पत्रकार महासंघ बझाङका अध्यक्षमाथि चक्कु प्रहार, ‘तीन जनाको ज्यान मार्ने उद्देश्य थियो’

  काठमाडौं । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहमाथि कुटपिट भएको छ । सोमबार राति साढे ११ बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा उनलाई कुटपिट तथा चक्कु प्रहार भएको हो । बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार सिंहमाथि बझाङकै बिनोद कठायतको समूहले आक्रमण गरेको हो । घटनामा संलग्न २९ वर्षीय बिनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको ठगुन्नाले बताए । सिंहलाई घटनालगत्तै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको छ । पीडित सिंहले आफ्नो ज्यान मार्ने उद्देश्यले आफूमाथि आक्रमण भएको जानकारी दिए । ‘म खाना खाएर आफ्नो कोठातर्फ गइरहेको थिएँ, उनीहरुले मलाई होटलमा बोलाएर कोठाको ढोका बन्द गरेर कुटपिट गरे, चक्कु प्रहार गरे,’ उनले भने, ‘उनीहरुको मलाई मार्ने उद्देश्य थियो ।’ सिंहले प्रहरीमा उजुरी दिइसहेको जानकारी दिएका छन् ।

वनारसी धामको ऐतिहासिक महत्वका बारेमा पुरातत्वको चासो, सडक नहुँदा बिच बाटोबाट फर्किँदै भक्तजन

काठमाडौं । बैतडीको पाटन नगरपालिका-३ स्थित प्रसिद्ध वनारसी धामको ऐतिहासिक र पौराणिक महत्वका बारेमा पुरातत्व विभागले चासो देखाएको छ । शुक्रबार जात्रा सम्पन्न भएको वनारसी धाममा शनिबार पुरातत्व विभागका अधिकृत राजेश परियारले अवलोकन गरेका हुन् । वनारसी धाममा पुगेर सांस्कृतिक र ऐतिहासिक विशेषताका बारेमा जानकारी लिएको बताइएको छ । वनारसी धाममा अमूर्त संस्कृति रहेको र यसलाई संरक्षण गर्नु आवश्यक रहेको श्री वनारसी धाम विश्वनाथ ज्योर्तिलिङ्गका कोषाध्यक्ष एवम् धार्मीक प्रवक्ता मठाधिश समेत रहेका गणेश प्रसाद पन्तले बताए । पञ्चाङ्गकार पन्तका अनुसार वनारसी धामको ऐतिहासिक र सांस्कृतिक महत्वका बिषयमा पाटन नगरपालिका-३ का वडा अध्यक्ष करुणाकर भट्ट लगायतका सरोकारवाला व्यक्तिहरुसँग छलफल गरिएको पन्तको भनाइ छ । उनका अनुसार सामाजिक सदभाव र विभेद अन्त्यका लागि वनारसी धामको संस्कृति निकै महत्वपूर्ण रहेको छ । साथै उक्त क्षेत्रको संरक्षण सम्वर्द्धन वृहत विकासको लागि गरिएको डीपीआरले १८ करोड ४७ लाख ७५१ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । तर, सरकारले चासो नदिँदा कार्यान्वयमा समस्या देखिएको पञ्चाङ्गकार पन्तले गुनासो गरे । परापूर्वकालदेखि दलित समुदायका मानिस मुख्य पूजारी रहेको यस मन्दिरमा सबै जातजातीका दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । १२औं शताब्दीदेखि यो मन्दिरमा जात्रा लाग्ने गरेको र यसमा सबैको सहभागिता हुने गरेको पन्तको भनाइ छ । यसको महिमाको बारेमा सबैलाई जानकारी गराउन आफूले पहल गरिरहेको उनले बताए । ‘यस क्षेत्रमा आउने धार्मीक पर्यटकका लागि सौचालयको समेत व्यवस्था छैन, हवनकुण्ड, आवाश, आश्रमको पनि अभाव छ, व्यवस्थित सडक नहुँदा अधिकांश भक्तजन बिच बाटोबाट फर्किने गरेका छन्,’ उनले भने, ‘यस क्षेत्रमा सरकारले चासो दिएर संरक्षणसँगै विकासमा टेवा पुर्याउनुपर्छ ।’ तत्कालीन राजा मानूक चन्दका पालामा राजगुरु बिरभद्र बसी पन्त मूल मुखिया भट्ट, बिष्ट, अवस्थी आदी सम्पूर्ण स्थानीयबाट छलफल गराई तत्कालीन राजसभा परिषदबाट तत्कालीन राजा मानूक चन्दले विभेदमुक्त सार्वजनिक पूजास्थल घोषणा गरे । र बयनी लुहारलाई पुजारी नियुक्त गरे ।  

जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न थाले…

काठमाडौं । भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए । नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डसहितको टोलीले बुधबार जब क्षेत्रमा प्रवश गरे, यिनै दृश्यले उनको नजर तान्यो । उनले कालिगडको कलामा आफू पनि सहभागी हुने चाहना व्यक्त गरे । कालिगडले कसरी कलात्मक काष्ठकला निर्माण गर्ने भनेर सिकाए । त्यसपछि अधिराजकुमारले हातमा हथौडा र ज्यावल समातेर काठमा बुट्टा खोप्न थाले । नेपाल भोकेसनल एकेडेमीका प्रमुख एवं सम्पदाविद् रवीन्द्र पुरीको निमन्त्रणमा भक्तपुरको ऐतिहासिक कलाकृतिको अवलोकन गर्न बेलायती राजदूत रोब फेन दम्पतीसहित भक्तपुर पुगेका उनले काष्ठकलामा बुट्टा भर्नुका साथै रुचिपूर्वक यहाँका कलाकृति अवलोकन गरे । एकेडेमीले पछिल्लो युवापुस्तालाई काष्ठकलादेखि मूर्तिकलाबारे तालिम दिएर सीप हस्तान्तरण गर्दै संरक्षण गरिरहेको एकेडेमीका प्रमुख एवं सम्पदाविद् पुरीले जानकारी गराए । अधिराजकुमार एडवार्डले एकेडेमीले यस कार्यको प्रशंसा गरे । अधिराजकुमार एडवार्डसहितको टोलीलाई पुरीले भक्तपुर दरबारस्क्वायरमा स्वागत गर्दै यहाँका ऐतिहासिक कलाकृतिबारे जानकारी गराउनुभएको थियो । त्यसपछि न्यातापोल (पाँचतले मन्दिर), नमूना घर, दत्तात्रय मन्दिरलगायतको अवलोकन गरी भोकेसनल एकेडेमी पुगेका थिए । उनले नागपोखरीस्थित वासुकी घरको समेत अवलोकन गरी भक्तपुरमा तीन घण्टाको भ्रमण गरे । आजै बेलायती अधिराजकुमारी डचेस सोफीले भक्तपुर अस्पतालको प्रसूति ‘वार्ड’को समेत अवलोकन गरे । अधिराजकुमार एडवार्ड र अधिराजकुमारी सोफी छुट्टाछुट्टै कार्यक्रममा भक्तपुर आएका थिए । बुधबार नै सानोठिमीस्थित एसओएस बालग्रामको समेत अधिराजकुमार एडवार्डले अवलोन गरेका थिए । मङ्गलबार नेपाल आएका उनीहरू काठमाडौंस्थित बेलायती दूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम रहेको छ । बेलायतका महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको थियो ।