन्छन् अनि सबै सपनाहरु विपनामा साकार पनि त हुँदैनन् । सायद त्यसैले होला दीपकको त्यो सपना सपनामै सीमित हुने रहेछ र उनी खेलाडी दीपकका रुपमा अगाडि बढे। विसं २०४९ असोज १५ गते सुर्खेतको छिञ्चुमा जन्मिएका दीपक आफ्नो सपनालाई त्यागेर उसु खेलतर्फ मोडिनु पनि समयको चक्र नै मान्नुपर्छ । विभिन्न समयमा भएका खेलहरुमा स्वर्ण र कास्य पदकको विजेता बनेका थिए सायद । १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता दीपक ‘प्लस टू’को अध्ययन सकेपछि मात्रै पूर्ण रुपमा खेल क्षेत्रमा होमिने अवसर प्राप्त गरेका हुन्। सुरुमा फिटनेसका लागि खेलकुद रोजेका उसु खेलाडी दीपक पछिल्लो समय राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनिन्छन् । खेलजगत्ले नै उनलाई दीपक बनाएको छ । दीपकले २०६८ सालमा फिटनेसका लागि सेन्सन केन्द्रीय खेलकुद परिषद्बाट उसु खेललाई रोजेका थिए । प्रकाश लामाबाट प्रशिक्षण लिएका उनले दुई वर्षपछि २०७० सालमा नेसनल च्याम्पियन सुरु गरेका थिए । त्यसलगत्तै उनले २०७० मा नवौँ राष्ट्रिय उसु च्याम्पियनसिपमा प्रतिस्पर्धा गरे । आफ्नो डेब्यु प्रतियोगितामा उनले पदक त जित्न सकेनन् तर पनि सम्भावनाको यात्रामा पछि हटेनन् । लगातारको मिहेनत र निरन्तरको प्रयासले नै सम्भावनाको ढोका खोल्न भने सफल भए उनी । डेब्यु प्रतियोगितामा चौथो भएका उनले २०७३ सालमा विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुदमा मध्यपश्चिमबाट खेलेका उनले थाइल्यान्डमा स्वर्ण पदकसमेत जितेका थिए । यसले एकातिर हौसला र अर्कोतिर अझ दृढ भएर लाग्ने प्रेरणा मिलेको थियो उनलाई । आफ्नो दोस्रो सहभागितामै स्वर्ण जित्न सफल हमालले रसियामा सन् २०१८ मा भएको १४औँ वल्र्ड उसु च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भए । पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता खेलेका उनले खासै पदवी नै हात पार्न नसके पनि ६८ राष्ट्रमध्ये आफूलाई २०औँ स्थानमा उभ्याउन सफल भए । त्यस्तै, सन् २०१९ मा चीनको सङ्घाइमा भएको १५औँ वल्र्ड उसु च्याम्पियनसिपमा पनि उनी उत्कृष्ट खेलाडी २० भित्र पर्न सफल भए । त्यसपछि स्वदेशमै आयोजना भएको १३औँ सागमा स्वर्ण जित्दै हमालले इतिहास रच्न सफल भए । विश्वलाई हलचल बनाउने कोभिड–१९ का कारण २ वर्ष अन्तरराष्ट्रिय सहभागिता जनाउन नपाएका उनले गत वर्ष चीनको हाङचाओमा आयोजना भएको १९औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा सहभागी २० मध्ये उनले १२औँ स्थान हासिल गरे । हालै चीनको जिङज्याङ सहरमा आयोजना भएको वल्र्ड कपको छनोटमा उनले दुई कास्य पदक हात पारेका थिए । उनले नानछ्वान र तुइलिनमा तेस्रो स्थान हात पारे । यसले उनलाई अझै मिहेनतको खाँचो छ भन्ने कुरा आफैँले महसुस गराएको छ । यससँगै उनी आगामी अक्टोबरमा जापानमा हुने प्रतियोगितामा छनोट हुन पनि सफल बने । यसमा सफलता हात पार्ने मात्र होइन, आफूप्रतिको खेलको क्षेत्रको विश्वाससमेत दिलाउने गरी मिहेनत गरिरहेका छन्। यतिबेला उसु वल्र्डकपलगायतका प्रतियोगिताका लागि खेलाडीहरूले तयारी गरिरहेका छन् । ‘उसु वल्र्डकप लगायतका प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित प्रकाश महर्जन गुरुले प्रशिक्षण गराइराखेको उनले बताए । उनले भने, ‘नेपाल उसु महासङ्घले पनि वैदेशिक प्रशिक्षण गराउने आश्वासन दिएको छ । यसले गर्दा ममा अझै पनि हौसला थपिएको छ’, उनी भन्छन्, ‘वैदेशिक प्रशिक्षण राम्रो भएमा अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन धेरै नै मद्दत पुर्याउँछ ।’ एउटै खेलको दुईवटा महासङ्घ हुँदा समस्या भएको बताउँछन्, दीपक । ‘दुईवटा महासङ्घ हुँदा खेलाडीले दुःख भोग्नु परिरहेको छ । कुन कामका लागि कुन महासङ्घमा जाने भन्ने समस्या छ,’ उनी भन्छन्, ‘अन्तरराष्ट्रिय मान्यता प्राप्त महासङ्घले भने खेलाडीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । तर, पनि दुईवटा सङ्घ हुँदा समस्या त भइहाल्छ । एउटाले एउटा विषयको उठान गरिरहेको बेलामा अर्कोले अर्कै विषयवस्तुको उठान गरिदिन्छ ।’ पछिल्लो समय उसुका दुई महासङ्घ छन् । जनक बर्तौला नेतृत्व महासङ्घलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छभने वीरबहादुर लामा नेतृत्वको महासङ्घलाई नेपाल ओलम्पिक कमिटी र अन्तरराष्ट्रिय उसु महासङ्घको मान्यता छ । ‘कर्णालीको हुँभन्दा गर्व लाग्छ’ दीपकले राष्ट्रिय प्रतियोगिताहरू कर्णाली प्रदेशबाट खेल्दै आएको छ । कर्णालीबाट खेल्दा आफूलाई गर्व लाग्ने दीपक बताउँछन् । ‘आफू जन्मिएको ठाउँ चिनाउन पाउँदा गर्व लाग्दो रहेछ । मलाई विभागीय टोलीबाट धेरैपटक ‘अफर’ आयो । तर मैले विभागका नामबाट भन्दा आफ्नै प्रदेशबाट खेल्ने निर्णय लिएर अहिलेसम्म अघि बढिरहेको छु’, उनले भने, ‘कुनै पनि विभागमा गइनँ तर, विभाग बाहिरका खेलाडीका लागि समस्या नै समस्या छन् । सबैभन्दा ठूलो समस्या त आर्थिककै छ ।’ खेल जीवनबाट आफू सन्तुष्ट भए पनि राज्यबाट पाउनुपर्ने सेवासुविधा नपाउँदा भने निकै नै गाह्रो हुने दीपकको अनुभव पनि छ । सरकारले आश्वासन मात्र दिन्छ खेलाडीका लागि पछिसम्मको भविष्य सोचेर सेवा सुविधा दिनएको भए खेललाई अगाडि बढाउन सकिने उनको भनाइ छ । कर्णाली आफैँमा दुर्गम जिल्ला हो, त्यसमा पनि खेललाई अगाडि लैजानमा निकै चुनौतीपूर्ण रहेको उनी बताउँछन् । उनी राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको विशेष प्रशिक्षणमा सहभागी भएको छ । परिषद्ले बिहानको खाजा खर्च मात्रै दिँदै आएको छ । आफ्नो घर छोडेर बाहिर बस्नुको पीडासँगै खाजा खर्चले काठमाडौँमा बसेर प्रशिक्षण गर्न निकै समस्या हुने गरेको उनको गुनासो छ । यसले उनलाई खेलबाटै अघि बढेर भविष्यका लागि खेलाडी उत्पादन गर्ने र आफू कोचका रुपमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जागेको छ । सन् २०१७ मा पहिलोपल्ट रसियाका लागि नेपालबाट खेल खेल्न जाँदा प्रशिक्षकहरु साथमा नहुँदा आफूहरु एक्लो भएको महसुस भएको त्यो दिनलाई उनले अहिले पनि भुल्न सकेको छैन । रसिया खेल खेलियो तर आफ्नो समर्थनमा कोही नहुँदा ‘नर्भस’ भएर पनि खेल हारिएको हो कि जस्तो लाग्छ उनलाई । अन्य देशका खेलाडीहरुको उत्साहका लागि गरिएका व्यवस्थापनको व्याख्या गर्ने हो भने एउटा बनावटी कहानी जस्तो लाग्न सक्छ धेरैलाई । त्यो खेलसँगै आफ्नो प्रशिक्षकहरुको पनि साथ भएको भए सायद खेल जित्न पनि सकिन्थ्यो जस्तो उहाँलाई अहिले पनि लाग्दछ । बाल्यकालसँगै लाहुरेको सपना सानैदेखि निकै चकचके स्वभावका उहाँ पढ्नमा भन्दा खेल्नमा बढी समय खर्चिन चाहन्थे । दीपकको बाल्यकाल भेरीगङ्गामा नै बित्यो । १–५ कक्षासम्म उनी घर नजिकैको अमिलाचौर प्राथमिक विद्यालयमा अध्ययन गरेको थियो । त्यसपछि उनले छिञ्चु बजारमा रहेको शारदा माध्यमिक विद्यालयबाट १० कक्षा पास गरेपछि अभिभावकले छोराले राम्रोसँग पढोस् र भविष्यमा आफ्नो सहारा बनोस् भन्ने लागेर आफूले सकेको दुःखजिलो गर्दै उनलाई काठमाडौँ पढ्न पठाएको थियो । सानै उमेरबाट खेल्न मन पराउने उनमा खेललाई नै जीवन बनाउने सोच भने थिएन । उनी भन्छन्, ‘पहिले मेरो सपना भनेको लाहुरे हुने देश र जनताका निम्ति केही गर्छु भन्ने सोचेर २०७७ सालमा ब्रिटिस लाहुरे हुन गएको थिएँ ।’ ब्रिटिसमा भर्ती हुन नसकेपछि शरीरलाई राम्रो बनाउन खेलमा प्रवेश गरेका थियो दीपक । उनी अहिले पनि खेल क्षेत्रलाई अघि बढाउने र कर्णाली देशव्यापी रुपमा कसरी चिनाउने भन्ने चिन्तामै छन् । उनले १३ वर्ष खेल क्षेत्रमै बिताइसकेका छन् । खेलकुदबाट देशका सातै प्रदेश तथा चीन, रसिया, थाइल्यान्ड, साउथ कोरिया जापानलगायतका देशमा भएका प्रतियोगिताहरुमा सहभागी भइसकेका छन् । रासस