भूकम्पले ३२ प्रतिशत व्यक्तिमा उदासीनताको समस्या

काठमाडौँ, ९ साउन । गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ३२ प्रतिशत व्यक्तिमा उदासीनताको समस्या देखिएको एक अनुसन्धानले देखाएको छ ।बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल र इन्टरनेसनल मेडिकल कोरले काठमाडौँ, सिन्धुपाल्चोक र गोरखा जिल्लामा गरेको अनुसन्धानले उक्त तथ्य निकालेको हो । तीनवटै जिल्लाका ५१३ जना भूकम्प प्रभावित व्यक्तिसँग गरिएको अनुसन्धानमा उदासीनताको समस्या देखिएको छ । त्यस्तै ३०.८ प्रतिशतमा चिन्ता, २०.४ प्रतिशतमा लागुपदार्थ तथा दुव्र्यसनीको समस्या, १०.९ प्रतिशत व्यक्तिमा आत्महत्याको समस्या र ५।२ प्रतिशतलाई आघातजन्य घटना भएको जनाइएको छ । अनुसन्धान प्रमुख नगेन्द्र लुइँटेलले मानसिक समस्याबाहेक ८२.९ प्रतिशत व्यक्तिमा अझै डर, ५५.८ प्रतिशतमा निद्राको समस्या, ३२ प्रतिशत व्यक्तिलाई बिनाकारण चिन्ता लाग्ने, ३१ प्रतिशतमा खाना खान मन नलाग्ने गरेको बताए । यस्तै उनले ३०.९ प्रतिशतलाई केही काम गर्न जाँगर नलाग्ने, २८.९ प्रतिशत व्यक्ति टोलाइ रहने, २१.३ प्रतिशत व्यक्तिलाई अझै पनि भूकम्प आउँछ कि भन्ने डर हुने गरेको बताए । अनुसन्धानले ६० प्रतिशत व्यक्तिमा बस्ने ठाउँको आवश्यकता रहेको, ४१ प्रतिशत व्यक्तिले तनाव व्यवस्थापन र मानसिक समस्याको सहयोग खोजेको, ४१ प्रतिशतले जीविकोपार्जनको खोजी, ३३ प्रतिशतले खानेपानीको राम्रो प्रबन्ध नभएको, ३० प्रतिशतले शौचालय समस्या, २३ प्रतिशतले सरसफाइ, २३ प्रतिशतले नियमित खानाको समस्या रहेको बताएको लुइँटेलले बताए । भूकम्पले आठ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै चार लाख मानिस विस्थापित भएका थिए । रासस

लण्डनमा पाईलटले मदिरा पिएर विमान उडान भर्न खोजेपछि तनाव

लन्डन, ५ साउन । मदिरा सेवन गरेर उडान गर्न लागेको आरोपमा दुई जना विमान चालकलाई स्कटल्यान्डमा सोमबार पक्राउ गरिएको छ । विमान चालकले स्कटल्यान्डबाट टोरोन्टोका लागि सोमबार एयर ट्रान्साटको ए ३१० विमानमा २५० यात्रु लिएर उडान भर्ने तयारीमा रहेका बेला मदिरा सेवन गरेका बताइएपछि तत्कालै उनीहरुलाई पक्राउ गरिएको थियो । मङ्गलबार स्कटल्यान्डका ३९ वर्ष र ३७ वर्षका दुवै जनालाई पेस्ली सेरिफ कोर्टमा उपस्थित गराइने बताइएको छ । चालकहरुलाई मदिरा सेवन गरेको आरोपमा पक्राउ गरिएपछि उक्त विमानको उडान स्थगित गरी यात्रुहरुलाई होटलमा राखिएको थियो । एयर ट्रान्साटका प्रवक्ताले विमानका दुई कर्मचारी पक्राउ परेको पुष्टि गरेपनि उनीहरुको मुद्दा अदालतमा पुगिसकेकाले अनुसन्धानपूर्व केही नबताउने बताए । हामी चालक दलका सदस्य र यात्रुको सुरक्षाप्रति सजक छौँ र रहने छौँ एयर ट्रान्साटका प्रवक्ताले बताए । स्थगित विमानको मङ्गलबार टोरोन्टोका लागि उडान हुने बताइएको छ । रासस÷एएफपी

सिटिजन्स बैंकद्धारा ब्याडमिन्टन खेलाडिलाई २५ हजार रुपैयाँ सहयोग

काठमाडौं, ३ साउन । सिटिजन्स बैंक इन्टरनेसनलले राष्ट्रिय ब्याडमिन्टन खेलाडि नङसल तामाङलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो नगद उपलब्ध गराउने गरि एक वर्षको सम्झौता गरेको छ । यस्तो कार्यले अन्य राष्ट्रिय खेलाडिहरुलाई पनि खेलको साथसाथै पेशागत वृत्ति विकासको कार्यमा अघि बढ्न हौसला मिल्ने विश्वास बैंकले लिएको छ । राष्ट्रिय खेलाडि नङसलले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा भाग लिएकी छिन् र पदकहरु समेत जित्न सफल भएकी छिन् । हालै उनले २०१६ को १२औं साउथ एशियन खेलको महिला टिम इभेन्टस् र महिला एकल उपाधिमा काश्य पदक र २०१० को एघारौैं साग खेलको महिला टिम इभेन्ट्मा पनि काश्य पदक जित्न सफल भएकी थिईन् ।