आज ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाइँदै, १२ वर्गमा विभाजन
काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाउनुभयो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उनले जानकारी दिए । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।
अमेरिका पठाइ दिन्छु भन्दै डेढ करोड रूपैयाँ ठगेपछि…
काठमाडौं । पछिल्लो समय सुविधा सम्पन्न देशमा पठाइदिन्छु भनेर ठूलो परिमाणमा पैसा ठग्नेहरु बढेका छन् । अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशमा सहज रुपमा पठाइदिन्छु भन्दै सर्वसाधारणबाट पैसा उठाउने र पछि सम्पर्कविहीन हुने गिरोहहरु बढेका छन् । यस्तै, एउटा घटना बाहिरिएको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार यस्ता तीन जनालाई प्रहरीले पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने २४ वर्षीय मनिषराज खड्का, रूकुम पश्चिम मुसिकोट नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय मधु कुमार खड्का र ३४ वर्षीय बिरेन्द्र खड्का रहेका छन् । उनीहरूले अमेरिका पठाइदिछु भन्दै २ जना पीडितहरूबाट १ करोड ४४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषराजलाई काठमाडौं महानगरपालिका-९ बाट तथा मधु कुमार र बिरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-८ बाट पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : दोस्रो दिन तोरणको अग्रता कायमै
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन तोरण विक्रम शाही ४–अन्डर ६८ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन् । समग्रमा ११–अन्डर १३३ सहित उनले निरज तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन् । धरानका प्रो निरजले दिनकै उत्कृष्ट स्कोर कार्ड निकाले । ५–अन्डर ६७ सहित समग्रमा ८–अन्डर १३६ को स्कोरमा दोस्रो स्थानमा रहे । समग्रमा २–अन्डर १४२ को स्कोर बनाएका टंकबहादुर कार्की र दिनेश प्रजापति तेस्रो स्थानमा उक्लिए । दुवैले समान इभन–पार ७२ मा दोस्रो दिनको खेल सकाए । नेपाल नम्बर एक भुवन नगरकोटी, रमेश अधिकारी र जय राम श्रेष्ठ समग्रमा १–अन्डर १४३ सहित संयुक्तरुपमा पाँचौ स्थानमा रहे । भुवनले २–अन्डर ७०, रमेशले १–अन्डर ७१ र जयरामले १–ओभर ७३ को स्कोर दर्ज गरे । पहिलो दिनका लिडर तोरणले फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गरे । उनले ३–अन्डर ३३ मा फ्रन्ट नाइनको खेल सकाए । पहिलो होलमा बोगी प्रहार गरे पनि दोस्रो, तेस्रो,सातौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गरे । ब्याक नाइनमा १–अन्डर ३५ को स्कोर निकाले । १०औँ र १२ औँ होलमा बोगी खेपे पनि तोरणले कम ब्याक गर्दै १३औँ, १७औँ र १८औँ होलमा एक/एक सट बचाए । दिनकै उत्कृष्ट स्कोर निकालेका निरजले बोगी रहित खेले । फ्रन्ट नाइनमा ४–अन्डर ३२ को लोभलाग्दो प्रदर्शन गर्दा ब्याक नाइन १–अन्डर ३५ मा सके । यो क्रममा उनले ५ होलमा बर्डी प्रहार गरे । तेस्रो होलमा एक सट बचाएका उनले यसपछि पाँचौँदेखि सातौँ होलमा लगातार तीन बर्डी प्रहार गरे । यसपछि १२औँ होलको बर्डीले ५–अन्डरको स्कोर तयार पार्दै लिडर तोरणलाई दबाब दिएका छन् । एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुन विश्वकर्मा र डिफेन्डिङ च्याम्पियन सदभाव आचार्य इभन– पार १४४ सहित संयुक्त रूपमा शीर्षस्थानमा छन् । आज राहुलले ३–अन्डर ६९ को स्कोर निकाले । दोस्रो, तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरेका उनले आठौँ होलमा बोगी खेपे । फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । यसपछि ११औँ र १२औँ होलमा एक÷एक सट बचाए । ४–पारको १४औँ होलमा इगलको सफलता प्राप्त गरे । तर १३औँ, १६औँ र १७औँ होलको बोगीले ब्याक नाइन १–अन्डर २५ मा पुरा गरे । सदभावले भने इभन–पार ७२ को स्कोर गरे । ३६ होलको समाप्तीमा १३–ओभर १५७ स्कोर गरेका २२ प्रोफेसनल र ४ एमेच्योर गरी कुल २६ गल्फरले कट बनाएका छन् । प्रोतर्फ भुवन कुमार रोक्का, प्रदीप कुमार लामा, सुनील केसी, दीपक मगर, भुबहादुर गुरूङ, बलभद्र राई, धनबहादुर थापा, रवि खड्का, सुरेश तामाङ, शिव राम पौडेल, भीमसेन चौलागाई र राजेन्द्र श्रेष्ठ प्रधानले कट बनाए । एमेच्योरतर्फ राहुल र सदभावसँगै बाबु पौडेल र कवि थापाले कट बनाए । प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ स्थानसम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।