पशुपति क्षेत्र विकास कोषले रद्द गर्‍यो ८ प्रकारका रसिद

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आफ्ना विभिन्न ८ प्रकारका रसिदहरू रद्द गरेको छ । कोषका अनुसार जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण हराएका रसिदहरूलाई अमान्य घोषित गरिएको हो । कोषले सार्वजनिक सूचना जारी गर्दै रद्द गरिएका रसिदहरूको सूची सार्वजनिक गरेको छ । कोषका अनुसार ती रसिदहरू अबदेखि प्रयोगमा आउने छैनन् । रद्द गरिएका रसिदहरूमा नगदी, चन्दा, पर्यटक, किरियापुत्री भर्पाई, वनकाली उद्यान प्रवेश, घाट सेवा दाउरा स्लिप, घाट सेवा नगदी रसिद र पूजा आम्दानी रसिद रहेका छन् ।  

पाँच हजार ५४७ कैदीबन्दी अझै फरार

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अझ प्रभावकारी बनाउने जनाएको छ । आइतबारको गृहमन्त्री स्तरीय बैठकले कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउन केही महत्त्वपूर्ण निर्णय गरेको समेत विभागले स्पष्ट पारेको छ । हालसम्म नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता भएको विभागले जनाएको छ । फरार कैदीबन्दीको सम्बन्धमा सम्बन्धित कारागार कार्यालयबाट प्राप्त नामावलीसहितको विवरण गृह मन्त्रालयमार्फत् निर्वाचन आयोग, सुरक्षा निकायमा उपलब्ध गराइनेछ । अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभागलगायतका सेवाग्राहीको आवागमन धेरै हुने निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाउने जनाइएको छ । फरार कैदीबन्दीको विवरण विभागको बेवसाइटमा प्रकाशित गरिनेछ । त्यसैगरी जिल्लास्थित सार्वजनिक निकायमा विवरण उपलब्ध गराउने र कुनै सार्वजनिक सेवा लिन आएको खण्डमा पक्राउ गरिनेछ । फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको विभागले जनाएको छ ।

विश्वकप क्रिकेट छनोट: युएईमाथि नेपालको जित, आज कतारसँग खेल्ने

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ-१ मा आइतबार भएको खेलमा नेपालले युएईलाई १ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो । युएईका लागि अलिशान सराफूले अर्धशतकीय पारि खेले पनि जितका लागि पर्याप्त हुन सकेन । उनले ३ चौका र ५ छक्काको मद्दतमा ५८ रन बनाए । यसैगरी ध्रुव पराशरले १८ बलमा ३२ रन बनाए भने जोनाथन फिगीले १९ रन बनाए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिँदा गुल्सन झा, सन्दीप लामिछाने र सोमपाल कामीले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ४७ बलमा ५१ रन बनाए । यस्तै, कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० तथा गुल्सन झाले १४ रन बनाए । युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १/१ विकेट लिए । नेपालले दोस्रो खेल आज कतारसँग खेल्नेछ । उक्त खेल नेपाली समयअनुसार बेलुका ८:४५ बजे हुनेछ ।