आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै, स्थानीय तहमा ४१.१ प्रतिशत महिला जनप्रतिनिधि, प्रदेशसभामा कति ?
काठमाडौं । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ । नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ । यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको छ । समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ । हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६.५ र स्थानीय तहमा ४१.१ प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिती छ । समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ । सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।
एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर
काठमाडौं । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले नेपाल सुपर लिग (एनएसल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ । एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायीक फुटबल लिग हो । शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको थियो । यस सहकार्यअन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । सन् २०२१ मा स्थापना भएको एनएसएललाई एनएसईएमले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ । यसले क्षेत्रीय पहिचान प्रवद्र्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ । एनएसएलको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरु हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ । पत्रकारहरूसँग कुरा गर्दै नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइँ पु¥याउने बताए । त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर (सीसीओ) उमेर मोहसिनले एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए ।
मैतीदेवीको गोदा वेणुगोपाल मन्दिरमा विशेष धार्मिक अनुष्ठान, श्री १००८ रामानुज जीयर स्वामीजी आउने
काठमाडौं । काठमाडौं महानगरपालिका-२९ मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपाल भगवान्को नवनिर्मित मन्दिरमा आजदेखि विशेष धार्मिक अनुष्ठान आयोजना गरिने भएको छ । फागुन २६ गतेसम्म आयोजना हुने कार्यक्रमअन्तर्गत गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासंप्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम छ । फागुन २१ गते साँझ सभा प्रार्थना, २२ गते ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण, २३ गते शान्तिपाठ, तीर्थगोष्ठी, पूर्णाहूति, २४ गते अष्टाक्षरी वासुदेव-हवन, २५ गते तत्वन्यास हवनादिलगायत कार्यक्रम आयोजना गरिनेछ । साथै फागुन २६ गते मासबलि, महापूर्णाहूति महासंप्रोक्षणलगायत कार्यक्रम तय गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी दिए । अनुष्ठान तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा सम्पन्न हुनेछ । कार्यक्रमअन्तर्गत साधारण अर्चनादेखि विशेष कर्ता बन्न मिल्ने सेवाक्रम तय गरिएको छ । १ हजार १०० रुपैयाँमा साधारण अर्चनादेखि ७ लाख रुपैयाँमा अर्चनासहित विशेष कर्ता बन्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताए । समारोहमा नेपाल र भारतका विभिन्न आचार्य, साधुसन्त एवं धर्मानुरागीलाई आमन्त्रण गरिएको जानकारी दिइएको छ । विसं २०२२ मा बैकुण्ठवासी श्री १००८ श्री निवासाचार्य स्वामीजीले स्थापना गरेको मन्दिर विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो । भूकम्पले क्षति भएको मन्दिर सङ्घ, प्रदेश, स्थानीय तहका सरकार र भक्तजनको सहयोगमा करिब १६ करोड रुपैयाँको लागतमा मन्दिर पुनःनिर्माण गरिएको थियो । मन्दिर पुनःनिर्माणका लागि यस क्षेत्रबाट निर्वाचित उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पनि सहयोग गरेका थिए । मन्दिरमा विसं २०२२ देखि वैष्णवीय दीक्षाका साथै वैदिक सनातन धर्मको प्रचारप्रसार हुँदै आएको छ । वैकुण्ठवासी रामशोभा रामानुजदासीले निःशुल्क प्रदान गर्नुभएको चार रोपनी चार आना क्षेत्रफलमा निर्माण भएको मन्दिरमा भगवान्, महालक्ष्मी र आलवार आचार्य गरी तीन सन्निधि रहेको छ । मन्दिरमा ८ सय जना बस्न मिल्ने धर्मशाला, गौशाला, यज्ञकुण्ड छ । आगामी शैक्षिक सत्रदेखि गुरूकूल पनि सञ्चालन गर्ने तयारी गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी गराए । दिव्यदेश शैलीमा निर्माण गरिएको मन्दिरमा तोताद्रिमठका ३१औँ पीठाधिपति जगद्गुरू श्री १००८ मधुरकवि वानमामलै रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा यही फागुन २१ देखि २६ गतेसम्म प्राण–प्रतिष्ठा एवं महासंप्रोक्षण कार्यक्रम हुनेछ । फागुन २१ गते साँझ सभाप्रार्थना, विष्वक्सेन आराधना, पुण्याहवाचन, रक्षाबन्धन, मृत्संग्रहण, अङ्कुरार्पणहवन, पूर्णाहूति, दिव्यप्रबन्ध सेवकालम र तीर्थगोष्ठी हुने छ । २२ गते यागशालाामा द्वारतोरण ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण हवन, पूर्णाहूति, वास्तुपूजा, पञ्चगव्य–प्राशन, नवकलशस्नपन, जलाधिवास, मूलमूर्तिहवन, पूर्णाहूति र तीर्थप्रसाद वितरण हुनेछ । फागुन २३ गते यागशालामा द्वारतोरण ध्वजकुम्भादि, महाकुम्भ उपकुम्भादि आराधना, शान्तिपाठ, तीर्थगोष्ठी, मूलमूर्ति हवन, पूर्णाहूति, सात्तुमुरै, तदीयाराधना, जलादुद्धरण, नवकलशस्नपन, धान्याधिवास र होमादि हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताए । यसैगरी फागुन २४ गते नित्य यागशाला आराधना, अष्टाक्षरी वासुवेव हवन, पूर्णाहुति र स्नपन, शय्याधिवास र फलपुष्पाधिवास हुनेछ । फागुन २५ गते नित्य यागशालामा हवन, छायाधिवास, २५ कलशस्नपन, तत्वन्यास हवनादि, यन्त्रस्थापन, विम्बप्रतिष्ठा, अष्टबन्धन, नित्यहोमादि, यन्त्रस्थापना, विम्बप्रतिष्ठा, नित्यहोमादि र तीर्थप्रसाद हुनेछ । अन्तिम दिन फागुन २६ गते यागशालामा आराधना हवन, मासबलि, महापूर्णाहुति, नेत्रोन्मीलन, महासंप्रोक्षण, प्रथम आराधना, सात्तुमुरै, मठाधीश पट्टाभिषेक, आचार्य सम्भावना र तदीयाराधना रहेको जनाइएको छ ।